प्रतिनिधिसभा र प्रदेशसभा सदस्यका उम्मेदवार र राजनीतिक दलले बिहीबार मध्यरातसम्म मात्रै चुनाव प्रचार गर्न पाउने भएका छन् ।
निर्वाचन कसुर तथा सजाय ऐनमा मतदान हुने दिनभन्दा ४८ घण्टाअघिदेखि मतगणना पूरा नभएसम्म कुनै उम्मेदवार र राजनीतिक दलको पक्ष वा विपक्षमा मत माग्न नपाउने व्यवस्था छ । दल तथा उम्मेदवारले चुनाव प्रचार कात्तिक १७ मा सुरु गरेका थिए ।
निर्वाचन आयोगले बिहीबार मध्यरातपछिको अवधिलाई विशेष समयका रूपमा व्याख्या गरेको निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले बताए । यस अवधिमा राजनीतिक दलका पदाधिकारी, उम्मेदवार, दलको भ्रातृ संगठनले निर्वाचन प्रचारलगायत कुनै पनि प्रकारका छलफल, अन्तर्क्रिया, सभासम्मेलन, कार्यशाला, गोष्ठी गर्न पाउने छैनन् ।
निर्वाचन आचारसंहिताअनुसार बिहीबार मध्यरातदेखि सामाजिक सञ्जाल, अनलाइन, छापा कुनै पनि माध्यमबाट राजनीतिक दल र उम्मेदवारको पक्ष वा विपक्षमा सन्देश, सूचना प्रचारका सामग्री पोस्ट, सेयर गर्न पाइने छैन । मतदानस्थलको तीन सय मिटर वरिपरि राखिएका राजनीतिक दल वा उम्मेदवारका प्रचार सामग्री पनि हटाउनुपर्ने हुन्छ ।
निर्वाचन सुरक्षाका लागि भन्दै निर्वाचन हुनु ७२ घण्टाअघि अर्थात् बुधबार राति १२ बजेदेखि मुलुकका सबै नाका बन्द गरिने भएको छ । बन्द नाका मतदान सकिएपछि मात्रै खुला गर्ने अभ्यास छ । मुलुकको सुरक्षा अवस्था र निर्वाचन सुरक्षा तयारीबारे सुरक्षा निकायले निर्वाचन आयोगका पदाधिकारीलाई जानकारी गराइसकेका छन् ।निर्वाचन आयोगका प्रवक्ता शालिग्राम पौडेलले मतदानका लागि सम्पूर्ण तयारी पूरा भएको जानकारी दिए ।