नेपालले ऐतिहासिक सफलता प्राप्त गर्दै शुक्रबार वुमेन्स यू–१५ साफ च्याम्पियनसिपमा जित्यो । ढाकामा भएको निर्णायक खेलमा घरेलु टोली बंगलादेशलाई १–१ गोलको बराबरीमा रोक्दै नेपालले पहिलो पटक उपाधि जित्न सफल भएको थियो । खेल सकिन एक मिनेट अगाडि नेपालले पेनाल्टीबाट गोल हुन नदिएपछि उपाधि नेपालको पक्षमा गएको थियो । सोही निर्णायक खेलमा नेपालको तर्फबाट उत्कृष्ट गोलकिपरको भूमिका निभएकी सुजता तामाङ र खेलको १४ औँ मिनेटमा बंगलादेशविरुद्ध गोल गरेकी शुशीला केसीले आइतबार भरतपुरमा जितको खुशी साटे । दक्षिण एसियाली फुटबलमा नेपाललाई पहिलो पल्ट उपाधि जिताएर गृहजिल्ला फर्किएका यी दुई खेलाडीलाई राष्ट्रिय फूटबल संघ चितवनले सोमबार m भरतपुरमा सम्मान गरेको थियो । सो क्रममा प्रतिक्रिया दिदै गोलकिपर तामाङले पेनाल्टीमा बंगलादेशलाई गोल गर्न रोक्नु चुनौतीपूर्ण भएपनि रोक्न सक्छु भन्ने आत्मविश्वासले जित्न सफल भएको सुनाइन् ।
‘भित्रबाटै धेरै खुशी मिल्यो पहिलोपल्ट त्यत्रो ठूलो म्याचमा गएर जितियो । खुशीले रुन पनि आयो । खेल जित्नेबित्तिकै गुरुहरु मनमा आउनुभयो ।’ सो खेलमा सर्वोउत्कृष्ट गोलकिपरको उपाधि पनि उनले हात पारिन । छोरी मान्छेले गर्न सक्दैन भनेर प्रतिक्रिया दिनेहरुको अगाडि आफूहरुले गरेर देखाएकोमा गर्व लागेको उनले सुनाइन् । ‘छोरीमान्छेले यो गर्न सक्दैन त्यो गर्न सक्दैन भन्नेहरुको अगाडि हामीले गरेर देखायौ । घर परिवारमा ममीहरुको पनि शीर उच्च भयो त्यसमा खुशी छु ’ उनले खुशी साट्दै भनिन् ।
यू–१५ को निर्णायक खेलकी गोलकर्ता शुसीला केसीले पनि गोल गरेर नेपाललाई जिताउदाको खुशी उसैगरि बाडिन् । ‘धेरै खुशी लाग्यो पहिलो खेलदेखी नै गोल गर्ने प्रयास गरिराखेकी थिए भइरहेको थिएन, अन्तिम खेलमा जसरी हुन्छ स्कोर गर्नुपर्छ भन्ने चुनौती थियो र भयो पनि’ उनले भनिन् । थप मिहिनेत गरेर सिनीयर टिममा जाने इच्छा पनि जाहेर गरिन् ।
गोलकिपर प्रशिक्षक छन्नुराम चौधरीले छोटो तयारीका बाबजुद खेलाडीहरुले इतिहास रचेको भन्दै खुशी व्यक्त गरे । खेलाडीहरुले आफ्नो मेहेनतको फल प्राप्त गरेको उनको भनाइ थियो । खेलाडीद्धयको स्थानीय प्रशिक्षक चितवन जिल्ला फुटबल संघका प्रशिक्षक सुमन श्रेष्ठले दुबै खेलाडीले प्रतियोगिताभर उत्कृष्ट प्रदर्शन गरेको बताए । उनीहरुलाई निरन्तर खेल्ने वातावरण बनाउन आफ्नो र संघको तर्फबाट सक्दो सहयोग रहने उनले प्रतिवद्धता जनाए । राष्ट्रिय फूटबल संघ चितवनका अध्यक्ष श्रीकृष्ण कार्कीले नेपालको फुटबलको इतिहासमा शुसीला र सुजताले बेग्लै छाप छोडेको उल्लेख गरे ।
उनले छिट्टै नगदसहित संघले खेलाडीद्धयलाई सम्मान गर्ने पनि प्रतिबद्धता जनाए । अध्यक्ष कार्कीले आफूहरु सधै खेलाडीको अभिभावकीय भूमिकामा रहेर आगामी दिनमा पनि साथ सहयोग गर्ने बताए । डबल राउन्ड रोविनका आधारमा भएको च्याम्पियनसिप अपराजित रहँदै नेपाल च्याम्पियन बनेको हो । अन्तिम खेलमा नेपाललाई एक कम्तिमा एक अंक आवश्यक थियो । उक्त खेलमा नेपालले बंगलादेशलाई १–१ को बराबरीमा रोकेको थियो ।
१४ औं मिनेटमा नेपालले सुशीलाको गोलमा १–० को अग्रता लिएको थियो । ५४ औं मिनेटमा बंगलादेशले बराबरी गोल गरेको थियो । खेलको अन्तिम मिनेट बंगलादेशले पेनाल्टी पाएको थियो । जसलाई सुजाताले बिफल तुल्याउदै नेपाललाई च्याम्पियन बनाएकी थिईन् ।