वीरगंज महानगरपालिकाले अङ्ग्रेजी नयाँवर्ष आजदेखि हर्न र प्लास्टिक प्रयोगमा निषेध लगाएको छ ।
अङ्ग्रेजी नयाँसालको स्वागत गर्दै महानगरलाई सफा, स्वच्छ र सभ्य बनाउन हर्न र प्लास्टिकमा बन्देज लगाइएको वीरगंज महानगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत डा.भिष्म भुषालले बताए ।
महानगरपालिकाले नो हर्न र प्लास्टिकमा, मेरो धर्ती, मेरो माटो, मेरो आँगन, मेरो बाटो, मै सफा गर्छु, कुर्दिनँ कसैको बाटो लगायतको नारा लेखिएको प्लेकार्ड सहित प्रतिबन्ध लगायतको व्यानर सहित नगरपरिक्रमा गर्दै नियम लगाएको हो ।
महानगरपालिकाले सुरु गरेको सचेतना अभियान एक हप्ता सम्मका लागी जनचेतना जगाउने त्यसपछि अटेर गरेको खण्डमा दण्डात्मक उपाय अपनाउने नीति अख्तियार गरिएको महानगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत भुषालले बताए ।
पुस २४ देखि महानगरपालिका र जिल्ला ट्राफिक कार्यालयले हर्न बजाउने र प्लास्टिक प्रयोग गर्नेहरुमाथि दण्डगर्ने महानगरले जनाएको छ । यसैगरी महानगरपालिकाले प्लाष्टिक जथाभावी फाल्नेको फोटो खिचेर महानगरपालिकालाई दिएको खण्डमा उसलाई गरिने जरीवानाको २५ प्रतिशत दिने घोषणा समेत गरिएको छ ।
वीरगञ्ज महानगरपालिकाका प्रमुख विजय कुमार सरावगीले वार्षिक १२ करोड खर्च गर्दा समेत महानगरपालिका सफा हुन नसकेकोले अब कारबाहीको बाटो अपनाउनु परेको बताए । फोहोरी र कोलाहालबाट वीरगंजलाई मुक्ति दिन जथाभावी फोहोर फाल्ने र हर्न बजाउनेलाई सुरुमा कम्तीमा ५ हजार जरीवाना गर्छौं । त्यसपछि बढाउँदै १ लाखसम्म लााने मेयर सरावगीले बताए ।
महानगरको मंसिर १८ गते बसेको कार्यपालिका बैठकले वीरगंज महानगरपालिकालाई पुस १७ बाट हर्न निषेध र प्लाष्टिक निषेध गर्ने निर्णय गरेको थियो ।