अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकामा धरै वर्षसम्म सरकारी कामकाज ठप्प हुन सक्ने चेतावनी दिएका छन् । अमेरिकामा सरकारी कामकाज आंशिक रुपमा ठप्प भएको दुई हप्ताभन्दा बढी समय भइसकेको बेला राष्ट्रपति ट्रम्पयको यस्तो भनाइ सार्वजनिक भएको हो ।
डेमोक्रेट पार्टीका शीर्ष नेताहरुसँग कुराकानी गरेपछि ट्रम्पले अमेरिका र मेक्सिकोबीच बनाउने पर्खाल बनाउनका लागि संसदलाई छलेर राष्ट्रिय संकट घोषणा पनि गर्न सक्ने बताए । पर्खाल बनाउनका लागि अनुमति जबसम्म मिल्दैन, तबसम्म कुनै पनि विधेयकमा हस्ताक्षर नगर्ने घोषणा ट्रम्पले गरेका छन् ।डेमोक्रेटिक पार्टीले पर्खालका लागि कोषलाई अनुमति दिने विषयको विरोध गर्दै आएको छ । यही गतिरोधका कारण झण्डै आठ लाख संघीय कर्मचारीहरुले गत डिसेम्बर २२ देखि तलब पाएका छैनन् । त्यसैले उनीहरुले दुई हप्ता अगाडिदेखि आंशिक रुपमा कामकाज रोकेका छन् ।
यस विवाद सुल्झाउने प्रयासस्वरुप रिपब्लिकन पार्टीबाट विजयी राष्ट्रपति ट्रम्पले डेमोक्रेटिक पार्टीका शीर्ष नेताहरुसँग शुक्रबार ह्वाइटहाउसमा छलफल गरेका थिए । ट्रम्पले सुरुमा छलफल निकै सकारात्मक भएको बताएका थिए । तर पछि पत्रकार सम्मेलनमा उनले धम्कीपूर्ण शैलीमा सरकारकी कामकाज लामो समयसम्म बन्द गराउन आफू तयार रहेको बताए ।
कामकाज लामो समयसम्म बन्द गराउने धम्कीको बारेमा सोधिएको प्रश्नमा ट्रम्पले भने, ‘मलाई लाग्दैन त्यस्तो हुनेछ, यदि भइहाल्यो भने पनि म तयार छु ।’
उनले थपे, मैले जे गरिरहेको छु, त्यसमा मलाई गर्व छ । मैले यसलाई कामकाज ठप्प भएको ठान्दिनँ । अमेरिका र मेक्सिकोको सिमानामा पर्खाल लगाउने काम देशको सुरक्षा र फाइदाका लागि जरुरी छ ।’
उनले राष्ट्रिय संकटकाल घोषणा दोस्रो विकल्प भएको पनि बताए ।
प्रतिनिधिसभाकी सभामुख नेन्सी पेलोसीका अनुसार समस्या समाधानका लागि भनेर बोलाइएको बैठक विवादित भयो । संसदमा डेमोक्रेटिक नेता चक शुमरले पत्रकारहरुसँग भने, हामीले राष्ट्रपतिलाई सरकारी कामकाज सुरु गर्न भन्यौं, तर उहाँले विरोध गर्नुभयो ।'
शुमरले ट्रम्पको भनाइ उद्धृत गर्दै भने, ‘उहाँले लामो समयसम्म सरकारी काम बन्द राख्ने बताउनुभयो । महिनौं वा वर्षौंसम्म पनि ।'