वीरगंज म.न.पा.–११ श्रीपुर घर भएकी रेशमा महतो पेशाले कर्मचारी हुन् । विगत ३ वर्षदेखि वीरगंज महानगरमा छैठौं तहको अधिकृतका रुपमा उनी कार्यरत छन् । अहिले महतो महानगरको वडा नं.–६ मा कार्यरत छन् । प्रल्हाद महत्तो र ज्ञानी देवीका सातौं सन्तानका रुपमा जन्मिएकी महतोका दुई दाजु र छ दिदी बहिनी छन् । माध्यमिक तहसम्मको शिक्षा सरकारी विद्यालयबाट नै पास गरेकी हुन् । वीरगंजको वीरगंज पब्लिक कलेजबाट स्नात्तक र काठमाण्डौंको ल क्याम्पसबाट कानूनी विषयमा पनि स्नात्तक गरेकी उनले ठाकुर राम बहुमुखी क्याम्पसबाट एम.वि.एस चौथो सेमिस्टारमा अध्ययनरत छन् । वीरगंज म.न.पा –११ घर भएका (अधिवक्ता) निरज कुमार गुप्तासंग २०७८ मंसिरमा उनी वैवाहिक बन्धनमा बाधिएकी हुन् । मधेशकी छोरी भएर पनि विभिन्न वाधा अवरोध पार गर्दै छैठौं अधिकृत पदमा रहेर देश र जनताको सेवा गर्दै आएकी रेशमा महत्तोसंग मध्य नेपाल सन्देशले गरेको कुराकानीः
१. मधेशलाई विभेद गरिन्छ भन्ने हल्लाका बीच लोकसेवाको तयारी गर्ने प्रेरणा कसरी जाग्यो ?
मेरो साथी र म दुुई जना एमबीए पढ्नका लागि काठमाण्डांै गएका थियौं । इन्ट्रान्समा नाम निकालेर पढ्नका लागि होस्टल बाहेक साढे ६ लाख लाग्ने थियो । एड्मिसन पनि गरेको थिए, तर एकमुुष्ट रकम बुुझाउनुु पर्ने थियो । निम्स इन्सटिच्यूटमा अरु विद्यार्थीहरु पढ्न गएका देखेर हामीलाई पनि लोक सेवा तयारी कक्षामा कस्तो पढाई हुन्छ भन्ने उत्सुुकता लागेर लोकसेवाको कक्षामा पढ्न गयौं । पछि त्यहाँ पढ्दा पढ्दै लोकसेवा गर्न पनि साह्रै कठिन छैन भन्ने लागेर तयारी गरियो । अन्ततः पार लगाउन सकियो ।
२.लोक सेवाको तयारी गर्नका लागि कत्तिको कठिन भयो ?
लोक सेवाको तयारी गर्न वीरगंज छाडेर काठमाण्डौ बस्नु पर्ने थियो । विवाह नगरेको छोरी घर बाहिर बस्दा मधेशी समुदायमा धेरै नै चियोचर्चा गर्ने, कुरा काट्ने हुन्थ्यो । परिवारका सदस्य छाडेर बाहिर बस्दाँ नराम्रो लाग्थ्यो । तर पनि परिवारका सबै सदस्यहरुको सकारात्मक सहयोग साथले सफलता प्राप्त भयो । गलत कार्य नगर्ने कुरामा परिवारको सहयोग चाहिन्छ । दिदीहरुको पनि इच्छा थियो कि म पढेर लोकसेवामा नाम निकालेर सरकारी जागिरमा काम गरेको हेर्ने । जस्तो सुकै कठिनाइ आए पनि पार गर्दै लोकसेवा पास गर्ने इच्छाले सफलता हात प¥यो ।
३. शाखा अधिकृत भएर वडामा आउँदा कस्तो महसुश भयो ?
लोकसेवा पास गरी वीरगंज म.न.पा को ६ नं.वडामा आउँदा काम गर्ने सहायक अधिकृतहरु म भन्दा ठूला थिए । हतार–हतारमा कार्य संचालन सम्बन्धी १ हप्ता तालिम लिएर आएको थिए । वडामा लेखा, जिन्सीदेखि स्थानीय पञ्जिकाधिकारीको काम र वडाको मिटिङ्ग पनि संचालन गर्नुपर्छ । वडाका सम्पूर्ण काम गराउन वडा सचिवले नै निर्देशन दिनुपर्छ । उमेरमा सानो भएर आफुभन्दा ठूलो मानिसलाई काम गर्न निर्देशन दिनमा अप्ठ्यारो लाग्थ्यो । तर पनि सहज तरिकाले बोलेर काम गराए । आफूभन्दा ठूला कर्मचारीसंग समन्वय गर्न डर लाग्थ्यो । काम गर्दा नजानेको विषय आफुभन्दा तत्लो तहका कर्मचारीसंग बुझेर गर्ने गरेको थिए । ३, ४ महिना काम गर्न गाह्रो भएको थियो । तर अहिले काम गर्न धेरै सहज भएको छ ।
४.अधिकृत पुरुष बसेको कुर्सीमा महिला अधिकृत भएर काम गदाँ के फरक पाउनु भयो ?
म अधिकृत भएर वीरगंज महानगरपालिकामा आएको हो । महानगरले मलाइ वडा नं.६ को शाखा अधिकृतको रुपमा यहाँ पठाएको हो । पुरुष बस्ने कुर्सीमा महिला बसेर काम गर्दा धेरै नै फरक पाए । पुरुष कर्मचारीलाई सर भनेर सम्वोधन गर्छन् । तर त्यही कुर्सीमा महिला कर्मचारी बस्दाँ दिदी, बहिनी भनेर सम्वोधन गर्छन् । तर म आएपछि विस्तार परिवर्तन भएको छ । अब मलाई पनि बहिनी हैन म्याम भनेर सम्वोधन गर्ने गरेका छन् ।
५. महिला कर्मचारी हुदाँ महिला सेवाग्राहीहरु चाही कतिको आउने गरेका छन् ?
पहिला म आएको समयमा वडामा काम लिएर पुरुषहरु मात्र आउँथे । महिलाहरु आएका थिएनन् । वडाका महिलाको लागि कुनै बजेट छुट्याएको थिएन् । म वडामा शाखा अधिकृत भएर आएपछि हरेक वर्षको बजेट विनियोजनमा महिलाहरुको सीपमूलक तालिम र कार्यक्रमका लागि रकम छुट्याएको छ । अहिले आफ्नो समस्या लिएर वडामा महिला दिदी बहिनीहरु पनि आउने गर्नु हुन्छ ।
६. अन्त्यमा मधेशका महिला दिदी बहिनीहरुलाई थप के सुझाव दिन चाहनु हुन्छ ?
समाजमा सकारात्मक, नकारात्मक दुबै सोच भएका मानिसहरु हुन्छन् । कतिपय मानिस काम गर्दा हौसल्ला दिन्छन् । कतिपय मानिसले भने मनै दुख्ने गरी नराम्रा कुरा गर्छन् । अन्य प्रदेशमाभन्दा मधेश प्रदेशमा महिलाहरु धेरै नै पछाडी छन् । मधेशका सबै महिला दिदी बहिनीहरु पनि पुरुष सरह काम गर्न सक्छन् । कसैको कुरा नसुनी राम्रोसंग आफ्नो लक्ष्यमा केन्द्रित भएर अगाडी बढ्ने गर्नु पर्छ । लोकसेवामा नाम निकाल्न मन छ भने राम्रोसंग लोकसेवा कक्षाको तयारी गरेर पढ्नु पर्छ । यसमा कसैले पछि पार्न सक्दैन । बाहिरी हल्ला जस्तो हुँदैन मेहनत गरे अवश्य फल पाइन्छ । जो महिला पढे पनि घरमा बसेका छन् । जसलाई अफिसमा काम गर्ने इच्छा छैन । घरमा नै बसेर विभिन्न अनलाइनबाट व्यपार पनि गर्न सकिन्छ । विभिन्न तालिमहरु लिएर हस्तकलाका कामहरु गर्न पनि सकिन्छ । पहिले र अहिले धेरै फरक छ । पहिला बाहिर बसेर पढ्ने अवसर कमै मात्र हुन्थ्यो । तर अब त्यस्तो अवस्था छैन । आफूले लक्ष्य राखेर काम गरे त्यो फल पाउन गाह्रो छैन ।