राजेश्वर प्रसाद साह पर्सा जिल्लाको लागी भने पक्कै पनि नयाँ नाम होईन । पर्साको बहुदरमाई नगरपालिका वडा नं. ६ गम्हरीयामा स्व. बुवा रामजी साह र स्व आमा पार्वती देवीको कोखबाट बि. स. २०३२ चैत्र ३० गते जन्मेका साह उनका बाबु आमाका जेठो छोरा हुन् । २०४८ सालदेखि नै वीरगंज स्थित ठाकुरराम बुहमुखी क्याम्पसमा नेविसंघको राजनीतिमा सक्रिय रहेका उनले आई. ए. सी. सम्मको अध्ययन पूरा गरेका छन् । पर्सा क्षेत्र नं. २ को ‘क’ बाट नेपाली कांगे्रसको प्रतिनीधि भई निर्वाचित साह अहिले प्रदेश सभा सदस्य रहेका छन् ।
आफू प्रदेश सदस्य रहे पनि २ नं. प्रदेशको सरकारले प्रादेशिक रंगशाला नारायणी रंगशालालाई नबनाई जनकपुरमा बनाउन लागेको कुरामा भने उनी सन्तुष्ट छैनन् । यसमा पर्सावासीलाई प्रदेश सरकारले झुठो आसवासन दिई झुक्याईरहेको उनको भनाइ छ । समुदायिक विद्यालयमा शिक्षकको अभाव, भौतिक संरचनाको अभाव जस्ता कुरा हुँदाहुँदै पनि त्यसको कुनै सुधार नै नगरी प्रदेश सरकारले सम्पूर्ण समुदायभन्दा पनि निश्चित समुदायको हितमा मदर्सा शिक्षा बोर्ड ल्याई समग्र समुदायलाई उपेक्षा गरेको उनको ठहर छ । यस्तै गतिविधि अरुले पनि गर्ने हो भने २ नम्बर प्रदेशको शैक्षिक अवस्था भद्रगोल नहोला भन्न सकिन्न ।
प्रदेश नम्बर २ मा नै कमला डाइभर्सन सिंचाइ, जमुनी सिंचाइ, तिलावे बैरेज जस्ता स्रोत साधन भएकोले यहाँ जुन सुकै समयमा कृषकले आधुनिक तरिकाले खेती गर्न सक्ने उनको तर्क छ । यस प्रदेशमा माटो परिक्षण गरी कृषकले कम लगानी मै बढी उत्पादन गर्न सक्ने आधुनिक प्रविधि भित्र्याउन भन्ने उद्देश्यले आफू प्रयासरत रहेको प्रदेश सभा सदस्य साहले दावी गरे । यिनै प्रदेश सभा सदस्य साहसंग मध्य नेपालको लागी गरिएको विशेष कुराकानी :
१) अहिले के मा व्यस्त हुनुहुन्छ ?
जनताले दिएको जिम्मेवारी वहन गर्ने क्रममा जनतासंग भेटघाट गर्दै क्षेत्रको समस्या पहिचान गरी विकास गर्ने छलफल तथा जनताको सुखदुःखमा साझेदारी भूमिका निभाउँदै जनादेशको पालना गर्ने कार्यमा लागेका छु ।
२) जिल्लामा लामो सयमसम्म विकास हुन नसक्नुको कारण के पाउनु भएको छ ?
पर्सा जिल्ला अथवा समग्र मधेश कै कुरा गर्ने हो भन्ने शिक्षा, रोजगारी, कृषि लगायतका कार्यमा जनताले पाउँनु पर्ने सुविधा राज्यले दिन नसकेर र जनचेतनाको पनि कमीले विकासले गति लिन नसकेको पाएको छु । २ नं. प्रदेश अथवा पर्सा जिल्ला नै पिछडिएको छ । जबसम्म शिक्षा रोजगार र कृषि सम्बन्धिका कार्यमा जोड दिइदैन तबसम्म जिल्ला वा अब प्रदेश भनौं यसको विकास हुन सक्दैन ।
३) जिल्लाको सदरमुकाम वीरगंज नेपालको औद्योगिक र आर्थिक नगरीको रुपमा चिनिन्छ । यहाँको विकासको लागी तपाईले के पहल गर्दैहुनुहुन्छ ?
नेपालको सबैभन्दा ठूलो वीरगंज भन्सार कार्यालय, सुख्खा बन्दरगाह, एकिकृत भन्सार कार्यालय भएको ठाउँ हो वीरगंज । जसले देशको कुल राजश्व मध्ये लगभग आधाजति भार बहन गर्दछ । साथै नेपालको २८ वटा राष्ट्रिय वाणिज्य वैङ्गकका शाखाहरुले पनि धेरै राजश्व दिइरहेको छन् । यो अनुसारको विकासको काम वीरगंजमा मात्रै नभई प्रदेशमा पनि हुन सकेको छैन । अहिले त तीन तहको सरकार बनेको छ, त्यो अनुसार प्रदेश सरकारले पनि प्रदेश अन्तर्गत गर्ने विभिन्न कामको जिम्मेवारी पाएको छ । म एउटा प्रतिपक्षमा रहेर पनि जनताको समस्या र जिल्लाको विकासको लागी प्रदेश सभामा आवाज उठाइरहेको छु ।
विगतमा मधेशवादी राजनीतिक दलले मधेशी जनताको लागि यो गर्छु त्यो गर्छु भनी धेरै आवश्वासन दिएको थियो । तर प्रदेश नं. २ मा बनेको मधेशी दलको सरकारले जनतासँग गरेको बाचा अनुसारको काम गरेको छैन । हामी प्रतिपक्षमा भएर मधेशको विकासका लागी एउटा सभ्य प्रतिपक्षिको भूमिका निभाई रहेका छौ । तर पनि प्रदेश सरकारले जनतालाई अनुभूति दिन सक्ने कुनै पनि काम गरेको छैन । प्रदेश सरकारले बजेट पनि मन्त्रीस्तरी छुट्याएको छ । पहुँच भएका केही नेता तथा मन्त्रीले आ–आफ्नो क्षेत्रमा बजेट लगेर बिनियोजन गरेका छन् । तर सबै प्रदेश सभाका सदस्यले त्यो मौका पाएका छैनन् ।
४) आफ्नो क्षेत्रको विकासको लागी चाही तपाई के गर्दै हुनुहुन्छ ?
जनताको समस्या बुझ्न र क्षेत्रको विकासका लागी सधै म जनताको नजिक हुन्छ, सधै क्षेत्रको अनुगमन गरिरहन्छु । किन भने जनताले मलाई आफ्ना अभिभावक बनाएका हुन् । त्यो जिम्मेवारी मैले निर्वाह गर्नुपर्छ भन्ने ठानेको छु । जनता मेरो भगवान हुन् र म जनताको विकासको लागी सधै जनताको सुख, दुःखमा हातोमालो गर्दै आइरहेको छु । क्षेत्रमा भएको विभिन्न समस्यालाई समाधानका निम्ति स्थानीय, प्रदेश तथा केन्द्र सरकारसंग समन्वय गरेर जनताको जिवनस्तर उकास्ने काममा मेरो दिनरात ध्यान केन्द्रित भइरहेको छ । मेरो क्षेत्र ग्रामिण भेगमा भएकाले त्यहाँको शिक्षा, स्वास्थ, खानेपानी, कृषि लगायतका समस्या न्यूनिकरण गर्न सबै पक्षसँग समन्वय गरिरहेको छु ।
शिक्षाबाट बञ्चित भएका बालबालिकालई कसरी विद्यालय भर्ना गराउने र भर्ना भएका विद्यार्थीहरुलाई कसरी निरन्तर टिकाई राख्ने जस्ता विषयमा पनि गम्भिर भएर काम गरिरहेको छु । शिक्षाको ज्योतिले नै समाजमा चेतनाको विकास भई समाज र राष्ट्र बन्न भन्ने कुरालाई केन्द्रमा राखेर काम गरिरहेको छु ।
५) प्रदेश नं. २ को सरकारले प्रदेशको विकासको लागी के के योजनाहरु बनाएको छ ?
प्रदेश सरकारले प्रदेशको विकासभन्दा पनि नीतिगत कुरामा नै बढि केन्द्रित भएको पाएको छु । राम्रा नीतिको पक्षमा म र मेरो पार्टीको पनि समर्थन छ । नीति कार्यक्रमको बजेट प्रस्तुतमा भने ठिक त्यसको विपरित भएको छ । पर्सा जिल्ला स्थित नेपालकै दोस्रो ठूलो नरायणी रंगशाला र नरायणी अस्पताललाई प्रदेश स्तरको अस्पताल तथा रंगशाला बनाउने बजेट बिनयोजन गर्न मैले नै प्रदेश सभामा आवाज उठाएको थिए । मुख्यमन्त्रीले समेत बनाउने बचन गरेका थिए । तर नीति तथा कार्यक्रमले जिर्ण अस्पताल र नारायणी रंगशालालाई उपेक्षा गरेको जस्तो छ । प्रदेश स्तरीय रंगशाला बनाउने कुरामा प्रदेश सरकार चुकेको छ । पर्साको दुधेश्वरनाथ धाम, आमोदेवी मन्दिर, नेपालकै ऐतिहासिक ठाउँ पर्सा गढी मन्दिर, विन्दवासिनीमाई मन्दिर, बहुदरमाई मन्दिर, पारसनाथ मन्दिर जस्ता धार्मिक स्थललाई आन्तरिक तथा बाह्य पर्यटक भित्र्याउन सक्ने र विकास तथा रोजगारी सृजनामा आर्थिक भर हुने ठानेको थियो । यसैगरी वीरगंजमा विश्वविद्यालय बनाउने लगायत समग्र पक्षको विकासको लागी हामीले दवाव दिएको थियो । केही देखावा नीति तथा कार्यक्रम प्रदेश सरकारले ल्याए जस्तो पनि ग¥यो । तर पटक–पटकको आग्रहलाई मधेशी दलको सरकारले कुनै चासो दिएको छैन । मधेशी दलका नेता सत्तामा भत्ता समेट्नै व्यस्त देखिएका छन् ।
६) वीरगंज स्थित नारायणी रंगशालाको विवादलाई समाधान गर्न के उपाय सोच्नु भएको छ ?
पर्सावासीले उठाएको कुरालाई सिधै प्रदेश सरकारले ढाटेको देखिन्छ । पर्सावासी अथवा वीरगंज लगायत यहाँका मधेशीलाई नै २ नं. प्रदेशको सरकारले झुक्याएको छ । सही कुरा जनताको माझमा ल्याएका छैनन् ।
प्रादेशिक रंगशाला जनकपुरमा बनाउने प्रदेश सरकार कै निर्णय हो । प्रदेश सरकारले गरेको निर्णयको पत्रकै भरमा समाजिक विकास मन्त्रालयले प्रादेशिक रंगशाला जनकपुरमा बनाउने निर्णय गरेको छ । तर प्रदेश सरकारले हामीले निर्णय नगरेको भनेर झुट बोलेको छ । प्र्रदेश सरकारले केन्द्रलाई आरोप लगाएर पर्सावासीलाई झुक्याउने काम मात्र गरिरहेको छ । नरायणी रंगशालालाई नै प्रादेशिक रंगशाला बनाउने यहाँको जनताको चाहना र मांग पनि छ । यो मांगलाई जसरी भए पनि प्रदेश सरकारले पुरा गर्नु पर्छ । यसमा मेरो पनि जोड रहन्छ ।
७) २ नं. प्रदेशको शिक्षाको अवस्था भद्रगोल छ, यसलाई सुधार गर्न प्रदेश सरकारले चालेको कदम ठिक छ ? यसमा तपाईको भूमिका के हुन्छ ?
धेरै कुराको सुधारको लागी प्रदेश सरकार पनि गम्भिर छु भनेको छ । केन्द्र र प्रदेश बीचको धेरै कुराहरु ऐन, नियम कानुनले एकदमै सुस्त गतिमा हिडेको आभाष भइरहेको छ । चाहिने जति नियम कानून पनि बन्न नपाएकोले कर्मचारीको समेत अभाव छ ।
२ नं. प्रदेशको कुनै पनि सामुदायिक विद्यालयमा बस्तुगत शिक्षक छैनन् । त्यो शहर होस् वा ग्रामिण क्षेत्र । हामीले कक्षा ६ देखि ८ सम्म कम्प्युटर शिक्षा लागु गरेका छौ । तर हरेक विद्यालयमा शिक्षकको अभाव छ । कतै भौतिक पूर्वाधारको अभाव छ । यति हुदाँ हुदै पपनि प्रदेश सरकारले मदर्शा शिक्षा बोर्ड बनाएर एउटा जातीको लागि मात्र अगाडी बढ्नु अलि दुःखद पक्ष हो । समग्रमा सबैलाई समेट्ने गरी काम गर्नुपथ्र्यो ।
अहिले वीरगंज चिनीमिल कारखाना, कृषि औजार, शैक्षिक भवन लगायतका कुरालाई कसरी व्यवस्थापन गरेर कृषक तथा यहाँका युवाहरुलाई रोजगार दिन सकिन्छ भन्ने तर्फ प्रदेश सरकारको ध्यान गएको छैन । बारा जिल्ला स्थित रहेको शैक्षिक भवनलाई पनि उठाएर जनकपुर लैजाने तयारी थियो तर हामीले बिरोध गरेपछि बल्ल रोकिएको हो । प्रदेश नं. २ हाम्रो हो भनेर सबैले अपनत्व हुने गरी विकास गर्नु पर्छ । सबै कुरा जनकपुर मै हुन पर्छ भने सोच्न कसैले पनि राख्नु हुदैन । प्रदेश सरकारले पक्षपात गरेर विकासका हरेक कार्यमा वीरगंजलाई उपेक्षित गरिरहेको छ । यसमा मेरो फरक धारणा छ ।
८) तपाईले निर्वाचनको बेला जनतासंग गरेका प्रतिवद्धता के के पुरा गर्नु भयो ?
चुनावको दौरानमा जनतामाझ गरेका प्रतिवद्धताहरु पुरा गर्ने कार्यमै अहोरात्र खटिरहेको छु । आफ्नो पार्टीको सरकार नभएकोले सोचे जस्तो काम गर्न सकेको छैन । यसमा दुःखी छु । तर पनि राज्यले दिएको अधिकार, स्रोत साधनलाई जनताको सामु यथार्थ रुपमा प्रस्तुत गरी काम गरिरहेको छु ।
९) २ नं. प्रदेश कृषिमा आधारित प्रदेश हो, अहिलेको आधुनिक युगमा कृषकले कम लगानी मै बढि उत्पादन गर्न सक्ने गरी के गरिरहनु भएको छ ?
२ नं. प्रदेश कृषिको मेरुदण्ड नै हो । प्रदेश नं. २ लाई समृद्ध र सुखी बनाउने हो भने कृषिलाई पहिलो प्राथमिकता दिनुपर्छ । त्यसपछि पर्यटक भित्र्याउने र बन्द भएका उद्योगलाई पुनः सञ्चालनमा ल्याउने पहल मेरो प्राथमिकता हो । बारा, पर्सा, रौतहट यी तिन वटा जिल्लाको दक्षिणी भेगलाई जोड्ने १५ वटा ब्लक र ८१ कि.मि.दुरी भएको नारायणी सिंचाइलाई प्रभावकारी रुपले कार्यान्वयन गराउने प्रयासमा लागेको छु । विश्व बैङ्गद्धारा सिंचाइ तथा जल स्रोत व्यवस्थापन कार्यक्रम अन्तर्गत नारायणी सिंचाइको १/२ वटा ब्लकमा लागु पनि भइसकेको छ । बाँकीको लागु हुने क्रममा पनि छ । यो सिंचाइको काम पूरा भए बारा, पर्सा र रौतहटको दक्षिणी भूगागमा सिंचाइको थप भेरथेग हुन्थ्यो ।
२ नं. प्रदेशमा कमला डाईभर्सन चिसाई आयोजना, जमुनी पनि छ । रौतहटमा जमुनी सिचाई तथा पर्सामा तिलावे वैरेज छ । यसलाई सदुपयोग गर्ने एजेण्डामा म दृढ छु । त्यस्तै अरु ठाउँको लागी सानो ट्युवेल, ड्युब टुबेल र भएका नदीहरुबाट बाँध बनाई जुन सुकै समयमा पनि सिंचाइको पर्याप्तता हुने गरी काम अगाडी बढाउने पक्षमा रहेको छु । किसानले पाउने मलखाद्य, उन्नत जातका बिउ बिजन सस्तो शुलभ तरिकाले समयमा उपलब्ध गराई किसाले कम खर्च मै बढि उत्पादन गर्न सकुन भन्ने कुरामा दिनरात योजनाबद्ध कदमहरु अगाडी बढाउँदै छु ।
राष्ट्रिय बिउबिजन केन्द्रबाट पर्सा जिल्लाको लागी १७० मैट्रिक टन बिउबिजन ल्याएर ४० प्रतिशत छुट दिएर कृषकलाई उपलब्ध पनि गराइदै छ । यो प्रदेशलाई समृद्ध बनाउन कृषिलाई आधुनिकिकरणमा ल्याउन बन्द भएको चिनी करखाना, कृषि औजार कारखानालाई पनि पुन संचालनमा ल्याउने प्रयासमा निरन्तर जुटेको छु ।