मंसिर ४ गते हुने निर्वाचनमा परिवर्तनकारी युवाको खोजी मुलुकभरी भइरहेको छ । पर्सामा पनि यस्ता युवाहरु मध्ये जिम्मेवारी बोध गर्न सक्ने र परिवर्तनको आभाष दिलाउन सक्ने केही युवा पार्टी लाइनबाट पनि अगाडी सारिएका छन् । स्वतन्त्रबाट पनि कतिपय युवाहरु अग्रसर नभएका होइनन् । तर लोकतन्त्रमा संघ र प्रदेश हाँक्न कुनै न कुनै राजनीतिक दलले मात्र सक्ने प्रायः अभ्यास देखिएको छ । त्यसले पनि दायरा पूरा गर्दै मैदानमा आएका युवा परिवर्तनको संवाहकका रुपमा रहन सक्छन् । त्यसै मध्ये नेकपा एमालेले अगाडी सारेका पर्साको क्षेत्र नम्बर २ को ख का हरेराम पटेल पनि एक हुन् । उनलाई जसपासँग एमालेले तालमेल गरेपछि सो क्षेत्रमा उनी एमाले जसपाका साझा उमेद्वार पनि भएका छन् । युवाको खोजी भइरहेको समयमा परिवर्तनको प्रत्याभूत दिन सक्ने यस्ता युवाहरुको घरदैलो कार्यक्रम पनि राम्रै चलिरहेको छ । युवाको खोजी भइरहेको समयमा चुनावी मैदानमा खडा रहेका युवा उमेद्वार मध्येका एमाले जसपाका उनै साझा उमेद्वार हरेराम पटेलसँग चुनावी एजेण्डा लगायतका सन्दर्भमा केन्द्रित रही गरिएको बिशेष कुराकानी ः
१) तपाईको उम्मेदवारी किन ?
हरेक क्षेत्रमा आ–आफ्नो छुट्टै महत्व हुन्छ । राजनीतिकबाट मात्र होइन हामीले हरेक क्षेत्रबाट समाज सेवा गर्न सकिन्छ । तर राजनीतिक क्षेत्रबाट गर्ने सेवा वृहत हुन्छ । त्यसैले यो क्षेत्रबाट वृहत रुपमा समाज सेवा गर्न उमेद्वार बनेको छु । मैले विभिन्न क्षेत्रमा काम गरेको अनुभवलाई पनि यो क्षेत्रबाट ठूला क्षेत्रमा फिंजाउन चाहन्छु । विगतमा म एउटा व्यवसायभ ए पनि राजनीतिमा आउनुको कारण भनेको यो क्षेत्रको विकास र समुन्नतिको लागि नै हो । राजनीति हरेक नीतिको मुल नीति भएकोले पनि त्यसमा नै सुधार गरी मधेश र देशको आमूल परिवर्तनको क्षेत्रमा सहयोग र सेवा गर्न मेरो उमेद्वारी हो । समाजलाई रुपान्तरण गर्न हामी जस्ता सचेत र सोच भएका युवाहरु राजनीतिमा आउनु पर्छ भनेर पनि यो क्षेत्रमा लागेको हो ।
२) तपाईका मुख्य एजेन्डा के–के छन् ?
आम जनताको समस्यालाई सहजै समाधान गर्ने वातावरण सृजना गर्न र मधेश प्रदेशमा खस्केको शिक्षाको अवस्थालाई सुधार गर्ने मुख्य एजेन्डा छ । शिक्षाकोस्तरमा सुधार गर्न सकियो भने यो प्रदेशको विकास र समुन्नतिमा सुधार गर्न सकिन्छ । महिलाहरुलाई शसक्तिकरणमा जोड दिने । नामको मात्र कृषि प्रधान देशका किसानलाई किसान भएको अनुभूति हुने गरी कृषि क्षेत्रमा सुधार गर्ने लक्ष्य छ । हाम्रो कृषि क्षेत्रलाई विकास गर्दै गयौं भने वेरोजगार पनि धेरै हटेर जान्छ । मेरो अर्को एजेन्डा भनेको वेरोजगार युवा वा महिलाहरुलाई सिपमुलक तालिम दिएर रोजगार बनाउने रहेको छ । आधुनिकीकरण र आयात निर्यातको नीतिगत सुधार गर्ने, बालबालिकालाई गरिखाने शिक्षाको अहुँचमा पु¥याउने जस्ता धेरै एजेण्डाहरुमा सुक्ष्मरुपले काम गर्ने लक्ष्य छ ।
३) पाँच वर्षको सुन्दर परिकल्पना गरिरहँदा चुनौति पनि छन् नि त ?
कुनै क्षेत्रमा रहेर काम गर्दा हरेक चुनौतिहरु आउँछन् नै । हामीले त्यो चुनौतिसंग कसरी सामना गर्ने भन्ने कुरामा भर पर्छ । राजनीतिक क्षेत्र भनेको एउटा चुनौतिसँग खेल्न पर्ने क्षेत्र पनि हो । हाम्रो समुदायमा भएका व्यक्तिहरु विभिन्न माध्यमबाट वेरोजगार भएर हाम्रै गाँउ, सहरमा रहेका छन् । हामीले कृषि क्षेत्रलाई राम्रो बनायौ भने हजार यूवाले कृषि क्षेत्रबाट नै रोजगारी पाउँछन् । कृषि र शिक्षा क्षेत्रलाई व्यवस्थित गर्न सकियो र रोजगारमुलक तालिम दिएर आयस्तर बढाउन सकियो भने धेरै युवाले विदेशिनु पर्दैन । सडक सञ्जाल विस्तारै व्यवस्थित हुदै गइरहेको छ । कृषि फसलको मार्केटका लागि यसले पनि बल पुग्छ । अब कृषिलाई पहिलो प्राथमिकतामा राखेर आयात प्रतिस्थापन गर्न सकृय हुन पर्छ । मेरो पहल यता हुन्छ ।
४) चुनाव खर्चिलो भएको कुरा चौतर्फी सुनिन्छ । तपाई के भन्नु हुन्छ ?
चुनावमा नेताहरुले पैसा खर्च गरेर नै चुनाव जित्ने गर्दछन् त भनिन्छ । तर चुनाव जित्न पैसा खर्च गर्नु पर्छ भन्ने छैन । जनताले चाहे भने पैसा खर्च नगरी नै चुनाव जित्न सकिन्छ । जनताहरुले पैसा लिएर आफ्नो अमृल्य भोट दुरुपयोग गर्नु हुदैन । जनताले ५ वर्षको लागि नेतृत्वकर्ता चयन गर्दा आफ्नो क्षेत्रको विकास गर्ने खालको उम्मेदवारलाई छान्नु पर्छ । यसो गर्न सकिएन भने पाँच बर्ष समाजको विकास र समृद्धि पछि पर्छ । म यस खर्चिलो माध्यममा छैन । जनताले चाहे भने चुनाव जित्न सकिन्छ । खासमा जनतालाई राम्रो प्रतिनिधि चाहिएको छ । म जनताको अपेक्षालाई मर्न दिन्न ।
५) तपाईको चुनाव जित्ने आधार के हो ?
सबै उम्मेदवारका आफ्नै–आफ्नै एजेन्डाहरु हुन्छन् । त्यसमा पनि जनताले एजेन्डा मात्रै हेर्दैनन् । उम्मेदवारको इमान्दारीता, काम गर्न सक्ने क्षमताहरु पनि हेर्छन् । त्यस्तै मेरो पनि काम गर्ने आफ्नै अनुभव र क्षमता रहेको छ । जनताले मलाई राम्रो व्यक्तिको रुपमा लिनु हुन्छ भन्ने मेरो विश्वास हो । मेरो विश्वासलाई मेरो क्षेत्रका मतदाताले मर्न दिनु हुन्न भन्ने मैले ठानेको छु । मेरा एजेण्डा झुटका एजेण्डा छैनन् । पूरा गर्न सक्ने खालका एजेण्डा भएकोले म पूर्ण इमानदारिताका साथ पूरा गर्न पक्षमा लाग्ने छु । मेरो क्षेत्रका आम जनताको आवाज सुनी त्यो भावना मर्न दिन्न । जनताहरुको विश्वास नै मेरो जित्ने आधार हो । जनताले एक पटक मौका दिनुहुन्छ भन्ने पूर्ण विश्वासमा पनि छु ।
६) तपाई तपाईको क्षेत्रका आम मतदातालाई अन्त्यमा थप केही भन्न चाहनु हुन्छ ?
सम्पूर्ण मतदाताहरुलाई मेरो के अनुरोध छ भने तपाईहरु हाम्रोलाईभन्दा राम्रोलाई मतदान गर्नुहोस् । जसले जितेपछि आफुले राखेको एजेण्डाहरु पूरा गर्न सक्छन् । हाम्रो एक दिनको गल्तिले ५ वर्ष पीडा भोग्न नपरोस् । मतदान गर्दा अरुको दवावमा आएर गर्नु हुदैन । कुनै लोभमा पर्नु हुदैन । एक पटक मौका पाए भने म जनताको शिर झुक्न दिने छैन । मलाई एक पटक मौका दिनुहोस् र आफ्नो अमृल्य मतदान गरेर जिताउनुहोस् ।