पर्सामा मतदाता शिक्षा प्रभावकारी रुपमा सञ्चालन हुन नसकेको सरोकारवालाले बताएका छन् । मंसिर ४ गतेको चुनाव नजिकिदै गर्दा मत कसरी खसाल्ने भनेर मतदातालाई जानकारी नै नगराईएको उनीहरुको भनाई छ ।
राष्ट्रिय मानव अधिकार आयोग, राष्ट्रिय आदिवासी जनजाति आयोग र राष्ट्रिय समावेशी आयोगका अध्यक्ष तथा प्रतिनीधिहरुसँगको छलफल कार्यक्रममा सहभागीले यस्तो बताएका हुन् ।
मानव अधिकार संगठन पर्साका सचिव शिवनाथ यादवले मतदान आउन पाँच दिन बाँकी रहँदा अधिकांश मतदाताले कसरी भोट खसाल्ने ? भन्ने बारेमा जानकारी नै नपाएको बताए । ‘ उम्मेदवारले आफ्ना लागि भोट मागिरहेका छन्, समानुपातिकमा कसरी भोट हाल्ने भन्ने पनि सिकाईरहेका छैनन् ।’ उनले भने ‘ यसपटक उम्मेदवार नभएको दलको चिन्ह पनि मतपत्रमा समावेश छैन, त्यसले गर्दा मतदाता झुक्किने संभावना छ । मतदाता शिक्षा प्रभावकारी हुन सकेको छैन ।’
मतदाता अलमलमा पर्दा निर्वाचनमा खटिएका कर्मचारीले आफ्नो अनुकुलको दलमा मत खसाल्न लगाउन सक्नेमा सचेत हुनुपर्ने उनको भनाई छ ।
छलफलमा सहभागीहरुले विद्यालयको पाठ्यपुस्तकमै मतदाता शिक्षालाई समावेश गर्नुपर्ने, मतदाता शिक्षा सिमान्तकृत समुदायसम्म पुग्नुपर्ने, विद्यालयमा मतगणना स्थल राख्न नहुने, प्रतिनीधि सभा तथा प्रदेश सभा सदस्य पदमा महिला अनिवार्य उठाउनुपर्ने प्रावधान राखिनुपर्ने, नमुना मतदानमा मतदाताको बढी भन्दा बढी सहभागिता हुनुपर्ने, निर्वाचन कार्यालयहरुलाई पाँच वर्ष नै क्रियाशिल राख्नुपर्नेमा जोड दिए ।
सामाजिक अभियन्ता प्रकाश थारुले उम्मेदवार विकट ठाउँमा मत माग्न नै नजाने गरेको गुनासो गरे । दिव्य युवा क्लबका निर्देशक रामाकान्त पटेलले चुनावको अघिल्लो दिन मतदातालाई प्रभावित गर्न रक्सी र मासु खुवाउने गरिएको बताए । दलित महिला संघ पर्साकी अध्यक्ष निला रामले कम उमेरमा विवाह गर्ने महिला र अंगिकृत नागरिकका सन्तानको नागरिकता नबन्दा मताधिकारबाट वञ्चित हुनुपरेको बताईन् ।
मानव अधिकार आयोगको सदस्य लिलि थापाले निर्वाचन स्वच्छ, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गराउन आयोगले निरन्तर ध्यानाकर्षण गराईरहेको बताईन् । विद्यलयमा मतदान स्थल बनाउनुको साटो हरेक गाउँमा सामुदायिक केन्द्र स्थापना गरेर मतगणना स्थलको रुपमा प्रयोगमा ल्याउन आयोगले दवाव दिईरहेको उनको भनाई छ । निर्वाचन पूर्व, निर्वाचन समय र निर्वाचन पछि सरोकारवालासँग छलफल गरेर आएको सुझावका बारेमा निर्वाचन आयोग र सरकारको ध्यानाकर्षण गराउने उनले बताईन् ।
राष्ट्रिय समावेशी आयोगको सदस्य विष्णु ओझाले निर्वाचनमा अवान्छित क्रियाकलाप नहोस भनेर सबै पक्ष सचेत रहनुपर्ने बताईन । राष्ट्रिय जनजाति आयोगका अध्यक्ष राम बहादुर थापा मगरले निर्वाचनमा कसैको अधिकार हनन हुन्छ भने आफ्नो पहुँच भएको आयोगमा खबर गरेर सहयोग गरिदिन आग्रह गरे । तीन वटै आयोगको टोलीले आजै सुरक्षा निकाय र निर्वाचन अधिकृतसँग छलफल गरेको राष्ट्रिय मानव अधिकार आयोग मधेस प्रदेश कार्यालय प्रमुख मञ्जु खतिवडाले जानकारी दिईन् । निर्वाचन पूर्व, निर्वाचनको दिन र निर्वाचन पछि पनि मानव अधिकारको उलंघन नहोस भनेर सुक्ष्म अनुगमन गर्ने उद्देश्यले विभिन्न आयोगका पदाधिकारी एवं कर्मचारी सहितको टोली स्थलगत अनुगमनमा निस्किएको छ ।