विश्वको सबैभन्दा पुरानो प्रजातान्त्रिक मुलुक बेलायत पछिल्लो समय एकपछि अर्को काण्डहरूको कारण चर्चामा छ ।
भर्खरै बेलायतले दई महिनाको अन्तरालमा तीनजना प्रधानमन्त्री पाएको छ । बेलायतमा किन एकाएक राजनीतिक संकट आएको होला यसबारेमा बुझ्न त्यहाँको पछिल्लो आम निर्वाचनसम्म पुग्नुपर्ने हुन्छ ।
सन् २०१९ मा बेलायतमा आम निर्वाचन भएको थियो । जसमा बोरिस जोनसनको नेतृत्वमा कन्जर्भेटिभ पार्टी र जेरेमी कोर्बिनको नेतृत्वमा लेबर पार्टी चुनावमा होमिएका थिए ।
जोनसनको नेतृत्वमा ६५० हाउस अफ कमन्समा ३६५ सिट जित्दै कन्जर्भेटिभ पार्टीले जनताको स्पष्ट म्यान्डेट पायो । लेबर पार्टी २०२ सिटमै खुम्चिन बाध्य भयो ।
त्यसपछि जोनसन प्रधानमन्त्री बने । तर उनले तीन वर्षपछि नै पदबाट राजीनामा दिनुपर्यो । त्यसका धेरै कारणहरू थिए । जनता र पार्टीको सामुुन्ने विश्वासको मत गुमाइसकेपछि उनी राजीनामा दिन बाध्य भएका थिए ।
जोनसनको सत्ताको उल्टो गन्ती भने नोभेम्बर २०२१ बाट सुरु भएको थियो । कन्जर्भेटिभ पार्टीका सांसद एवं पूर्वमन्त्री ओवेन पिटर्सनले आफ्नो पदको दुरुपयोग गर्दै दुईवटा कम्पनीबाट फाइदा लिएको रिपोर्ट सार्वजनिक भएपछि उनीमाथि निलम्बनको प्रक्रिया अघि बढ्यो । तर, तत्कालीन प्रधानमन्त्री जोनसनले उक्त निलम्बन रोक्न पार्टीमा ह्विप लगाए ।
राजनीतिक रुपमा भ्रष्ट छवि भएका सांसदलाई जोगाउन जोनसन किन खाजिरहेका थिए
यस्तै, जोनसनमाथि दोस्रो आक्षेप ३० नोभेम्बर २०२१ मा लाग्यो, जब पार्टीगेट काण्डको रिपोर्ट सार्वजनिक भयो । उक्त रिपोर्टमा काभिड १९ को संक्रमणबीच पूरै लन्डनमा लकडाउन हुँदा प्रधानमन्त्रीको कार्यालयमा काम गर्ने स्टाफले पार्टीको आयोजना गरेको तथ्य सार्वजनिक भयो । लन्डनबासीहरूलाई घरबाट बाहिर निस्किनसमेत नदिइरहेको बेला प्रधानमन्त्रीको कार्यालयमा काम गर्नेहरू भने पार्टी गरिरहेको समाचार सार्वजनिक हुँदा सामाजिक सञ्जालमा तहल्का मच्चिएको थियो ।
७ डिसेम्बर २०२१ मा अर्को ठूलो खुलासा भयो । एउटा भिडियो सार्वजनिक भयो जसमा प्रधानमन्त्री कार्यालयको प्रेस सचिव अलेग्रा स्यार्टनले ती पार्टीहरूको मजाक उडाइरहको देखिन्थ्यो । उक्त लिक भिडियोको कारण उनले पदबाट राजीनामा दिनुपरेको थियो । जोनसनको संकट यतिमै टुंगिदैन । त्यसपछि वालपेपरगेट कन्ट्रोभर्सीले झनै सरकार समस्यामा जकडियो ।
बेलायतको निर्वाचन आयोगले कन्जर्भेटिभ पार्टीलाई १७ हजार ८ सय पाउन्डको जरिबाना तिर्न लगायो । प्रधानमन्त्री जोनसनले प्रधानमन्त्री निवासको रेनोभेसन गराएका थिए । त्यसको लागि उनले चन्दा पाएका थिए । तर, चन्दामा पाएको रकम उनले सार्वजनिक भने गरेका थिएनन् प्रधानमन्त्री निवासको रिनोभेसनको लागि जम्मा बिल दुई लाख पाउन्ड थियो । तर, सरकारले ३० हजार पाउन्ड मात्र खर्च गर्न स्वीकृति दिएको थियो ।
१० जनवरी २०२२ मा पार्टीगेट काण्डमा अर्को एक खुलासा भयो । जसमा जोनसनको निजी सचिव मार्टिन रेनल्डको इमेल लिक भयो । उक्त इमेलबाट के थाहा हुन्छ भने प्रधानमन्त्रीको घरमा पार्टीको आयोजना गरी एकसय मानिसलाई आमन्त्रण गरिएको थियो । त्यसबेला पूरै देश लकडाउनमा थियो ।
उक्त पार्टीमा प्रधानमन्त्री जोनसन पनि सहभागी भएको समाचार सार्वजनिक हुन्छ । मिडिया र विपक्षी दलको दबाबपछि अन्ततः जोनसनले आफूमाथि लागेका आरोपको स्वीकार गर्छन् । जनताको सामु आएर उनले माफी माग्छन् तर त्यो कार्यक्रम पार्टी नभएको र वर्क इभेन्ट भएको दाबी गर्छन् । विपक्षी दलका सांसदहरूले उनले झुट बोलेको भन्दै संसदमै कडा आलोचना गर्छन् र राजीनामा माग्छन् ।
कन्जर्भेटिभ पार्टीकै कयौँँ सांसदले जोनसनको कुरा पत्याउँदैनन् र विपक्षी पार्टीमा प्रवेश गर्न थाल्छन् । जोनसनको पार्टीमा सहभागी भए नभएबारे जानकारी लिन अप्रिल २०२२ मा ब्रिटेनको मेट्रो पोलिटन प्रहरीले छानबिन गरेको थियो ।
प्रहरीले अनुसन्धानमा दोषी देखिएको भन्दै जोनसन र ऋषि सुनकमाथि जरिबाना तिर्न लगाएको थियो ।
प्रहरीकाअनुसार लकडाउनमा प्रधानमन्त्री जोनसनको जन्म दिनको पार्टीमा प्रधानमन्त्री र सुनक सामेल भएका थिए । सुनक तत्कालीन समयमा जोनसनको सरकारमा अर्थमन्त्री थिए ।
२५ मे २०२२ मा जोनसनलाई अर्को ठूलो झट्का लागेको थियो । पार्टीगेट काण्डबारे निजामती कर्मचारी सु ग्रेले अर्को ठूलो बृहत् रिपोर्ट सार्वजनिक गरेपछि थप झट्का लागेको थियो । उक्त रिपोर्टका अनुसार प्रधानमन्त्रीको निवास र कार्यालयमा एउटा मात्र होइन, धेरैवटा पार्टी आयोजना गरिएको थियो । पार्टी यस्तो थियो कि यी सांसदहरूले धेरै रक्पी पिएर, हल्ला गरेर सेक्युरिटी र क्लिनिङ स्टाफसँग झगडासमेत गरेका थिए ।
एकपछि अर्को काण्डहरू सार्वजनिक भइरहँदा जुन २०२२ सम्म आइपुग्दा जोनसनले जनताको सामु मात्र होइन, उनकै पार्टीका नेताहरूको समेत समर्थन गुमाइसकेका थिए । संसदमा विश्वासको मत माग्दा उनकै पार्टीका ४१ प्रतिशत सांसद्ले उनलाई प्रधानमन्त्रीबाट हटाउन मत दिएका थिए । तैपनि २११ सांसदको साथ पाएर उनी प्रधानमन्त्री त रहन्छन्, तर संकट यत्तिमै टरेन ।
जोनसनले नियुक्त गरेका नयाँ डेपुटी चिफ क्रिस पिन्चरले दुुई जनालाई यौन दुर्व्यवहार गरेको सार्वजनिक भयो । ३० जुनमा पिन्चरले लाज मानेर राजीनामा दिन बाध्य भएका थिए । त्यसबारेमा जोनसनलाई सोध्दा उनले आरोपबारे थाहा नभएको दाबी त्यसबेला गरेका थिए ।
तर, मिडियाले त्यस विषयमा थप अनुुसन्धान गर्दा पत्ता लाग्यो कि जोनसनलाई उक्त आरोपबारे सन् २०१९ मा नै थाहा थियो । यो खबर सार्वजनिक भएसँगै जोनसनको सरकारमा बसेका मन्त्रीहरूले दिक्क भएर राजीनामा दिएका थिए ।
सुनकले अर्थमन्त्रीबाट र साजिद जावेदले स्वास्थ्य मन्त्रीबाट राजीनामा दिएका थिए ।
त्यसबेला २४ घण्टाभित्र ३६ सांसदले राजीनामा दिएका थिए भने ६२ सांसदले जोनसनको सरकार छाडेका थिए । सरकार चलाउन कोही नबचेपछि अन्ततः ७ जुलाई २०२२ मा उनले राजीनामा दिए ।
ट्रसको हालत झनै खराब, ४५ दिनमै राजीनामा
यसबीच जोनसनपछि को प्रधानमन्त्री हुने छलफल पार्टीभित्र सुरु भयो ।
सेप्टेम्बर २०२२ ब्रिटेनको लागि सबैभन्दा मुस्किलको क्षण । भर्खरै महारानी एलिजाबेथ द्वितीयको देहान्त भएको थियो ।
रुस युक्रेन युद्धले मुद्रास्फिति बढेको थियो । बेलायतले सामना गरेको धेरैजसो आर्थिक संकट सन् २०१६ मा युरोपियन युनियनबाट बेलायत छुट्टिने ९ब्रिक्जिट०को कारण नै थियो । ब्रेक्जिटको पक्षमा फैसला गर्न प्रोपोगान्डा फैलाइएको थियो । झुटो बाचाहरू गरिएको थियो ।
तर, ब्रेक्जिटपछि आर्थिक संकटले बेलायतलाई झनै गाँजेको छ । त्यसमाथि पछिल्लो राजनीतिक घटनाक्रमले पार्टीको इज्जत धुमिल भएको थियो भने स्कटल्याण्डले बेलायतबाट टुक्रिने भन्दै जनमत संग्रह गर्ने धम्की दिइरहेको थियो ।
त्यसैबेला प्रक्रियाअनुसार एकसय सांसदको समर्थन पाएका सांसदहरूबीच प्रतिस्पर्धा हुने र प्रधानमन्त्री चुनिने भयो । जुलाई २०२२ मा जोनसनको राजीनामापछि दुई नेता लिज ट्रस र ऋषि सुनक प्रधानमन्त्रीको दाबेदारको रूपमा देखा परे ।
अनलाइन भोटिङबाट ५७ प्रतिशत मत प्राप्त गर्दै ट्रस बेलायतको प्रधानमन्त्री बनिन् ।
उनले महारानी एलिजाबेथ द्वितीयबाटै प्रधानमन्त्रीको रुपमा सपथ ग्रहण गर्न पाइन् । २३ सेप्टेम्बरमा उनले नयाँ आर्थिक योजना कर कटौतीलाई लिएर सार्वजनिक गरिन् । बेलायतको अर्थतन्त्रलाई पुनर्जिवित गर्ने दाबी गरिन् । यस्तो कर कटौती ५० वर्षमा देखिएको थिएन ।
उनको आइडिया ट्रिकल डाउन इकोनोमिक्समा आधारित थियो ।
धनीहरूको लागि कर कटौती कम गर्ने र पछि पैसा बिस्तारै तल्लो वर्गसम्म पुगोस् भन्ने योजना थियो । तर, त्यो आइडिया फेल खायो । उक्त आइडिया घोषणासँगै ब्रिटिस पाउन्डको मूल्य स्वाट्टै तल झर्दै अहिलेसम्मकै सबैभन्दा तल्लो विन्दुमा पुग्यो । ब्याजको दर बढ्यो ।
यस्तो अवस्था देखेर अन्तर्राष्ट्रिय मुद्रा कोषले बेलायत सरकारलाई आफ्नो आर्थिक नीतिलाई पुनरावलोकन गर्न अनुरोध गर्यो । ट्रसले चान्सलर अफ द एक्सचेकर, क्वासी क्वार्टेङलाई साथमा लिएर उक्त आर्थिक अवधारणा घोषणा गरेकी थिइन् ।
आइडिया फेल खाएपछि १४ अक्टोबरमा उनले सारा दोष क्वार्टेङमाथि नै हालिदिइन् र उनलाई पदबाट हटाइन् ।
त्यसपछि जेरेमी हन्ट नयाँ चान्सलर नियुक्त भए । उनी पूर्वपरराष्ट्र सचिव थिए । उनी चान्सलर हुने बित्तिकै ट्रसले लागु गरेका सम्पूर्ण आर्थिक निर्णयहरू बदर गरिदिए ।
त्यसपछि ट्रस र हन्टबीचको द्वन्द्व सतहमा नै देखिन थाल्यो । कतै देश हन्टले त चलाएको होइन भन्ने खालको वातावरण सिर्जना भयो । यसबीच, ट्रसको छवि जनता र पार्टीको सामुन्ने तल खस्दै गयो ।
तत्कालीन समयमा रोयटर्सको ओपिनियन पोलअनुुसार जम्मा १० प्रतिशत जनताले मात्र ट्रसलाई प्रधानमन्त्रीको रूपमा विश्वास गर्ने र ८० प्रतिशतले उनलाई प्रधानमन्त्रीको लागि योग्य नभएको धारणा दिएका थिए ।
उक्त पोलले पूर्वप्रधानमन्त्री जोनसनको पालामा भन्दा पनि ट्रसको स्तर झन् तल खस्केको देखाएको थियो ।
उनी बेलायतको इतिहासमा सबैभन्दा कम रुचाइएको प्रधानमन्त्री बनिन् । उनको आफ्नै पार्टीका ५५ प्रतिशत सांसदले उनलाई हटाउन अपिल गरे ।
१९ अक्टोबर २०२२ मा संसदमा होहल्लाका बीच उनीविरुद्ध सांसहरूले राजीनामा मागेका थिए । भोलिपल्ट २० अक्टोबरमा उनले अन्ततः राजीनामा दिइन् ।
ट्रसको राजीनामाको पछाडिका कारणहरूमध्ये यो कारण रोचक छ । १९ अक्टोबर २०२२ मा लेबर पार्टीका सांसदले संसदमा नयाँ कानुन ल्याउन चाहन्थे । बेलायतमा फ्र्याकिङ बन्द गर्न ।
फ्र्याकिङ जमिनमुनिबाट तेल निकाल्ने प्रक्रिया हो, जसको कारण जमिनमुनिको पानी दूषित हुन्छ र समग्रमा वातावरणमा नै ठूलो असर पार्छ । यस प्रक्रियाको संसारभर आलोचना हुने गरेको छ ।
वातावरणसम्बन्धी उक्त कानुनलाई पास गरेर फ्र्याकिङलाई निषेध गर्ने लेबर पार्टीको चाहना थियो । तर, कन्जर्भेटिभ पार्टी उक्त कानुनलाई वातावरणीय कानुनको रूपमा मात्र हेर्दैनथे । सो कानुनको लागि भन्दै धेरै मत लेबर पार्टीको पक्षमा गए, पार्टीको छवि नराम्रो हुने, पार्टीले विश्वासको मत गुमाउने भन्दै कन्जर्भेटिभ ९टोरी०का सांसदहरूको लागि एउटा ह्विप जारी भयो ।
टोरीका सबै सांसदहरूलाई उक्त कानुनको विपक्षमा मत दिन आह्वान गरियो । जसमा कडा ह्विप सय प्रतिशत तीन लाइन ह्विप जारी गरियो ।
छलफलको अन्तिममा संसदमा उक्त कानुनको अनुमोदनको लागि आउने मत प्रधानमन्त्रीको विश्वासको मतको रूपमा नहेर्ने बताएपछि टोरीका सांसदले मतबारे धारणा सार्वजनिक गरे । पार्टी बचोस् भनेर वातावरणको मुद्दालाई बेवास्ता गरेर मत दिन लागेको भन्दै यदि यसलाई विश्वासको मतको रूपमा हेरिन्न भने आफ्नो इच्छाले मत दिने धारणा उनीहरूले स्पष्ट पारे ।
सांसदहरूले पार्टीले जबर्जस्ती र दबाबमा ट्रसको इच्छामुताविक मत दिन लगाएको भन्दै संसदमा रोष प्रकट गरेका थिए । सो संसद बैठकपछि ट्रसको गृहमन्त्रीले राजीनामा दिइन् । त्यसपछि ‘म लडाकु हुँ, भाग्ने खालको होइन’ भनेकी ट्रसले ४४ दिनपछि प्रधानमन्त्रीबाट राजीनामा दिइन् ।
बेलायतको वर्तमान अवस्था हेर्दा त्यहाँ कन्जर्भेटिभ पार्टीले निर्वाचनमा गए जित्ने अवसर शून्य बराबर छ । घोटला भइरहने, कान्ड गरिरहने, हरेक दोस्रो मान्छे प्रधानमन्त्री बनाउनुपर्ने पार्टीलाई जनताले किन मत दिनु रु तर, टोरीको कथा यतिमै सकिँदैन ।
त्यसपछि रेसमा पुन देखा पर्छन् सुनक । तेस्रो प्रधानमन्त्रीको लागि लिडरहरू खडा हुन्छन् । जसमा सुनकले सबैभन्दा छिटो सय सांसद आफ्नो पक्षमा पार्छन् ।
यसपटक पनि जोनसन प्रधानमन्त्रीको लागि खडा हुने समाचार सार्वजनिक भएका थिए । तर, उनले सय सांसद जम्मा पार्न सकेनन् । २३ अक्टोबर २०२२ मा उनले नैतिकताको बाहना बनाउँदै उठ्न नचाहेको र कुनै इच्छा नभएको अभिव्यक्ति दिएका थिए ।
अर्की नेतृ पेन्नी मोर्डन्ट, उनले पनि सय सांसदको समर्थन जुटाउन सकिनन् । सुनक एक्लो सांसद जसले सय सांसदको समर्थन जुटाउन सकेकाले उनी प्रधानमन्त्री घोषित भए ।
सन् २०१५ मा संसद पसेका सुनक ७ वर्षमा नै प्रधानमन्त्री बनेका हुन् । ४२ वर्षे उनी बेलायतका सबैभन्दा धनी सांसद पनि हुन् । भारतीय मूलका सुनकको परिवार पूर्वी अफ्रिकाबाट बेलायतमा बसाइँ सरेको थियो ।
सुनकले सत्ता सम्हाल्नेबित्तिकै ट्रसले आफ्नो आर्थिक नीतिमा गल्ती गरेको र त्यसलाई समाधान गर्ने प्रयासमा काम गर्ने वाचा गरेका छन् । उनले भने, “मलाई मेरो पार्टीको नेता र उनीहरूलाई सच्याउनकै लागि तपाईको प्रधानमन्त्री चुनिएको हो । म आर्थिक स्थायित्व र विश्वासलाई यस सरकारको एजेन्डाको मुटुमा राख्नेछु
उनको सामु चुनौतीको पहाड छ । जनता चुनाव चाहन्छन् । तर, सुनकले बेलायतको विद्यमान आर्थिक र राजनीतिक संकट कसरी सम्बोधन गर्नेछन्, त्यो हेर्न रोचक नै हुनेछ ।
सतहमा बेलायतमा राजनीतिक संकट देखिए पनि त्यहाँ खासमा लोकतन्त्रको सही अभ्यास भएको देख्न सकिन्छ । मिडियाले राजनीतिक दलको काण्डलाई बिना दबाब सार्वजनिक गर्न सक्छ । प्रहरीले छानबिन गरी प्रधानमन्त्रीलाई जरिबाना तिराउने ल्याकत राख्न सक्छ र निर्वाचन आयोग यति स्वतन्त्र छ कि सत्तासीन दललाई जरिबाना तिराउन सक्छ ।
हामी कहाँ पनि आम निर्वाचन हुँदैछ, तर निर्वाचन आयोग एकपछि अर्को ठूला पार्टी र शीर्ष नेताको पक्षपोषणको लागि निर्णयहरूको घोषणा गरिरहेको देखिन्छ । बेलायतमा पार्टीगेट र वालगेटजस्ता काण्डहरू सिधै प्रधानमन्त्रीसम्म जोडेर हेरिन्छ । पार्टीभित्र सांसदहरू स्वतन्त्र छन् कि आफ्नो प्रधानमन्त्रीमाथि प्रश्न उठाउन सक्छन् । तर, हामी कहाँ यस्तो अभ्यास असम्भव नै छ । काण्ड, भष्टाचार त्यहाँ पनि हुन्छ, तर अनुसन्धान र कारबाही हुन्छ । जुन हामी कहाँ असामान्य लाग्छन् ।