राजनीतिमा लामो समयसम्म देखिएका अनुहारहरु मात्र होइन पछिल्लो समयमा नयाँ अनुहारहरु पनि यो क्षेत्रमा देखिन थालेका छन् । नयाँ सोच र अठोटका साथ आउने त्यस्ता नयाँ अनुहारहरु मध्येमा वीरगन्जका युवा रहवर अंसारी पनि एक हुन् । उनी यो पटकको निर्वाचनमा मधेश प्रदेश सभा सदस्यका लागि पर्साको क्षेत्र नम्बर १ ‘क’ को उमेद्वार बनेका छन् । अंसारी यो पटक सत्तापक्ष गठबन्धनका साझा उमेद्वार समेत बनेर यो क्षेत्रको प्रतिनिधित्व गर्न मैदानमा उत्रिएका हुन् । यो पटकको निर्वाचनमा अग्रसर भइरहँदा उनका चुनावी एजेण्डा र नीति के छन् ? निर्वाचनलाई कसरी हेरिरहेका छन् ? लगायतका समसामयिक बिषयमा केन्द्रित रही गरिएको बिशेष कुराकानीः
१. तपाईको उमेद्वारी किन ?
मेरो पृष्ठभूमि हेर्ने हो भने म सम्पन्न परिवारमा जन्मेको व्यक्ति हो । समृद्ध परिवारमा हुर्केर राम्रो शिक्षा आर्जन गर्ने अवसर पाएको भाग्यशाली व्यक्ति मध्य म एक हुँ । मेरो क्षेत्रका प्राय जसो मानिस निम्नस्तरका र कृषि व्यवसायमा संलग्न संख्या बढी छ । उनीहरुको अवस्थालाई दृष्टिगत गरी समृद्ध नागरिक बनाउन मेरो उम्मेद्वारी हो ।
२.तपाईका अरु मुख्य एजेण्डा के छन् त ?
विगतका राजनीतिक प्रतिनिधिहरुले शिक्षा, स्वास्थ्य, रोजगार भन्ने विकासको नारा दिए । तर अब आम जनताले विकास होइन, निकास चाहेका छन् । मेरो क्षेत्रका प्रायः ८० प्रतिशत जनता कृषि पेशामा आबद्ध किसानहरु हुन् । कृषिमा संलग्न किसानहरुको उत्पादन बढाउने, प्रविधिहरुको प्रयोग गरी लागत खर्च घटाउने, बजारीकरण गर्ने, मेरो मुख्य एजेण्डा हो । आम जनताका मसिना–मसिना समस्याहरुको पहिचान गरी त्यसको समाधान सरल, सहज तरिकाले गर्नु पर्ने छ । विकासका सबै पक्ष सफल हुनका लागि आफ्नो क्षेत्रका आम जनताको आर्थिक पक्षको समृद्ध हुनुपर्छ । जनताको र्आिर्थक पक्षको विकासमा नै मेरो विषेश जोड रहने छ ।
३. तपाई राजनीतिमा प्रवेश गर्नु पर्ने अरु कारणहरु पनि छन् ?
म सम्पन्न परिवारमा हुर्के बढेको व्यक्ति हो । मेरो क्षेत्रका आम घरहरुमा एउटा थालमा ८ जना बच्चाहरु आमासंगै बसेर खाना खाइरहेका हुन्छन् । नुन भात, पानी भात, दाल भात मात्र हुन्छ । यसरी ती बच्चाहरु, ती आमाहरुको भोको पेट नै मेरो राजनीतिक प्रतिको आर्कषण हो । मेरो राजनीतिकमा लाग्नुका मुख्य कारण मेरा क्षेत्रका आम जनतालाई गाँस, बाँस, कपासको अभावबाट मुक्त गराउनु हो ।
४. तपाईले चुनाव जित्ने आधार के हो ?
म जनताको सेवा गर्ने भावनाले राजनीतिक क्षेत्रमा आएको हो । अघिल्ला जन प्रतिनिधिहरु प्र्रति जनताहरु रुष्ट छन् । पटक–पटक उनीहरुले हामीलाई ठगे र हामी ठगियौं भन्ने भावना जनतामा आएको छ । जनप्रतिनिधिहरुको झुटो आश्वासनले जनता आफैमा आत्माआलोचित छन् । म पनि अघिल्लो निर्वाचनमा हारें । तर पनि यो ५ वर्षमा मेरो क्षेत्रका जनताका लागि गर्नु पर्ने सेवा, सहयोग गरेको छु । मेरो जनता प्रतिको इमान्दारीता, सेवा भावना, उहाँहरुलाई मैले गरेको सहयोग नै चुनाव जित्ने आधार हो । यस पटक जनताले इमान्तारीताका साथ जनताको सेवा गर्ने, शिक्षित युुवा उमेद्वारलाई अवश्य छान्ने छन् ।
५.तपाईले घरदैलो गर्दै गर्दा आम जनताको अपेक्षा कस्तो पाउनु भएको छ ?
मेरो क्षेत्रका आम जनताहरुले पटक–पटक निर्वाचित जनप्रतिनिधीहरुले दिएका आश्वासनहरु प्ुारा नभएको र जनताहरु आफैमा आत्माआलोचित भएको मैले पाएको छु । यस पटकको निर्वाचनमा जनताले केही परिवर्तन चाहेका छन् । आफूले चाहेको उम्मेद्वारलाई जनताले भोट दिनेछन् । मंसिर ४ गते हुने निर्वाचनबाट जनताले शिक्षित, युवा उम्मेद्वार, इमान्दारीताका साथ जनताको सेवा गर्ने योग्य उम्मेद्वार पाउने अपेक्षा राखेका छन् ।
६. अन्त्यमा तपाई थप के भन्न चाहनुु हुन्छ ?
म कुनै राजनीतिक पद प्राप्त गर्नको लागि राजनीतिक क्षेत्रमा आएको होइन । म जनताको आर्थिक स्थितिलाई समृद्ध बनाउनका लागि उमेद्वार बनेको हो । मेरो हार, जित जे भए पनि जनताको माझमा नै रहन्छु । म आम जनतालाई भन्न चाहन्छु पटक पटक उमेद्वार जित्छन्, पार्टी जित्छन्, व्यक्ति जित्छन् । यस पटकको निर्वाचनमा जनताले जित्ने गरी निर्वाचनको मत परिणाम ल्याउन सबैले सक्दो सहयोग गरौं ।