राजनीतिक दलहरु भित्र निर्वाचनमा उम्मेदवार बन्न नपाएकोमा थुप्रै नेताहरु असन्तुष्ट छन् । केही उम्मेदवारका दम्पतीहरु नै यस पटकको चुनावमा लड्दैछन् । प्रधानमन्त्री शेर बहादुर देउवा डडेलधुराबाट चुनाबमा लड्दैछन् । उनकी श्रीमती आरजु देउवा नेपाली कांग्रेस समानुपातिक तर्फका उम्मेद्वार छिन् । गृहमन्त्री बालकृष्ण खाँड रुपन्देही ३ बाट लड्दैछन् भने उनकी श्रीमती मन्जु खाँड नेपाली कांग्रेसका तर्फबाट समानुपातिक उम्मेद्वार छिन् ।
नेकपा माओवादी केन्द्रका वर्षमान पुन रोल्पाबाट र उनकी श्रीमती पूर्व सभामुख ओमसरी घर्ती मगर पनि काठमाण्डौं–२ बाट चुनाव लड्दैछन् । शिक्षामन्त्री समेत रहेका माओवादी केन्द्रका सचिव देवेन्द्र पौडेल बागलुङ–२ बाट प्रत्यक्ष तर्फ उमेद्वार छन् भने उनकी पत्नी बलावती शर्मा प्रतिनिधी सभाकै लागि समानुपातिक तर्फको सुचिमा छिन् । नेकपा एमालेका नेता रघुविर महासेठ र जुली कुमारी महत्तो पनि दम्पती हुन् । दुबै यस पटक प्रत्यक्ष निर्वाचन लड्दैछन् । रघुविर धनुषा क्षेत्र नं.–३ र जुली घनुषाकै क्षेत्र नं.–४ बाट उमेद्वार छिन् । त्यस्तै जनता समाजवादी पार्टीका अशोक राई सुनसरी–१ बाट चुनावमा उठेका छन् भने उनकी श्रीमती शुसिला श्रेष्ठ समानुपातिक तर्फको सूचिमा छिन् ।
सय वर्षका उम्मेदवार
गोरखा क्षेत्र नं.–२ मा प्रतिनिधि सभा तर्फ एक सय वर्षका टिकादत्त पोखरेल उम्मेद्वार छन् । उनी नेपाली काँगे्रस विपीबाट उमेद्वार बनेका हुन् । पोखरेलका प्रतिस्पर्धा नेकपा माओवादी केन्द्रका पुष्पकमल दाहाल (प्रचण्ड) र नेकपा एमालेका अवदुसँ मियाँसंग हुदैछ । २००७ सालदेखि जनताका लागि लड्दै आएको बताउने टिकादत्तले चुनाव प्रचारमा आफुले प्रचण्डलाई सजिलै पराजित गर्ने दाबी गरे ।
रिटायड प्रहरीको राजनितीक कदम
नेपाल प्रहरीको महानिरीक्षक भै सकेका सर्वेन्द्र खनाल यस पटक नेकपा एमालेबाट काठमाण्डौं–६ मा चुनाव लड्दैछन । त्यस्तै पूर्व डिआईजी रमेश खरेल काठमाण्डौं–१ बाट चुनाव लड्दैछन् । त्यस्तै गरी २०७४ को निर्वाचनमा एमाले पार्टीबाट टिकट पाएर चुनाव जितेका पूर्व डिआईजी नवराज सिलवाल यस पटक पनि ललितपुर–३ बाट चुनावी प्रतिस्पर्धामा छन् । नेपाल प्रहरीमा महानिरीक्षक भैसकेका ध्रुव बहादुर प्रधान पनि यस पटकको चुनावमा राप्रपाबाट उमेद्वार छन् । उनी नवलपरासी–२ बाट उठेका छन् । त्यसै गरी शसस्त्र प्रहरीका पूर्व डिआईजी ठाकुर महोन श्रेष्ठ राप्रपाबाट काठमाण्डौं–४ मा उम्मेद्वार छन् ।
जो जित्दा पनि सांसद छिर्न पाउने छैनन्
नेपाली काँग्रेसबाट सुनसरी–३ मा उम्मेद्वार बनेका विजय गच्छदार चुनाव जिते पनि सांसद छिर्न पाउने छैनन् । उनी विरुद्धको भ्रष्टाचार मुद्दा हाल विशेष अदालतमा विचाराधिनमा रहेको छ । अहिले १० लाख धरौटीमा छुटेका गच्छदार सांसद बनेको अवस्थामा पनि निलम्बन नै रहने छन् । मुद्दाको किनारा नलागेसम्म न त उनले प्रधानमन्त्रीलाई विश्वासको मत माग्दा मतदान गर्न पाउने छन् । न त कुनै कानून बनाउँदा, बजेट पास गर्दा भोट नै दिन पाउने छन् । गच्छदार जस्तै भ्रष्टचारको आरोप खेपिरहेका नेपाली काँग्रेसका नेता पूर्व मन्त्री टेक बहादुर गुरुङले मनाङमा जित हात पारेको अवस्थामा संसद भवन छिर्न पाउने छैनन् । उनी विरुद्ध पनि भ्रष्टाचारको मुद्दा विशेष अदालतमा विचाराधिन अवस्थामा छ ।
जसको नाम समानुपातिक सूचिबाट हट्यो
प्रतिनिधी सभा निर्वाचनका लागि समानुपातिक तर्फ दलहरुले बुझाएका सूचिबाट निर्वाचन आयोगले २०३ जनाको नाम हटाएको छ । नेपाली काँग्रेसबाट समानुपातिक तर्फ प्रधानमन्त्रीका प्रेस विज्ञ गोविन्द परियारको नाम समेत हटाएको छ । उनी लाभको पदमा भएको कारण उनको नाम काटिएको हो । त्यस्तै माओवादी केन्द्रका ३ जनाको नाम काटिएको छ । जस मध्ये उर्मिला देवी कोइरिनले दोहोरो उम्मेद्वारी दिएकी थिइन् । जनता समाजवादी पार्टीका १० जनाको नाम काटिदाँ सर्पदा शाही २४ वर्ष भएको कारण नाम काटिएको छ । प्रतिनिधी सभाको चुनाव लड्ने व्यक्ति २५ वर्ष पुगेको हुनुपर्छ । त्यस्तै एकिकृत समाजवादीको ६ जनाको नाम हटेको छ । जस मध्ये १ उम्मेदवारले मतदाता नामावली र उम्मेदवारी दिदाँ लैगिक पहिचान फरक उल्लेख गरेको कारण सूचिबाट हट्नुपरेको छ ।
बाबुको टिकट छोरा उम्मेदवार
मुस्ताङमा नेपाली काँग्रेसले सभापति रोमी गौचन (थकाली) लाई प्रतिनिधी सभाको टिकट पठाएको थियो । सबैले गौचन चुनाव लड्ने आकलन गरेका थिए । तर उनले उम्मेद्वारी दर्ता गर्ने बेला छोरा योगेश गौचनको नाम लेखेर उम्मेद्वारी दर्ता गर्न लगाए । २८ वर्षे योगेश प्रतिनिधी सभाका उम्मेद्वार मध्ये कान्छा उम्क्मेद्वार हुन् ।