विशाल मेमोरियल स्मृतिको आयोजनामा वीरगंजमा दोस्रो विशाल गोल्डकप सुरु भएको छ । डेढ दशकदेखि आयोजना हुनै छाडेको राष्ट्रियस्तरका प्रतियोगिता गतवर्षदेखि वीरगन्जमा सुरु भएको हो । यो बर्ष पनि त्यसैको निरन्तरता स्वरुप वीरगंजको जीर्ण नारायणी रंगशालामा दोस्रो विशाल गोल्डकप प्रतियोगिता सुरु भएको छ ।
पहिलो खेलमा वीरगंज ११ ले ४–१ गोलको फराकिलो अन्तरले भारतको कोलकत्तालाई पराजित गरेको छ । खेल प्रदर्शन राम्रो सुरुवात गरेको वीरगंज ११ ले खेलको ९० औँ मिनेटसम्ममा पनि गोल गर्न सकेन । अन्ततः जितका लागि दुवै टिमले ट्राइव्रेकर (प्यानल्टी ) को सहारा लिनुप¥यो ।
नेपाल र भारतका ८ वटा टिम सहभागी दोस्रो विशाल गोल्डकप प्रतियोगिताको यो वर्षको पहिलो खेलमा वीरगंजका खेलाडीले प्यानल्टीका सबै प्रहारलाई गोलमा परिणत गरेका थिए । तर कोलकत्ता साउथर्नका खेलाडीको भने २ गोल वीरगंज ११ का गोलकिपर दिपेश यादवले रोकिदिएपछि कोलकत्ता १ – ४ को अन्तरले पछि परेको हो ।
वीरगंजका तर्फबाट जर्सिनम्बर ११ का खेल क्याप्टेन कृष्ण शाक्य सहित क्रमश जर्सि नम्बर ४, १२ र १४ का खेलाडीले गोल गरेका थिए । यसैगरी कोलकत्ताको टिमका तर्फबाट जर्सी नम्बर १४ का खेलाडीले गोल गरे पनि जर्सि नम्बर १० र २६ का खेलाडीको प्रहारले जाली छुन सकेन ।
गतवर्षदेखि सञ्चालनमा आएको प्रतियोगिताको पूर्वसांसद अनिल रुगंटाले उद्घाटन गरेका थिए । प्रतियोगितामा आयोजक वीरगंज ११ र ए डिभिजनका पाँच टिम र भारतको दुईवटा टिम सहभागी भएको आयोजकले जनाएको छ । प्रतियोगितामा प्रथम हुने टिमलाई पाँच लाख ५५ हजार ५ सय ५५ रुपैयाँ सहित शिल्ड तथा उपविजेतालाई २ लाख ७७ हजार ७ सय ७७ रुपैयाँ तथा शिल्ड सहित प्रदान गरीने आयोजक संस्थाका अध्यक्ष अनिल कुमार कलवारले जानकारी दिए ।
आइतबारको खेल काठमाडौंको एपीएफ र हिमालय शेर्पाका बीच हुने आयोजकले जनाएको छ ।
प्रतियोगिताको उद्घाटनमा वीरगंज महानगरपालिकाका मेयर विजय सरावगी, नेकपाका नेता बसुरुद्दिन अंसारी, क्षेत्रिय खेलकुद विकास समितिका अध्यक्ष मानदेव हजरा, नेपाल पत्रकार महासंघ प्रदेश नम्बर २ का अध्यक्ष दिपेन्द्र चौहान, उपाध्यक्ष केसी लामिछाने, पर्सा शाखाका अध्यक्ष श्याम बन्जारा, जिल्ला खेलकुद विकास समितिका अध्यक्ष निशान्त लामिछाने लगायतको उपस्थिति रहेको थियो ।