विभिन्न सामाजिक संघ संस्थामा आबद्ध भई सामाजिक अभियन्ताका रुपमा समाजमा योगदान गर्ने व्यक्तिको रुपमा पहिचान बनाएका रामनरेश प्रसाद यादव पछिल्लो समयमा जसपाका पर्सा जिल्ला अध्यक्ष हुन् । राजनीतिमा नहुँदै पनि जनताको काम गर्ने व्यक्तिको पहिचान बनाएका उनी राजनीतिबाट अझ वृहत रुपमा समाजसेवा गर्ने अठोटका साथ यो क्षेत्रमा प्रवेश गरेका हुन् । राजनीति तर्फ पनि आफ्नो गरिमामय पहिचान बनाएका जसपाका जिल्ला अध्यक्ष यादव शिक्षा क्षेत्रमा समेत लामो अनुभव सम्हालेका नेता हुन् । पर्साको क्षेत्र नम्बर २ को ‘क’ बाट प्रत्यक्ष तर्फ प्रदेश सभा सदस्यमा यो पटक उमेद्वार बनेका रामनरेश प्रसाद यादवसँग आगामी निर्वाचनका सन्दर्भमा केन्द्रित रही गरिएको बिशेष कुराकानी :
१. सामाजिक रुपमा जनतासँगै रहेको मानिस राजनीतिक क्षेत्रमा नै अगाडी बढ्नुको कारण के हो ?
विभिन्न संघ संस्थामा आबद्ध भएर जनताको घरदैलोमा २ दशकदेखि नै सामाजिक अभियन्ता भएर काम गरिरहेको थिए । सामाजिक अभियन्ता भएर मात्र देशमा नीतिगत सुधार गर्न, जनमुखी कुरा गर्न नसकिने देखियो । सामाजिक अभियानसगैं राजनीतिक र निर्वाचन प्रणालीमा सुधार ल्याउन आवश्यक छ । प्रदेश सभा मार्फत जनमुखी योजनाहरु ल्याउन, विभिन्न ऐन, नियम, निर्देशिका, कार्यविधिहरुमा रुपान्तरण गर्न र ग्रामीण क्षेत्रको सुधारका लागि योगदान गर्न म राजनीति तर्फ पनि आएको हो ।
२) तपाईका खास एजेण्डाहरु के छन् ?
आफ्नो निर्वाचन क्षेत्रको लागि मात्र नभई समग्र प्रदेशको कुरा गर्न उचित हुन्छ । त्यसै भित्र मेरो निर्वाचन क्षेत्र पनि पर्छ । समाज बदल्नका लागि सकरात्मक सोच हुनुपर्छ । शिक्षाले मानिसमा चेतना ल्याउँछ । चेतना प्राप्त भएपछि मात्र सकरात्मक सोच आउँछ । ७ प्रदेशमा मधेश प्रदेशको शिक्षाको अवस्था हेर्दा बेरोजगार सृजना गर्ने शिक्षा नीति जस्तो छ । अहिले सामुदायिक विद्यालयबाट अध्ययनका लागि बालबालिका संस्थागत विद्यालय तर्फ जाने परिपाटीलाई रोक्न शिक्षामा व्यापक सुधार गर्न आवश्यक छ । सामुदायिक विद्यालयमा व्यवसायिक शिक्षा, प्राविधिक शिक्षा लागु गर्ने र गुणस्तरीय शिक्षाको लागि व्यापक परिवर्तन गर्नु पहिलो एजेण्डा हो । बालबालिका तथा वृद्धवृद्धालाई स्वस्थ्य राख्न सरकारले विभिन्न कार्यक्रमहरु ल्याएको छ । मधेश प्रदेशका जिल्लाको ग्रामिण भेगका स्वास्थ्य चौकीका अवस्थाहरु ज्यादै दुःख लाग्दो छ । अस्पताल, स्वास्थ्य चौकीले दिएका सेवा, उपकरणहरु र समग्र वातावरणलाई सुधार्न जिल्लाका प्रत्येक निर्वाचन क्षेत्रमा सुविधा सम्पन्न अस्पताल निर्माण गर्न पर्ने छ । यो सँगै मधेशको उर्वरा भूमिमा आज पनि परम्परागत शैलीमा खेती भइरहेको छ । कृषिमा आधुनिकीकरण गर्ने, कृषकलाई चाहिने मलखाद, बिउबिजन, सिचाइको व्यवस्था गरी उत्पादन बढाउने । वैदेशिक रोजगारमा गएका युवाहरुका करबाट देशका विकाश गर्ने परम्परालाई हटाउने । बेरोजगार युवालाई कृषिमा आधारित विभिन्न उद्योग संचालन गरी रोजगार प्रदान गर्ने मेरा एजेण्डा छन् ।
३. मतदाताले के अपेक्षा र तपाई एजेण्डा पूरा गर्न सक्नु हुन्छ त ?
मेरो निर्वाचन क्षेत्रको अधिकांश भू–भाग ग्रामिण क्षेत्रमा पर्छ । यहाँका १० प्रतिशत मानिसको जीवनशैली राम्रो होला । अधिकांश मानिसका जीवनशैली परम्परागत शैलीमा छ । त्यहाँका ९ हजार घर घुरी मध्ये ७ जनाले मात्र मसंग पार्टीका एजेण्डा र घोषणा पत्र मागेका छन् । अरु जनताले सडक, नाला बनाउन माग गरेका छन् । शिक्षाको चेतनाकोस्तर जबसम्म बढदैन् त्यस क्षेत्रको सुधार हुन सक्दैन । वीरगंजभन्दा पर्सा क्षेत्र नं.–२ आज पनि ५० वर्षपछि छ । परम्परागतशैलीमा बाँचिरहेका निमुखा जनतालाई हेरेर उनीहरुको जीवन उकास्न राम्रो काम गर्छु । उहाँहरुको अपेक्षा पनि राम्रो जीवनशैलीकै हो । मेरा एजेण्डा पनि त्यस्तै छन् भनेपछि पूरा नहुने कुरा हुँदैन ।
४. तपाईलाई नै जनताले भोट किन दिने ?
मैले २१ वर्षको उमेरदेखि म सामाजिक क्षेत्रमा लागेको हो । ग्रामिण क्षेत्रमा छुवाछुत, बालबिवाह र अन्य विकृतिहरु धेरै थिए । त्यस बेलादेखि नै सानो संस्था खोलेर समाजमा सेवा गरिरहेको थिए । ०७४ सालमा पनि निर्वाचनमा उम्मेद्वार बनेको थिए । झिनो मतले पराजित भए । तर पनि निरन्तर ५ वर्ष जनताको सुखदुःखमा साथ छु । शिक्षामा डोनर एजेन्सीको सहयोगबाट मोडल विद्यालय पनि बनाए । निरन्तर समाज सुधारतर्फ उन्मुख गराउने काममा लागिरहेको हुनाले जनताले मलाई नै भोट दिने विश्वासमा छु ।
५.तपाईको जित्ने आधार के हो ?
दुई पार्टीको गठबन्धन गर्दा विपक्षीभन्दा दोब्बर मतले अगाडी छौ । निरन्तर ५ वर्षमा जनतासंग नजिक भएर काम गरेको कामको नतिजा पनि हो । जनताका सामु मैले राखेका एजेण्डाका कारण जनतामा सकारात्मक सोच आउनु नै मेरो जित्ने आधार हो ।
६.चुनाव महंगो भएको चौतर्फी हल्ला छ । तपाईले यसमा भनाइ के छ ?
चुनाव भड्किलो भैरहेको अवस्थामा निर्वाचन आयोगले तोकेको मापदण्ड भित्र नै बसेर चुनाव प्रचार प्रसार गर्नु पर्छ । म यसमा नै लागेको छु । मेरो क्षेत्रमा प्रचार प्रसारका लागि कुनै पनि काम भड्किलो छैन । मेरो क्षेत्रमा कुनै ठाउँमा फोटो राखेर व्यानर टागेको छैन । मतदान गर्नु जनताको अधिकार हो । जनताले आफ्नो स्वेच्छाले मतदान गर्ने अवसर दिनुपर्छ ।
७. अन्त्यमा आफ्नो क्षेत्रका जनतालाई थप के भन्न चाहनु हुन्छ ?
मंसिर ४ गते हुने निर्वाचनका लागि म पर्सा जिल्लाको क्षेत्र नं.–२ (क) को प्रदेश सभा सदस्यको उम्मेवार हो । म तपाईहरुको क्षेत्रमा चुनावी मैदानमा छु । मेरो क्षेत्रका सम्पूर्ण आदरणीय मतदाताहरुलाई हार्दिक अनुरोध गर्दछु । मेरो नीति र राजनीतिक उद्देश्य पर्सा २ (क) क्षेत्रलाई मात्र होइन । मधेश प्रदेशकै उत्थानका लागि नै मेरो सफल योजना हुने छ । त्यसैले म राजनीतिमा लामो समय पद ओगटेर बस्ने होइन । २ कार्यकालमा मैले मधेश प्रदेश सुधारकालागि लिएको योजना लागु गर्ने गरी काम गर्नेछु । त्यसैले आम जनताले यस पटक आफ्नो अमूल्य मत दिएर विजयी बनाउनुहोस् । अवश्य पनि आम जनतासंग गरेको प्रतिबद्धता पुरा गर्नेछु ।