वीरगन्ज
सुरुदेखि नै साह्रै पेचिलो बनेको पर्सा ३ को प्रतिनिधि सभा सदस्य तर्फको निर्वाचनमा अन्तिमा नेकपा एमालेका राजकुमार गुप्ता विजयी भएका छन् । उनी नेपाली काँग्रेसका सुरेन्द्र प्रसाद चौधरीलाई साह्रै झिनो मतले पछि पार्दै विजयी भएका हुन् । उनले कांग्रेसका
चौधरीकोभन्दा १ सय ५१ मत मात्र बढि ल्याए । गणना गर्न थालेदेखि नै एक–डेड सयको मात्र अन्तरमा कहिले चौधरी अगाडी त कहिले गुप्ता अगाडी हुदै अन्ततः गुप्ता नै विजयी भए । पर्साका अरु क्षेत्रका प्रतिष्पर्धीभन्दा जनताको एक–एक मतको नजिकबाट महत्व थाहा पाएका गुप्ता र चौधरीमा २०÷२० हजार मत ल्याइ सकेपछि झन अत्यन्तै झिनो मत अन्तरले कहिले को पछाडी त कहिले को अगाडी हुँदै अन्तिममा गुप्ताले २४ हजार २ सय ६० मत ल्याएर रोकिए । उनको यतिमा रोकिएपछि भने काँग्रेसका चौधरीको पनि २४ हजार १ सय ९ मतभन्दा बढ्न नसकेपछि एमाले जसपाका साझा उमेद्वार गुप्ता दोस्रो पटक सांसद बनेका हुन् । उनी २०६४ को निर्वाचनमा निर्वाचित भई संविधान सभा सदस्य पनि भएका थिए ।
यता स्थानीय तहको निर्वाचनमा एमालेले ५ वटा पालिकाको नेतृत्व जिते पनि यो पटकको निर्वाचनमा विजयी हुने प्रदेश र केन्द्रका लागि गुप्ता नै एक्ला वृहस्पति जस्ता बने । दुवै तर्फ गरी १२ सिट रहेको पर्सामा गुप्ता बाहेक अरु सबै सिट अन्य राजनीतिक दलको पोल्टामा परिसकेको छ । गुप्ताले भने पर्सामा एमालेका लागि जितको खाता खोली दिएर र आफू पनि विजयी बने ।
पर्सा २ मा काँग्रेसका चौरसिया विजयी
यता पर्साको क्षेत्र नम्बर २ को पनि प्रत्यक्ष तर्फको मत गणना सकिएको छ । प्रत्यक्ष तर्फ प्रदेश र प्रतिनिधि सभा सदस्यको सबैभन्दा अन्तिममा सकिएको मत गणनामा पर्साको क्षेत्र नम्बर २ बाट नेपाली काँग्रेसका अजय कुमार चौरसिया विजयी भएका छन् । उनले एमाले जसपाका सामmा उमेद्वार सुरन्द्र प्रसाद कुर्मीभन्दा ६ हजार १६ मत बढी ल्याई विजयी भएका हुन् । चौरसियाले कुल २८ हजार ४ सय ५१ मत प्राप्त गरेका छन् । उनका निकटतम प्रतिद्वन्दी जसपाका कुर्मीले २२ हजार ४ सय ४५ मत मात्र ल्याएको पर्साको क्षेत्र नम्बर २ का निर्वाचन अधिकृत सुशिल देवकोटाले बताए । तेस्रो पोजिसनमा भने राप्रपाले २ हजार ७ सय ४० मत ल्याई पच्छ्याएको उनको भनाइ छ ।
पर्साको यो परिणाम सहित प्रत्यक्ष तर्फको प्रतिनिधि सभा र प्रदेश तर्फको सबै मत गणना सकिएको छ । प्राप्त नतिजा अनुसार पर्साको क्षेत्र नम्बर १ मा जसपाका प्रदिप यादव, २ मा काँग्रेसका अजय कुमार चौरसिया, ३ मा एमालेका राजकुमार गुप्ता र क्षेत्र नम्बर ४ मा पनि नेपाली काँग्रेसका रमेश रिजाल विजयी भएका छन् ।
प्रदेशमा को को भए विजयी
प्रदेश सभा सदस्य तर्फ भने पर्साका ८ सिट मध्ये ३ सिटमा काँग्रेस, २ सिटमा जसपा, अरु १÷१ सिटमा लोसपा, माओवादी र स्वतन्त्र उमेद्वारले आफ्नो स्थान पक्का गरे । एमालेले भने प्रदेश सभा तर्फ खाता खोल्न सकेन ।
प्रदेश सभा तर्फ निर्वाचित हुनेहरुमा पर्साको १ को १ र २ मा माओवादीका रहबर अंसारी र जसपा उपाध्यक्ष समेत रहेका मधेश प्रदेशका मुख्यमन्त्री लालबाबु राउत गद्दी, २ को १ र २ मा काँग्रेसका श्याम पटेल र रमेश प्रसाद कुर्मी निर्वाचित भएका छन् । त्यसै गरी ३ को १ र २ मा पनि क्रमशः स्वतन्त्रका प्रमोद जयसवाल र नेपाली काँग्रेसका जिल्ला सभापति जनार्दन सिंह क्षेत्री निर्वाचित भए । पर्सा ४ को १ र २ मा पनि नेपाली काँग्रेसका शंकर चौधरी र जसपाका शिंहासन सा कलवार निर्वाचित भएका छन् । उनीहरु दुवै जना दोस्रो पटक प्रदेश सभामा दोहो¥याउने सभाषद पनि हुन् । त्यसो त चौधरी र गद्दी पनि प्रदेश सभाका लागि पुरानै अनुहार हुन् ।