निर्वाचन भन्ने साथ आम मतदाताको सही सदुपयोगको प्रतिफल भन्ने सामान्य अर्थमा बुझ्न गाह्रो छैन । तथापि यो बर्ष नेपालमा भएको प्रतिनिधि सभा र प्रदेश सभा सदस्यको आम निर्वाचनमा नेपालका सबै मतदाताले आफ्नो मत प्रकट नगरेको पाइएको छ । हुन त विगतका निर्वाचनमा पनि शत प्रतिशत मत प्रकट भएको त थिएन । तथापि यो पटक त्यसको तुलनामा झन प्रतिशतमा गिरावट आएको हो ।
गएको निर्वाचनमा कुल ६१ प्रतिशत जति मात्र मत खसेको निर्वाचन आयोग नेपालले सार्वजनिक गरेको तथ्याँकमा उल्लेख गरिएको छ । यो तथ्याँकले नेपालका राजनीतिक दल र नेताहरु प्रतिको कार्यशैली प्रति जनताको वितृष्णा जागेको सहजै अनुमान लगाउन सकिन्छ । विगतका निर्वाचनको तुलनामा यो पटक ६० प्रतिशत पनि मत खसेको तथ्याँक बाहिरिदैन कि भन्ने बुद्धिजिबीहरुले मतदानको अनुगमनका क्रममा आशंका गरेका थिए । त्यो आशंका दूर भए पनि जनमत प्रकट घट्दै जानुमा राम्रो संकेत मानिन्न ।
आदिवासी जनजाती आयोग नेपालका अध्यक्ष रामबहादुर थापा मगरले पनि राजनीतिक दलहरुले राम्रो व्यवस्था सहित स्तरीय कार्यसम्पादन गर्न नसकेकोले यस्तो भएको आरोप लगाए । विगतमा नेकपा एमाले र माओवादीको बहुमतको सरकारले साढे ३ वर्ष र अहिले नेपाली कांग्रेसको नेतृत्वको डेढ वर्षे सत्ता संचालनमा उल्लेखनीय कुनै काम नगरेको उनको टिप्पणी छ । जनतामा राजनीतिक अवस्था र दलका प्रतिनिधीहरु संग वितृष्णा उत्पन्न भएको उनको भनाइ छ । देशको राजनीतिक अवस्था सुधार्नु पर्छ भन्ने सचेत बुद्धिजिवीहरुले स्वतन्त्र उमेद्वारलाई अग्रसर गराएर नेपालका दल र नेताहरुलाई खबरदारी गर्नु परेको कारण पनि राजनीतिमा वितृष्णा नजागोस् भन्ने नै हो उनले भने । शासन पद्दति सही नहुनु, बुद्धिजिबी वर्ग संसदीय पदमा नहुनु, पैसावालाको मात्र राजनीतिमा बोलवाला हुँदै जानु निर्वाचनमा मतदातामा वितृष्णा जाग्ने कारण भएको उनको तर्क छ ।
राष्ट्रिय मानव अधिकार आयोग नेपालका सदस्य लिली थापा पनि यस पटकको निर्वाचनमा मत कम खस्ने ३ वटा कारण बताउँछिन् । खेती किसानको सिजन, पुरानो जनप्रतिनिधीहरु नै पटक–पटक दोहोरिने र जुनै उम्मेदवारलाई जिताए पनि फर्केर आफ्नो क्षेत्रमा नआउने जस्ता कारण मतदानमा नैराश्यता जागेको उनको तर्क छ । राष्ट्रिय समावेशी आयोग नेपालका सदस्य विष्णुमाया ओझा पनि जनतालाई नजिकबाट छुने सरकार नभएर टाढाको सरकारको अनुभूति गरी रोजगारीका लागि घर बाहिर गएका मानिस नआएको कारण पनि कम खेसेको जनतास्तरबाट पाएको तर्क सुनाउँछन् । मतदान केन्द्रमा मतदान गर्न आउने मतदाताहरु पनि खासै उत्साहित नदेखेको उनले बताए । निर्वाचन केन्द्रहरु शान्तिपूर्ण चाही थिए उनले भने ।
पूर्व झापा मोरङ्ग र सिन्धुली लगायत मधेशका ८ जिल्ला सहित १५ जिल्लाको अवलोकन गरेका मानव अधिकारकर्मी सुशील प्याकुरेल पनि जुनै जोगी आए पनि जनताका लागि कानै चिरेको भने जस्तो भएकोले निर्वाचनलाई खासै महत्व नदिएको जनताको आभाष व्यक्त गर्छन् । जसले जिते पनि केही नगर्ने हुदाँ जनतामा नैराश्यता उत्पन्न भएको देखें उनले भने । निर्वाचनको दिन मैले दोलखाको मतदान केन्द्रहरुमा अवलोकन गरे ं। त्यहाँको अवस्था हेदाँ यो पटक मतहरु घट्ने अनुमान गरेको थिए । आखिर परिणाम पनि त्यस्तै देखियो ।
जनताले अब वैकल्पिक राजनीतिक कार्यशैली खोजेका छन् उनले भने । जनताले मतदान प्रक्रियामा गरेको प्रतिकार निरासा होइन आक्रोश हो उनले थपे । यो पटक नयाँ पार्टीहरुमा नयाँ युवा अनुहार त आए । जनता झिनो आशा पनि युवा उम्मेदवारले जगाए । यो राजनीतिक दल नेताहरुलाई च्यालेन्ज होइन खबरदारी हो उनले तर्क गरे । निर्वाचनमा राजनीतिक दल र नेता जनतासँग अनुमोदन हुन जाने हो । तर स्वार्थ प्राप्तिका लागि दलहरूले गठबन्धन गरेर जनतामा जाँदा पनि नैराश्यता पैदा भएको उनको निचोड छ ।
ठाकुरराम बहुमुखी क्याम्पस, वीरगंजकी उप–प्राध्यापक उमा मिश्रा पनि राजनीतिक दलहरुले राम्रो काम गर्न नसकेको र उम्मेदवारहरुको छवि पनि राम्रो नभएको कारण मतदाता कम सहभागी भएको तर्क गर्छिन् । पटक पटक पुराना नेताहरु नै उमेद्वार बनेका र राम्रो काम गर्न नसकेका उदाहरण नै मतदाता निराश हुने कारण रहेको उनको पनि ठम्याई छ । सक्षम नागरिकहरले भोट दिन चाहेनन् । नयाँ अनुहारहरु कम आएको र गठबन्धनको स्वार्थी दाउ बुझेर पार्टीको सिद्धान्त छान्न नपाएपछि मतदातामा जाँगर नचलेको उनको विष्लेषण छ । अर्को निर्वाचन आयोगको आचार संहिता फितलो हुँदा उहि गरिब, अशिक्षित मतदातालाई पैसा र मासु भातको प्रलोभनले पनि बुझ्ने मतदाता निर्वाचनमा सहभागी हुन अनिच्छुक भएको उनको तर्क छ । निर्वाचन आयोगले निर्वाचन अगाडी रातभर कर्फु लगाएर सुरक्षा कडा गर्ने हो भने केही हदसम्म पैसाको चलखेल पनि कम हुने उनको सुझाव छ ।
उता राजनीतिक विश्लेषक तथा पत्रकार चन्द्रकिशोर झा पनि अहिले गठबन्धनको कारणले पनि जनतामा चुनाव प्रति उदासिनता आएको तर्क गर्छन् । अर्को स्थानीय तहमा जस्तो बढि उमेद्वार नहुँदा पनि आफ्ना मान्छे जिताउन नपरेपछि अलि मतदाता निश्कृय बनेको उनको भनाइ छ । अर्को नेताहरुले अरु समयमा काम नगर्ने र निर्वाचनका समयमा मात्र मतदातालाई प्रभावित पार्न मासु, दारुमा पल्काउने र पैसामा भोट किन्ने प्रणाली अहिलेको निर्वाचनमा देखिने गरी कम भएकोले पनि मतदातामा वितृष्णा जागेको हुन सक्छ । अब नागरिक समाज र संचार क्षेत्रको भूमिका अझ बढेको छ, पैसावालाहरुको राजनीतिक चहल पहल निश्तेज पार्ने र मतदातालाई भोटको बाकससम्म पु¥याउने कार्यका लागि । अनि राजनीतिकमा स्वच्छ छवि भएका र बुद्धीजिबीहरुलाई राजनीतिमा सकृय गराउन ।
राष्ट्रिय निर्वाचन पर्यवेक्षक समिति (नियोक), पर्साका अध्यक्ष कमलमोहन पोखरेल राजनीतिक दल र उनीहरुको गतिविधिले जनताहरु निराश भएको तर्क गर्छन् । पार्टीहरु बीच गठबन्धनको प्रभावले गर्दा उम्मेदवार कम भए । पहाडी क्षेत्रमा चिसो मौसम बढेको र तराईमा कृषिकर्ममा जनताहरु बढी व्यस्त भएको कारण जनतामा निर्वाचन प्रति आकर्षण देखिएन उनले भने । नेताहरु प्रति वितृष्णा उत्पन्न हुनु संघीय पद्धति प्रति विश्वास कम भएको अध्यक्ष पोख्रेलको पनि ठम्याइ छ । जितेर गए पनि विकास प्रक्रिया र नागरिकका हितमा दल र नेताको चासो कम भई आसेपासेमा रमाउँदा निर्वाचनमा मतदाताले पनि उनीहरुलाई उपेक्षा गरेको कारण मत प्रकटको प्रतिशत गिरेको उनले तर्क गरे ।
इन्सेकका मधेश प्रदेश संयोजक राजु पासवान पनि स्थानीय निर्वाचनमा जनतामा जुन उत्साह थियो प्रतिनिधी सभा र प्रदेश सभाको निर्वाचनमा त्यो नदेखिएको बताउँछन् । निर्वाचन केन्द्रमा मात्र होइन्, निर्वाचनभन्दा पहिले पनि घर गाउँमा पनि खासै चहल पहल देखिएन । सो समयमा किसानको कामको बेला किन चुनाव राखेको ? भन्ने प्रतिकृया मतदाताबाट मिलेको उनले बताए । अर्को कारण भने राजनीतिक दल र नेताहरुको कार्यशैलीमा जनताको कडा गुनासो रहेको पाइनु मतदानमा असर गरेको उनको पनि तर्क छ । यता नेपाल पत्रकार महासंघका केन्द्रिय सचिव दिपेन्द्र चौहान पनि स्थानीय निर्वाचनमा जस्तो प्रायः जसो उमेद्वारले आफूलाई जिताउनमा सबै सर्वसाधारणलाई सक्रिय बनाए जस्तो नभएको उनको तर्क छ । यो निर्वाचनमा मुख्य गरी पार्टीहरुको गठबन्धन र राजनीतिक दल र नेता प्रति जनताको असन्तुष्टि प्रकट भएको पनि उनको तर्क छ ।
अधिकांश मानिसहरु जिविकोपार्जनको सिलसिलामा घर र मुलूक बाहिर रहेको अवस्थामा उही अनुहारका उमेद्वारहरुले मतदाताको मन जित्न नसक्दा मत प्रकटको तथ्याँकमा पनि कमी आएको सचिव चौहानले बताए । इन्सेक केन्द्रिय कार्यालयका प्रमुख कृष्ण गौतम पनि स्थानीय तहको निर्वाचनमा जस्तो उम्मेद्वारहरु पनि आफूले चिनेको नभएर पनि आम मतदाताको सहभागीता पातलिएको तर्क गर्छन् । प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनमा आफुले चिनजान भएको उम्मेद्वार नभई टाढाको उम्मेद्वार हुँदा पनि मतदान गर्नेको कम मत प्रकट भएको उनको निष्कर्ष छ । दोस्रो दलहरुले सत्ताको लागि गठबन्धन गरेरै जनतामा जानु पनि भूल भएको उनले बताए । बर्षौं एउटा पार्टीमा रहेको व्यक्तिलाई प्रतिष्पर्धी दलको चुनाव चिन्हमा भोट हाल्न माथिबाट दलको उर्दी आउँदा पनि परिणाम कम प्रतिशतको मतदानमा व्यक्ति भएको उनको भनाइ छ ।