मंसिर ४ गते एकै चरणमा हुन लागेको प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको चहलपहलले मुलुकभर उत्सवको माहोल बनेको छ । दसैं सकिएलगत्तै तिहार, नेपाल संवत्, छठजस्ता पर्व नजिकिए पनि चुनावी चटारो र राजनीतिक टीकाटिप्पणीको सरगर्मी हाबी भएको देखिन्छ ।
उमेदवारहरू घरदैलो र भेटघाटमा व्यस्त देखिन्छन् भने मतदाताले नेताको नाडी छामिरहेका छन् । झुटा आश्वासन र तडकभडकमा रमाउनेभन्दा आफ्नै सुखदुःखको साथी बन्न सक्ने सक्षम, इमानदार तथा चरित्रवान् नेतालाई भोट हाल्न मतदाता मंसिर ४ को व्यग्र प्रतीक्षा गरिरहेका छन् ।
१ सय ६५ प्रतिनिधिसभा निर्वाचन क्षेत्र र ३ सय ३० प्रदेशसभामा प्रत्यक्ष चुनिएर आउने जनप्रतिनिधिका लागि चयन भएका दलका उमेदवार र स्वतन्त्र ढंगले मैदानमा उत्रिएका उमेदवार सबैको सफलता मतदाताको मन जित्न सक्ने क्षमतामा निर्भर रहने प्रस्ट देखिन्छ । प्रतिनिधिसभामा २ हजार ४ सय १२ तथा प्रदेशसभामा ३ हजार २ सय २४ गरी ५ हजार ६ सय ३६ जना उमेदवार जनताबाट प्रत्यक्ष निर्वाचित बन्न प्रतिस्पर्धामा छन् ।
स्थानीय चुनावमा काठमाडौं, धरानलगायत एकाध ठाउँमा बालेन्द्र साह ९बालेन०, हर्क साम्पाङको उदयबाट हौसिएकाहरू स्वतन्त्र उमेदवारी दिएर दलहरूलाई चुनौती खडा गर्न कस्सिएका छन् । तथापि आम निर्वाचनमा स्वतन्त्र उमेदवारले चुनाव जित्न सक्ने आधार कहीँकतै देखिँदैन ।
समानुपातिक प्रणालीतर्फ निर्वाचित हुने प्रतिनिधिसभाका १ सय १० र प्रदेशसभाका २ सय २० सदस्यमा कुन दलले कस्ता अनुहार अगाडि बढाए भन्ने तथ्य निर्वाचन आयोगले सार्वजनिक गरेको सूचीले प्रस्ट देखाइसकेको छ । समानुपातिकतर्फ प्रतिनिधिसभाका लागि २ हजार ४ सय २ तथा प्रदेशसभाका लागि ५ हजार ५५ जनाको सूची दलहरूले आयोगमा पेस गरेका छन् । समानुपातिक प्रणालीमा दलहरूमध्ये सबैभन्दा बढी मत कुनले प्राप्त गर्ला भन्ने आकलन पनि सुरु भइसकेको छ । यसको फैसला भने झन्डै १ करोड ८० लाख मतदाताले मंसिर ४ मा गर्नेछन् ।
आम निर्वाचन २०७९ को सन्दर्भलाई केलाएर हेर्ने हो भने मुख्यत : कांग्रेस नेतृत्वको लोकतान्त्रिक वाम गठबन्धन तथा एमाले नेतृत्वको बहुरंगी गठजोडबीच मुख्य प्रतिस्पर्धा हुने देखिन्छ । अझै स्पष्ट भन्ने हो भने दुई ध्रुवको प्रतिस्पर्धा ।
खासगरी विभिन्न कालखण्डमा मुलुकको राजनीतिक परिवर्तनको नेतृत्व गरेका कांग्रेस र माओवादी एवं लोकतान्त्रिक आन्दोलनका चर्चित अनुहारहरू शेरबहादुर देउवा, पुष्पकमल दाहाल ‘प्रचण्ड’, माधव नेपाल, महन्थ ठाकुर तथा चित्रबहादुर केसीसम्मका नेताहरूको एउटा ध्रुव खडा छ । अर्कोतर्फ झन्डै दुई तिहाइको आफ्नै सरकार जोगाउन नसक्ने, पटकपटक संसद् विघटनको प्रयास गरेर संघीय लोकतान्त्रिक गणतन्त्रलाई नै भड्खालामा पुर्याउने केपी ओलीको नेतृत्वमा बनेको गठजोड ।
एमालेको गठजोडमा हिजोसम्म ओलीलाई प्रतिगमनको मतियार भनेर संसददेखि सडकसम्म चर्को विरोध गरेका उपेन्द्र यादवदेखि परिवर्तन पटक्कै मन नपराउने पूर्वपञ्च कमल थापा र राजेन्द्र लिङ्देनसम्म समेटिएका छन् ।
दुई ध्रुवबीचको यो प्रतिस्पर्धामा चुनावी प्रचारका लागि बनेका सामग्रीहरू मात्र हेर्ने हो भने पनि नेताहरूको फोटो अंकित सामाजिक सञ्जालका पोस्टरले धेरै कुरा निक्र्योल गरेको पाइन्छ । सूर्य चिह्नमा चुनाव लड्दै गरेका कमल थापा मात्रै होइनन्, राजेन्द्र लिङ्देनसँगै जोडिएका उपेन्द्र यादव तथा केपी ओलीका तस्बिरमा नेपालको भावी राजनीतिको कस्तो झल्को देखिन्छरु यता देउवा, प्रचण्ड, माधव, महन्थ र चित्रबहादुरको सहयात्राको तस्बिर कस्तो लाग्छरु मतदाताको मनोविज्ञान र चुनावी परिणामको लेखाजोखा पनि यसैभित्र निर्भर रहने देखिन्छ ।
यति मात्र होइन, एकताबद्ध लोकतान्त्रिक वाम गठबन्धनसँग प्रतिस्पर्धामा उत्रिन खोजिरहेको छिन्नभिन्न ओली गठजोड साँच्चै निरीह र कमजोर देखिन्छन् । टिकटसम्म नपाएर पार्टी परित्याग गरेका घनश्याम भुसालको आह्वानमा सयौं एमाले नेता तथा कार्यकर्ताले एमाले छाडिसकेका छन् ।
त्यस्तै ओलीमाथि दर्जनौं आरोप लगाएर एमालेभित्रै विद्रोह गरिरहेका भीम रावलका साथमा एमालेका हजारौं निष्ठावान् नेता–कार्यकर्ता गोलबद्ध भएको पाइन्छ । आफैंसँग महाधिवेशनमा प्रतिस्पर्धामा उत्रिएका रावलमाथि ओलीले गरेको अन्याय तथा अत्याचारविरुद्ध एमाले कार्यकर्ताहरूको अभिव्यक्ति साँच्चै कारुणिक देखिन्छ । यी सबै परिवेशमा एमालेको अवस्था पराजित मानसिकता बोकेर युद्ध मैदानमा उत्रिएको सैनिकको जस्तै छ ।
यता सम्पूर्ण रुपमा एकताबद्ध कांग्रेस झन् बलियो बन्दैछ भने सहयात्रीहरू पनि बलवान् नै देखिन्छन् । गठबन्धनको नेतृत्व गरिरहेका प्रधानमन्त्री शेरबहादुर देउवाले खुला हृदयले सिट बाँडफाँटमा देखाएको लचकता एवं पार्टीको आन्तरिक प्रतिस्पर्धामा उत्रेका नेता डा । शेखर कोइराला समूहलाई समेटेर लैजान गरेको अथक प्रयास अतुलनीय छ ।
आफू र पार्टी सभापति शेरबहादुर देउवा मिलिसकेकाले झगडा नगर्न कार्यकर्ताहरूलाई डा । शेखर कोइरालाले दिएको निर्देशन आफैंमा शक्तिशाली क्षेप्यास्त्र हो । कोइरालाले पार्टीको महाधिवेशन र स्थानीय निर्वाचनको सबै तुष त्यागेर एकताबद्ध हुन कांग्रेस कार्यकर्तालाई गरेको आह्वानले देशैभर कांग्रेसजनमा एकताको सन्देश प्रवाह गरेको त छँदैछ चुनावी माहोलमा होमिएका नेताकार्यकर्ता थप उत्साहित देखिएका छन् ।
लोकतन्त्रमा राजनीतिक दलको विकल्प दलहरू नै हुन् । त्यसैले पार्टीभित्रको आन्तरिक लोकतन्त्रलाई मजबुत बनाउँदै लैजाने र जनताले रुचाएका नेताहरू नै पार्टीको शीर्ष स्थानमा पुग्ने अभ्यासलाई थप व्यवस्थित र परिमार्जित गर्दै लैजान पार्टी महाधिवेशन तथा आम चुनाव सहायक सिद्ध हुनैपर्छ । यसो हुन सकेमात्रै संघीय लोकतान्त्रिक गणतन्त्र मजबुत बन्छ ।
लोकतन्त्र निर्वाचनको अभ्यास र त्यसको परिणामले मात्र होइन, दलहरूभित्र व्यवस्थापनको तौरतरिका तथा अवसरहरूको न्यायोचित बाँडफाँटको समयोगबाट मजबुत बन्दै जाने गर्छ । लोकतन्त्रको यो कसीमा कुन दलले आफूलाई कसरी अघि बढाएका छन् भन्ने मूल्यांकन आम मदतादाले मंसिर ४ गते गर्ने नै छन् । आम निर्वाचनमा लोकतन्त्रमाथि घात र अपराध गर्ने नेताहरू तिरस्कृत तथा जनताका साथी एवं समृद्धिका सारथीहरू पुरस्कृत हुने अपेक्षा गर्न सकिन्छ