विगतका निर्वाचनमा पर्साका विभिन्न निर्वाचन क्षेत्रबाट निर्वाचन जिती आधा दर्जन मन्त्री बनिसकेका नेताहरुलाई यो पटक चुनाव जित्न हम्मेहम्मे देखिएको छ । उनीहरुलाई यो पटकको निर्वाचन जित्न गैरमन्त्रीहरुले टक्कर दिइरहेका छन् । योभन्दा पहिलेका निर्वाचनहरुमा जित निकाली मन्त्रीसम्म बन्नेहरुमा तीन जना क्याविनेट मन्त्री, एक सहायक मन्त्री, एक राज्यमन्त्री र एक मधेस प्रदेशको पहिलो मुख्यमन्त्री गरी छ जना यो पटक चुनावी प्रतिस्पर्धामा मैदानमा खडा छन् । ती मध्ये ५ लक्ष्मणलाल कर्ण, सुरेन्द्र चौधरी, प्रदिप यादव, अजयकुमार चौरसिया, करिमा बेगम पूर्वमन्त्री भइसकेका छन् भने मधेश प्रदेशका मुख्यमन्त्री लालबाबु राउत गद्दी अझै पदमा नै आसिन छन् । पाँच पूर्व र बहालवाला एकमन्त्री गरी चुनावमा खडा भएको उनीहरुलाई यो पटक भने चुनाव जित्न सहज भने नभएको पर्सावासीको ठहर छ । यसमा चुनाव जितेर गएपछि जनअपेक्षा अनुसार काम नगरेको र यो पटक आफ्नै पार्टीबाट बागी उठेका उम्मेदवार उनीहरुको टाउको दुःखाई भइरहेको पर्साका बुद्धिजिवीहरुको दावी छ ।
संघ सरकारका पूर्वमन्त्री तथा लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का वरिष्ठ नेता लक्ष्मणलाल कर्ण र प्रदिप यादवलाई माछा छापका स्वतन्त्र उमेद्वार अजय कुमार द्विवेदीको टक्कर कडा रहेको पर्साको क्षेत्र नम्बर १ का मतदाताको तर्क छ । जबकी पूर्वमन्त्री कर्ण सत्ता गठबन्धन दलको साझा उमेद्वार र अर्का पूर्वमन्त्री यादव एमाले–जसपा तालमेलका संयुक्त उम्मेदवार हुन् । उनीहरु केवल आफ्नो पार्टीको सिद्धान्त र नीतिका आधारमा मात्र पुनः जनताको बीचमा चुनिन गएका छैनन् । पार्टी–पार्टीका छासमिसे सिद्धान्त बोकी उनीहरु मैदानमा खडा छन् । उनीहरुलाई टक्कर दिदै गरेका नेता द्विवेदी भने हुँदाखाँदाको पार्टीको आड पनि छोडेर नितान्तः जनताको आडमा आफू पुनः परीक्षित हुने ठाउँमा स्वतन्त्र उभिएका छन् । त्यसैले यो क्षेत्रको निर्वाचन रोचक र घोचक दुवै बनेको छ ।
त्यसै गरी पर्साको क्षेत्र नम्बर २ मा पनि दलदलका छासमिसे सिद्धान्तबाट एमाले–जसपाका संयुक्त उम्मेदवार सुरेन्द्र कुर्मी अगाडी सारिएका छन् । उनी पनि सत्ता गठबन्धन दलकै अर्का छासमिसे सिद्धान्तवाला पूर्वमन्त्री अजयकुमार चौरासियालाई धक्का दिने लाइनमा खडा छन् । नेता कुर्मी राजनीतिमा अहिलेसम्म टेष्ट नभएको ईमान र निष्ठावानमा अडेका नेताका रुपमा परिचित छन् । उहाँ प्रतिस्पर्धी भएपछि नेपाली कांग्रेसका केन्द्रीय सदस्य समेत रहेका पूर्वमन्त्री चौरासियाको जितमा शंका बढेको पर्साका स्थानीयको तर्क छ । यो क्षेत्रमा पर्साको क्षेत्र नम्बर १ मा जस्तो स्वतन्त्र उम्मेदवारको टक्कर भने अलि नभएको पर्सावासीको आँकलन छ ।
उता पर्साको क्षेत्र नम्बर ३ मा पनि सत्ता गठबन्धनबाट साझा रुपमा उठाइएका पूर्वमन्त्री सुरेन्द्र चौधरीलाई एमाले जसपाका साझा उमेद्वार राजकुमार गुप्तालेको टक्कर थामिनसक्नु जस्तो बनेको त्यो क्षेत्रका हुनिराज भण्डारी ( चौधरी ) ले बताए । अरु समयमा पनि यो क्षेत्रमा ‘तँ वीर कि म वीर’ भनी शक्ति जुधाउने एमाले नेता गुप्ता र पूर्वमन्त्री सुरेन्द्र चौधरी दुवै एउटै चुनावी क्षेत्रमा खडा भएपछि जनताका बीचमा रोचकता थपिएको त्यो क्षेत्रका मतदाताको तर्क छ ।
पर्साको क्षेत्र नम्बर ४ का सत्ता गठबन्धनका कांग्रेस नेता रमेश रिजाल हेभिवेट नेता भए पनि र एमाले गठबन्धनका जालिम मियाँको उमेद्वारीले कडा टक्कर दिइरहेको स्थानीयको तर्क छ । त्यस्तै गरी, मधेस प्रदेशका मुख्यमन्त्री लालबाबु राउत गद्दीलाई पनि मधेस आन्दोलनका चर्चित नेता शशिकपुर मियाँ र ओम प्रकाश सर्राफ स्वतन्त्रबाट उठेपछि निर्वाचनको परिणाम कसो हुन्छ ? भन्ने आशंका बढेको पर्सावासीको ठहर छ । मुख्यमन्त्री राउतले मधेस प्रदेशको राजधानी वीरगंजमा ल्याउन ठोस पहल नगरेको आरोप स्थानीय अधिकाँश नागरिकले भन्ने गरेका छन् ।
पूर्वमन्त्री मध्येकी अर्की उमेद्वार करिमा वेगमलाई भने उनी जस्तै स्वतन्त्रबाटै सो क्षेत्रमा नै खडा भएका उमेद्वारको चुनौति रहेको यहाँका मतदाताको तर्क छ । पर्सा २ को ‘ख’बाट उमेद्वार बनेकी उनी उमेद्वारी दर्ता हुने केही दिन अगाडी जसपामा नै आबद्ध थिइन् । पार्टीले उनलाई टिकट नदिने संकेत गरेपछि उनी पार्टी छोडेर स्वतन्त्र रुपमा खडा भएकी छन् । तर उनी खडा भएकै पदमा स्थानीय नेता मुकेश द्विवेदी, वीरगञ्ज महानगरका मेयर राजेशमानका भतिजा रुपेशमान सिंह पनि उम्मेदवार बनेपछि पूर्वमन्त्री वेगमको जित पनि शंकाको घेरमा परेको पर्सावासीको आँकलन छ ।