स्वः पिता मोहर महरा चमार र माता सोनीयाँ देवी रामको ४ सन्तान मध्यकी माईली छोरीको रुपमा विं. सं. २०२९ पुष ९ गते जितपुर सिमरा उपमहानगरपालिका वडा २० मा जन्मिएकी किस्मती राम हाल दलित महिला संघ फेडो बाराको अध्यक्ष हुन् । आफू दलित समुदायमा जन्मिएकै कारण औपचारीक शिक्षा लिनका लागी विद्यालयको अनुहार सम्म नहेरेकी तर प्रौढ शिक्षा लिएरै टेस्ट पास गरेकी किस्मती राम अहिले विद्युतिय उपकरणहरु सबै चलाउन सक्षम छिन् । सानै उमेरमा विवाह गरिदिने रितीरीवाजले गर्दा १२ वर्षको कलिलो उमेरमै २०४१ सालमा कलैया उपमहानगरपालिका वडा न १ निवासी किशोरीलाल किस्मत संग वैवाहिक समबन्धमा बाधिएकी थिईन । दलित भएकै कारण आफूले समाजमा भोग्नु परेको समस्यालाई आफ्ना भावी सन्ततिले भोग्नु नपरोस भनेर २०६२ सालमा दलित महिला संघ फेडो नामक संस्था दर्ता गराई दलित महिलाहरुको हक हितकोलागि लागि परिरहेकी उनै किस्मती रामसंग यस साता मध्य नेपालले गरेको कुराकानी :
१) यो कस्तो संस्था हो ? यस संस्थाको उद्देश्य के हो ?
समाजले सदिऔं देखि पछि पारेको दतिल महिलाहरुको लागि कार्य गर्ने दलित महिलाहरुको संस्था हो । हुन त यो संस्थाले गैरदलित महिलाहरुको लागि पनि कार्य गर्दछ । यस संस्थाको उद्देश्य भनेको डोम मुसहर, चमार, दुसाद, जस्ता दलितहरुको लागि स्वास्थ्य, आर्थिक, सामाजिक, सांस्कृतिक, न्यायमा पहुँच पु¥याउनु हो ।
२) यस संस्थाले कुन कार्यलाई बढि जोड दिएर काम गरेकोे छ ?
संस्थाले दलित समुदायलाई नै बढी जोड दिएको छ । जहाँ अरु संघसंस्था पुगेको छैन त्यहाँ दलित महिला संघ पुगेर कार्य संचालन गरिरहेको छ ।
सबैलाई भेला गराएर जल्दो बल्दो विषयमा अन्तिकृया गर्ने, न्यायको बारेमा जानकारी गराउन,े हाम्रो अधिकार यस्तो हो हामीले अधिकार जानेर मात्रै भएन अधिकारको सदुपयोग गर्नुपर्छ भनेर वकिल, प्रशिक्षकलाई बोलाएर तीन दिनको तीन तीन महिनामा तालिम पनि दिन्छौ । यसले खास गरि दलित समुदायको स्वास्थ्य, आर्थिक, सामाजिक, सांस्कृतिक, न्याय लागायतको क्षेत्रलाई समेटेको छ ।
३) महिलाहरुको लागि सिप मूलक तालिमहरु पनि संचालन हुन्छ कि ?
होईन हामीले त्यस्तो सिपमूलक तालिमहरु संचालन गरेका छैनौ । त्यस्ता कार्यक्रमहरु अरु संघसंस्था मार्फत पनि भईरहेकै छन् । खासमा भन्नु पर्दा यस दलित महिला संघ फेडो ले हाम्रा दलित समुदायका बालबालिकाहरुले पाउनुपर्ने छात्रावृद्धि, पोषण भत्ता लगायतका रकम दलितको नाममा गैरदलितले नखाओस, शिक्षकहरुले नखाओस् जस्को हो उसैले पाओस् भन्ने बारेमा वकालत गर्छ ।
४) तपाई कति सालदेखि यो संस्थामा आबद्ध हुनुहुन्छ र के कुराले प्रेरणा दियो यस क्षेत्रमा आबद्ध हुन ?
विं.सं. २०६२ सालमा हामीले यो संस्था दर्ता ग¥यौ । २०६३ देखि कार्यक्रमहरु संचालन गर्न थाल्यौ । हामी दलित समुदायका सबैले पहिल्यै देखि शोषण भोग्दै आएका छौ । अरुको त के कुरा म आफैंले पनि शोषण भोग्नु परेको थियो । मान्नुस कि मेरो हातमा घाउ छ तपाईले हेरेर सहानुभुती देखाउदैमा मलाई त्यो चोटले दिएको पीडा ठिक हुन्छ र ? त्यसको उपचार र औषधी मैले नै खोज्नु पर्छ नि ।
जुन गाउँबाट भोगेर आई मैले यो संस्था स्थापना गरे त्यो गाउँमा दलितका छोराछोरीले पढ्छन् ? चप्पल लगाउछन् भनी प्रश्न गर्थे त्यहाँका गैर दलितहरु । चप्पल लगाउन पाईदैन्थ्यो , खाटमा बस्न पाईदैनथ्यो । हप्तामा ३ ४ जना दलित परिवारका छोराछोरीलाई भकारीको खाँबोमा बाधेर कुटेको मैले आफ्नै आँखाले देखेको छु । मैले त्यस्तो भोग्नु परेन । ठूला जातिहरुले प्रयास नगरेको भने होईन । मेरो परिवार अरु भन्दा अलि बोल्ने र अन्याय नसहने स्वभावका थिए । तर पनि विभिन्न बहानामै शोषण त गरिनै रहे । चाहे स्कुल पढ्ने कुरामा होस् या मठ मन्दिर जाँदा हामीलाई समाजले हेर्ने दृष्टिकोण कता कता मनमा बिझाई राख्थ्यो ।
दलित समुदायबाट खासै कोही हुदैन्थे बोल्नका लागि । यो विभेदको अन्त्य कहिले होला ? अरुसंगै हामी स्कुल जान कहिले पाईएला, अरु सबैजना सरी मठमन्दिरमा पुजा गर्न कहिले पाईएला भन्ने मनमा लागि रहन्थ्यो । यी सब हेरेरै मैले र मेरो समुदायले भोगेको भोगाई अबको आउने पिडीहरुले भोग्न नपरोस भन्ने सोचेर नै मैले यो संस्थाको स्थापना गरि यस क्षेत्रमा आवद्ध भएकी हुँ ।
५) एक दशक देखी आजको समय सम्म आईपुग्दा तपाई वा तपाईको संस्थाले दलित महिलाहरुको हकहितको लागि के कस्ता कार्यहरु गर्नु भयो ?
यसपालिको असोजमा झवानीमा दशैको मेला लागेको थियो । त्यहाँको मन्दिरमा गैरदलितले दलित समुदायलाई पूजा गर्न दिएनन् । त्यस विषयमा प्रहरी प्रशासनलाई राखेर १० दिन हामीले पंचायती ग¥यौ । त्यस पछि दलित समुदायले पनि मन्दिर भित्र पसेर पूजा गर्न पाए । यो मेरो लागि ठूलो उपलब्धि भयो । त्यस्तै परवानीपुर गाउँपालिकाको वडाध्यक्ष अनिल राम उहाँकै सामुन्ने मन्दिर भित्र पसेर धारामा पानी खाएका दलित समुदायका वालवालिकालाई पूजारीले कुटपिट गरे । त्यहाँ ठूलो विवाद भयो । कुटाई खाएका बच्चालाई आई सि यू मा राख्नु पर्ने अवस्था भएको थियो । त्यहाँ पनि हामीले आवाज उठाएका थियौ ।
यथोचित न्याय नपाए पनि त्यहाँको उपलब्धिलाई राम्रै मान्नु पर्छ । त्यस्तै हाम्रो छतवा गाउँपालिकाको दलित केटा र गैर दलित केटी प्रेम विवाहगरी त्यहाँबाट भागेका थिए । त्यहाँ केटी पक्षका परिवारले केटा पक्षका परिवारलाई कुटपिट गरि घर भत्काउने गरेको खरब हामीले पायौ । पछि त्यहाँ हामी लगायत प्रहरी प्रशासनको पहल पछि दुवै परिवार राम्रो भयो ।
६) संस्था संचालन गर्दा के कस्ता चुनौतीहरु आईपरे ? क कस्को साथ सहयोग पाउनु भयो ?
समाजमा चलिआएको परम्परालाई परिवर्तन गर्न कहाँ सजिलो छ र ? त्यसमाथि पनि म दलित त्यसमाथि पनि महिला भएको हुनाले मैले धेरै चुनौतीहरुको सामना गर्नु प¥यो । लाज पचाएर हिडेकी छ । आफू त बिग्रि अरु दलित परिवारका महिलाहरुलाई पनि बिग्रान निस्केकी छ जस्ता विभिन्न अरोपहरु सहनु प¥यो । तर पनि मैले हिम्मत हारिन । मेरो परिवार, श्रीमान्को र समग्र समुदायको समेत धेरै सहयोग रह्यो मलाई । अरुको पनि सहयोग छ । यो होईन कि समुदायको मात्रै साथ छ । अहिले राम्रो छ । कार्यक्रहरु भएपनि नभएपनि दलित समुदायकै न्यायको लागि लडिरहेकै छु ।
७) दलित महिलाहरुको उत्थानको लागि के गरिनुपर्छ जस्तो लाग्छ यहाँलाई ?
दलित महिलाहरुका लागि दलितहरु मात्रै लडेर पनि हुँदैन । सबैको साथ सहयोग चाहिन्छ । अवसर पायो भने दलित समुदायका महिलाहरु पनि सक्षम छन् । किनभने डाडु पुन्यु चलाउने महिलाले पनि कलम चलाउन सक्छन् । त्यसैले उनीहरुलाई अवसर र जिम्मेवारी दिनुपर्छ ।
८) पहिला र अहिले दलित समुदायलाई समाजले हेर्ने दृष्टिकोणमा कत्तिको फरक पाउनु भएको छ ?
दलित समुदाय भनेर हामीलाई हेर्ने दृष्टिकोणमा अहिले धेरै फरक भएको छ । यसपालिको प्रदेश स्तरीय चुनावमा प्रदेश नं. ७ बाट दलित समुदायकी महिला (सृजना विश्वकर्मा) पनि सभासदमा जितेकी छिन् । दलित समुदायसंग अब ईज्जतले बोल्नु पर्छ । यिनीहरुले पनि देशको सबै कार्य गर्न सक्छन् । क्षमता, योग्यता भएको छन् भन्ने भएको छ ।
९) दलित प्रतिको विभेद हट्न अझै कति समय लाग्ला जस्तो लाग्छ यहाँलाई ?
ठ्याक्कै यति नै भनेर यकिनका साथ भन्न त गाह्रै छ । तर सकारात्मक विचार प्रवाह भईरहयो, हरेक क्षेत्रमा दलित समुदायको समान सहभागिता गराईयो भने छुवाछुत अन्त्य हुन्छ । छिट्टै हुन्छ ।