२०७४ को असार महिना, गाउँको हिलो बाटो, झोलाभरी कार्यालयका कागजात अनी साथमा संखुवासभाका मित्र पदम न्यौपाने । मित्र पदमको कदम पर्सा जिल्लामा परेको यो पहिलोपटक थियो ।
शिक्षासँग सम्बन्धित विवरण संकलनका लागि पर्साका केहि गाविस घुम्नु पर्ने थियो । यो कामका लागि तोकिएको समयसीमा कम भएका कारण पानीमा पनि हामी गाउँ गएका थियौं । दर्किरहेको पानीमा छाताको ओत लिएर केहि घरको विवरण लिएपछि स्थानिय एक मित्रको घरमा गइयो खाना खान । मिठो मुस्कानका साथ स्वागत भयो । एकछिनको पर्खाइपछि खाना खान बस्यौं । भोकाएका हाम्रो अगाडी रहरीको दाल, भात, आलुको भुजिया, लट्टेको सागको तरकारी अनि आलुको चोखा अहो कत्ति मिठो भन्दै खान थाल्यौं । चौथो गाँस मुखमा हाल्ने बेला २ वर्ष जत्तिकी सानी नानी नाकबाट बाक्लो सिंगान बगाउँदै रुँदै आइन् । अलिक घिनाए क्यार पदमले मुख विगार्दै मलाई हेरे । त्यत्तिकैमा अघी खाना दिने आमाले बच्चिलाई उचालेर कम्मरमा राख्दै नाकको सिँगान पुछेर ढोका बाहिर फाल्दै हात आफैंले लगाएको सुती सारीमा पुछिन् ।
घरवाला मित्रले भने चाची खाना थपि दिनु । बच्चि मित्रलाई थमाउँदै चाची भान्छामा गइन् र तत्कालै खाना लिएर आईन् । उनले भात, चोखा, साग पालै पालो त्यहि हातले हाम्रो थालमा थपिन् जुन हातले एकैछिन पहिले सिंगान पुछेकी थिइन् । हाम्लाई पर्यो हम्मे । अघि सम्म स्वादिष्ट मान्दै खाएको खाना एका एक फर्केला झैं भयो । मित्र पदमलाई हेरें, निक्कै असमञ्जसमा देंखे । तत्काल एउटा जुक्ति गरें । पानी पिउन उचालेको गिलास खसालें, दुवैको थालमा पानी पर्यो । हाम्लाई खाना छोड्ने बाहाना मिल्यो । हातले खाना हाल्ने यो चलनबाट पदम धेरै दिग्मीगाए छन् । खाएको सबै खाना बाटोमा ओकेले ।
स्थानीयमा परम्परा जस्तै बनेको छ । खाना पस्किंदा हातको प्रयोग । भोज भतेरको बेलावा घरकै खाना पस्किंदा होस् हातैले खाना पस्किनु पर्साको लागि नौलो विषय होइन । कतिपयले त हातले नपस्किए खानै खाँदैनन् । तर डाडु पन्युले पस्केको खाना खाने बनी भएकाहरुले हातले हालेको खाना खाँदैनन् । खाइहाले पनि धेरै दिग्मिगाउँ छन् । मर्यादा क्रम अनुसार खाना खान दिँदै अन्य भैपरी आउने काम पनि गर्नु पर्ने बाध्यताका बिच महिलाहरुलाई प्रत्येक पटक खाना थप्दा साबुन पानीले हातधुनु असम्भव जस्तै हुन्छ । हजुर आमा, आमा, भाउजु सबैले हातले खाना हाल्देको देखेका आजका शिक्षित युवतीहरुले पनि त्यसै गर्छन् । सानै देखि जिज्ञासु र राम्रा कुरा थाहा पाउने वित्तिकै व्यवहारमा उतारि हाल्ने बानी भएकी ज्योती थारुले अहिले आफ्नो बानीमा परिवर्तन गरेकी छिन् ।
भनिन्छ, मान्छेले कि पढेर सिक्छन् । कि परेर त्यस्तै पर्यो ज्योतीलाई । पढेर पनि परम्परालाई अँगालेकी विरगञ्ज महानगरपालिका वडा नं. २९ साविक बसडिल्वा निवासी उनले महिलाहरु बिच छलफल गरे पछी बल्ल डाडु पन्यु प्रयोग गर्ने प्रण गरिन् । भात पस्केको दिएपछि उनी सँगै उनका गृहणी साथीहरुले पनि भातमा हातको प्रयोग नगर्ने योजना बनाए । ज्योतीका अनुसार धोएको हातले खाना पस्किए पनि थप्ने बेला सम्ममा – हाच्छिउँ आउँदा हातले मुख छोप्नु, कपाल कन्याउने, बच्चा समाउने, आवश्यक थाल कचौरा माझ्ने, आँखाको चिप्रा निकाल्ने, शरीरका घाउचोट छुने जस्ता साना साना तर फोहोरी काम गरिन्छ । यस्ता हरेक कार्य लगत्तै साबुन पानीको प्रयोग गरी हात धोइन्न भने यो खानाले फाइदा पक्कै गर्देन भन्ने उनीहरु आफैंले गरेको विश्लेषणले असल बानीको विकास भएको हो ।
सुरुमा कर्छुल अर्थात डाडु पन्यूको प्रयोग गर्दा घर परिवारले किन यस्तो ? भनेर अचम्म मान्दा सम्झाउन गाह्रो भए पनि अहिले धेरै गृहणीहरुले बानी सुधारेको बताउँछन् बसडिल्वा निवासी अर्की गृहणी मीरा देवी थरुनी । उनीहरुको सिको गर्दै भान्छामा डाडु पन्यूको अनिवार्य प्रयोगमा जुटेका छौं भन्छिन् विरगञ्ज महानगरपालिका ३० लाल पर्साकी पुनम देवी पासवान । स्वास्थ्य जस्तो ठूलो धन जोगाउने सानो तर राम्रो प्रयासमा जुटेकी छन् पर्सागढी नगरपालिका ५ पचरुखीकी संगीता देवी साह । उनी भन्छिन् ुपहिले पहिले घरमा आएका पाहुनालाई हातले भात दिने हाम्रो बानीले इज्जत नै गुमिरहेको रहेछ । अब इज्जत पनि स्वास्थ्य पनि हाम्रै हातमा छ ।
यी भनाईहरुले मित्र पदमलाई खाना खुवाउँदाको त्यो दिन सुधारेको प्रमाण पेश गरेका छन् । यहाँका महिलाहरु नेपाल सरकार तथा बेलायत सरकारको सहयोगमा सञ्चलित सामुदायिक विकास कार्यक्रम सिडिपिद्धारा प्रवद्र्धित नागरिक सचेतना केन्द्रमा आवद्ध छन् । उनीहरु प्रति हप्ता हुने भेलामा यस्तै खालका विषयमा छलफल गरेर खराब बानी त्याग्दै असल बानीको विकासमा जुट्ने गरेको छन् ।