मङ्सिर ४ गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनको व्यवस्थापन, सुरक्षा र अनुगमनका कार्यमा समन्वय बढाउन निर्वाचन आयोगमा संयुक्त निर्वाचन सञ्चालन केन्द्र सञ्चालनमा आएको छ।
आयोगले निर्वाचन स्वच्छ, स्वतन्त्र, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गराउन सहयोग पु¥याउन सो केन्द्र सञ्चालनमा ल्याएको हो।
केन्द्रको उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले केन्द्रमा खटिने कर्मचारीहरूले मुख्यतः पाँच महत्त्वपूर्ण काम गर्नुपर्ने बताए। उनले भने, ‘संयुक्त निर्वाचन सञ्चालन केन्द्रको क्रियाशीलताले स्वच्छ, स्वतन्त्र र निष्पक्ष ढंगले निर्वाचन सम्पन्न हुने विश्वास छ।’
उनले आयोगले आजदेखि नै विकट पहाडी जिल्लाका मतदान केन्द्रहरूमा कर्मचारी खटाउन शुरु गरेको जानकारी दिए।
आयोगले आजैदेखि वडास्तरमा मतदाता शिक्षा कार्यक्रम पनि शुरु गरेको उनले जानकारी दिए। प्रत्येक ठाउँमा सामाजिक परिचालक पुगे वा नपुगेको सूचना लिने तथा आवश्यक पर्दा निर्वाचन सुरक्षा र निर्वाचनसँग सम्बन्धित विषयमा तत्काल निर्णय लिनुपर्ने उनले बताए।
आयोगका सचिवको संयोजकत्वमा रहने केन्द्रमा गृह मन्त्रालयका सहसचिव, नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, राष्ट्रिय अनुसन्धान विभागका राजपत्राङ्कित प्रथम श्रेणी वा सो सरहका नेतृत्व तथा आयोगका आवश्यक कर्मचारीहरू रहने छन्।