गएका ३० वर्षदेखि राजनीति क्षेत्रमा निरन्तर रहेका रामनारायण कुर्मी वीरगंजवासीका लागि परिचित नाम हो । नेपाली कांग्रेस पर्साका जिल्ला उप–सभापति समेत रहेका उनी योभन्दा अगाडी पनि विभिन्न संघ संस्थामा आवद्ध भई सामाजिक कार्यमा निरन्तर लाग्दै आएका नेता हुन् । साविकको वीरगन्ज–१७ हालको वीरगंज–१४ मा रहेको नृसिंह मा.वि.मा २० वर्षसम्म अध्यक्ष भई शिक्षा क्षेत्रमा जिल्ला भरिमा नै नमुना सामुदायिक विद्यालय बनाउन सफल उनी यो पटक मंसिर ४ गते हुने निर्वाचनमा पर्सा क्षेत्र नं. १ (ख) बाट प्रदेश सभा सदस्यका उम्मेदवार नेता रामनरायण कुुर्मी
बनेका छन् । मधेश प्रदेशका मुख्य मन्त्रीसँगको प्रतिस्पर्धामा सत्ता गठबन्धनको तर्फबाट मैदानमा उत्रिएका उनै नेता रामनारायण कुर्मीसँग आगामी निर्वाचनको सन्दर्भ केन्द्रित रही गरिएको बिशेष कुराकानी :
१) व्यक्तिगत स्वार्थका लागि पछिल्लो समयमा नेताहरु दलबदलु छन् । तपाई चाही लामो समय एउटै पार्टीमा रहनुको कारण के हो ?
नेपाली कांग्रेस प्रजातन्त्र, लोकतन्त्र प्रति आस्थावान पार्टी हो । जनताको मौलिक हक प्रति विचारवान पार्टी हो । हिमाल, पहाड, तराई र मधेश सबैठाउँलाई एकतामा जोड्ने पार्टी हो । त्यसैले नेपाली कांगे्रस पार्टीको विचार र त्यसका महानायक विश्वेरप्रसाद कोइरालाको पनि विचारबाट प्रभावित भएर म निरन्तर एउटै पार्टीमा रही पार्टी प्रतिको ईमान्दारिता, बफादारीतासँगै जनताको हितमा काम गर्न अहिलेसम्म एउटै पार्टीमा सक्रिय छु । मेरो जनताको हितभन्दा माथि अरु स्वार्थ छैन ।
२) मधेश प्रदेशका बहालवाला मुख्यमन्त्रीसँग भिड्दै हुनुहुन्छ मुख्य एजेण्डा चाही तपाईका के छन् ?
पर्सा जिल्ला क्षेत्र नं. १ मा वीरगंज महानगरपालिकाका ९ वटा वडा पर्छन् । ४ वटा शहरी वडा र ५ वटा ग्रामिण वडा । पर्सा जिल्लाका सामुदायिक विद्यालयहरुमा पढाइको अवस्था नाजुुक छ । निर्वाचन क्षेत्रका ९ वटा सामुदायिक विद्यालयहरुमा शिक्षाको गुणस्तर सुुधार गर्न पर्ने छ । यो मेरो प्रमुख एजेण्डा हो । सामुदायिक विद्यालयहरुमा कम्प्युटर इन्जिनियर, मेकानिकल, सिभिल इन्जिनियर, इलेक्ट्रिोनिक जस्ता प्राविधिक पढाइ संचालन हुन सकेको छैन । बजारमा बिक्न सक्ने दक्ष जनशक्ति उत्पादन गर्न र सहज रोजगारीको सृजना गराउ मेरो अग्रसरता हुन्छ । निर्वाचन क्षेत्रमा शहरी वडा भए पनि नारायणी अस्पताल बाहेक कुनै पनि वडामा राम्रो स्वास्थ्य चौकीको सुुविधा छैन । झनै गर्भवती महिलाहरुको जाँच र सुरक्षित सुत्केरी गराउने श्रोत, साधन पनि उपलब्ध छैन । सुविधा सम्पन्न स्वास्थ्य चौकी निर्माण गर्ने, महिला तथा जेष्ठ नागरिकलाई निःशुल्क स्वास्थ्य जाँच गराउने, बेरोजगारी समस्यालाई समाधान गर्न विभिन्न सीपमूूलक तालिम संचालन गराई स्वरोजगारको वातावरण सृजना गर्न पर्ने छ । यस्ता विविध कार्य सम्पन्न गराउनका लागि मेरो उमेद्वारी हो ।
३) नेपाली कांग्रेसले तपाईलाई नै टिकट दिई अगाडी बढाउनुको अरु कारण के छन् ?
पार्टीको ईमान्दार सिपाहीका नाताले मलाई टिकट दिएको हो । जुन माथि भनिएका कार्यहरु पूरा गर्नु छ । २०७४ मा पर्साको क्षेत्र नंं.१ (ख) बाट निर्वाचित भई मधेश प्रदेशको मुख्यमन्त्री समेत रहेका लालबाबु राउत गद्दी मुख्यमन्त्री जस्तो गरिमामय पदमा पुगेर पनि यो क्षेत्रका समस्या न्यूनिकरण गर्न सक्नु भएन । फेरि वीरगंजलाई राजधानी बनाउछुु भनेर आमजनता सामु बोलेको कुरा समेत पूरा गर्न नसकी वीरगंजलाई झुटो आश्वासनमा कैद गर्नु भयो । अन्त्यमा जनकपुरलाई राजधानी बनाएर पर्सावासीमा अन्याय गर्नु भयो । त्यति मात्र नभई बेटी बचाऊ, बेटी पढाऊ अभियानको आकर्षक नारा दिएर त्यसमा करोडौं भ्रष्टाचार गरी पर्साको दूनाम गराउनु भयो । आफैले सम्हालेका मन्त्रालयका कर्मचारीहरुको टाउकोमा गीर खेलेर भ्रष्टाचारमा मुछिएको कुरा अख्तियारको मुद्दाको फेहरिस्तले पुष्टि गरिसकेको छ । सुनौलो मौका पाउँदा पनि नराम्रो काम गरी जग हँसाउने व्यक्तिको जित पुनः पर्सावासीलाई मान्य छैन भनी पार्टीले मलाई उनीसँग प्रतिस्पर्धा गर्न पर्साको क्षेत्र नं. १ (ख) बाट अगाडी सारेको होे ।
४) तपाईलाई नै भोट किन दिने त ?
विगतमा जस्तो यो क्षेत्रबाट गएका प्रदेश सभा सदस्यले यो क्षेत्रको मात्र नभई जिल्लाको समेत बद्नाम नगरोस् भनि सत्ता गठबन्धनले समेत अगाडी सारेको मलाई भोट दिने । विगतमा गुमेको यो क्षेत्रको साख जोगाउन तीन दशक लामो राजनीतिमा लागेको अनुभवको आधारमा यो क्षेत्रको समुन्नति र विकासका लागि मलाई यहाँका मतदाताले भोट दिने । अर्को मुुख्यमन्त्रीले सौदर्यीकरणमा नाममा अधुरा छोडेका नगवा, मुर्ली, लक्ष्मणवा लगायतका पोखरीको निर्माण सम्पन्न गर्न र यहाँका आम जनताका दैनिकका समस्या न्यूनिकरण गर्र्दै यहाँका अन्य विकास पूर्वाधारहरु सम्पन्न गर्न हाम्रो गठबन्धनका उम्मेदवारलाई जिताउन भोट दिने ।
५) तपाईको जित्ने आधार चाही खासमा के हो ?
वीरगंज वडा नं.१४ मा अवस्थित नृसिंह मा. वि.पहिला डम्पिङ साइड जस्तो अवस्थामा थियो । विद्यालय व्यवस्थापन समितिको अध्यक्ष हुँदा मेरै कार्यकालमा बनेको यो विद्यालय नमूना विद्यालय कसरी बन्यो ? भन्ने मतदाताले नियालेर अहिले त्यहाँ अध्ययनरत ३ हजार विद्यार्थीहरुको मात्र नभई अरु क्षेत्रमा पनि यस्ता नमूना र राम्रा काम गर्ने व्यक्ति छान्ने अवसरकार प्रमुख आधार हो ।
६) अन्त्यमा पर्सा क्षेत्र नं.१ (ख) का आम जनतालाई के भन्न चाहनुहुुन्छ ?
आगामी मंसिर ४ गते हुने निर्वाचनमा पर्सा जिल्ला क्षेत्र नं.१ (ख) बाट प्रदेश सभा सदस्यका उमेद्वारलाई भारी मत दिई विजयी गराउनुस् । ताकी २०७२ को संविधानमा उल्लेख गरिएको गणतन्त्र, संघीयता, समावेसी, समानुुपातिक, धर्म निरपेक्षता यावत कुराहरुको रक्षा गर्दै यो क्षेत्रको प्रतिष्ठा माथि उठाउन सक्ने व्यक्तिलाई आफ्नो अमूल्य मत दिई विजयी बनाउन अनुरोध गर्दछुु ।