नोभेम्बर २५ तारिखलाई महिलामाथि हुने हिंसाविरुद्ध अन्तर्राष्ट्रिय दिवसको रूपमा मनाइँदै आएको छ । तर, अन्य विभिन्न अन्तर्राष्ट्रिय दिवसहरू जस्तै यो दिवसलाई एक एक दिनमा सीमित नगरी १६ दिनसम्म विभिन्न अभियानका साथ मनाइने गरेको छ । ‘१६ दिने अभियान’का रूपमा परिचित यो दिवसको अवसर पारेर विश्वव्यापी रूपमै विभिन्न कार्यक्रमहरूको अयाोजना गर्ने गरिएको छ । यो दिवसको सुरुवात ल्याटिन अमेरिकाबाट गरिएको थियो । सन् १९८१ को नोभेम्बर २५ तारिखका दिन ल्याटिन अमेरिकामा यो दिवस मनाउँदा निकै अनौठो मानिएको थियो । त्यही दिवसको सुरुआतपछि ल्याटिन अमेरिकी महिलाहरू कस्ता–कस्ता हिंसाबाट पीडित भएका छन् भन्ने कुराको पहिचान पनि भएको थियो । त्यतिबेला महिलामाथि हुने घरेलु हिंसादेखि लिएर राजनीतिक बन्दी र राजनीतिक हिंसासम्मले बहसको स्थान पाएको थियो ।
नोभेम्बर २५ लाई महिलामाथि हुने हिंसाविरुद्धको दिवसको रूपमा मनाउनुका पछाडि यसको छुट्टै इतिहास छ । यो दिवसको सन्दर्भ डोमिनिकन गणतन्त्रका एकै परिवारका तीन दिदीबहिनीको हत्यासँग जोडिएको छ । मिरावल परिवारमा जन्मिएका यी तीन दिदीबहिनी राजनीतिक कार्यकर्ता थिए र, तत्कालीन त्रुजिलो तानाशाही सरकारले सन् १९६० मा उनीहरूको निर्मम हत्या गरेको थियो । जसलाई लिङ्गको आधारमा हुने राजनीतिक हिंसाको प्रतिरूप मानिन्छ । पेट्रिया, मिनर्भा र मारिया नाम गरेका यी तीन दिदीबहिनीहरू इनरिक रिमवल र मारिया मार्सिडिज रेजको सन्तानका रूपमा डोमेनिका गणतन्त्रको सिवास भन्ने ठाउँमा जन्मिएका थिए । सन् १९२४ मा पेट्रिया, १९२७ मा मिनर्भा र १९३५ मा मारियाको जन्म भएको थियो ।
यी तीनै जना दिदीबहिनीहरू आफ्नो मुलुकमा शिक्षित र सचेत महिलाका रूपमा परिचित थिए । विद्रोही स्वभावका यी दिदीबहिनीहरू तत्कालीन त्रुजिलो तानाशाहीको विरुद्धमा थिए । यी तीनैजना विवाहित थिए । राजनीतिक विद्रोहकै क्रममा आफूजस्तै विद्रोही राजनीतिक व्यक्तिहरूसँग यिनीहरूको विवाह भएको थियो । तर, आफ्ना पतिहरूभन्दा यिनीहरू बढी चर्चित थिए । तत्कालीन सरकारले ती तीन दिदीबहिनी र तिनका सबै परिवारलाई राज्यद्रोहको आरोप लगाएको थियो ।
उनीहरू पटकपटक जेल गएका थिए । मिनर्भा चारपटकसम्म जेल परेकी थिइन् । जेलमा दिइने चरम यातनाका बाबजुद यी दिदीबहिनीहरूले तानाशाही सरकारको विरोध गर्न छोडेका थिएनन् । संसारले महिलामाथि हुने हिंसा विरुद्धको १६ दिने अभियान मनाइरहँंदा कहिले सामुहिक बलात्कार, कहिले घरेलु हिंसा त कहिले ज्यान मार्नेसम्मका घटना सार्वजनिक भइरहेका छन् । त्यसो त महिलामाथि कुनै न कुनै हिंसाका घटना सार्वजनिक नभएको सायदै कुनै दिन हुन्छ होला । नत्र दिनमा कति घटना सार्वजनिक हुन्छन् भन्ने हो ।
प्रहरीले सार्वजनिक गरेको रिपोर्ट अनुसार सरदर हरेक दिन तीन जनाभन्दा बढी महिला बलात्कृत भएको उजुरी नेपाल प्रहरीमा पर्ने गरेको छ । त्यसैगरी छोरी जन्माएको भनेर घरबाट निकाल्ने, जबर्जस्ती विवाह गराउने, भुणको लिङ्ग पहिचान गरेर गर्भपतन गर्ने जस्ता व्यवहारलाई हाम्रो समाजले विस्तारै हिंसाको रूपमा बुझ्न थालेको छ । जसमा समाचार पढ्ने बेलामा ‘ओहो’ भनेर धेरैले बिर्सिदिने गर्छन् । कुनै महिलालाई बोक्सीको आरोप लगाएर अमानवीय व्यवहार गर्ने वा मार्ने, बालिका किशोरी वा वृद्ध महिलालाई बलात्कार गर्ने वा मार्ने, छाउगोठमा कुनै सुत्केरी महिलाको मृत्युजस्ता घटना सार्वजनिक हँदामात्रै आम मानिसले चासो दिएर ‘कत्ति हिंसा बढिरहेको होला’ भनेर चिन्ता जाहेर गर्छौं वा अलि सुनिनेगरी बोल्छौं । तर आम रूपमा महिलामाथि दैनिक हुने हिंसाको घटनामा धेरैलाई चासो रहन्न ।
‘महिलामाथि हुने हिंसा भन्नाले महिलामाथि गरिने विभिन्न किसिमका शारीरिक, यौनिक, मानसिक, सामाजिक एवं हिंसात्मक व्यवहारहरू हुन् । यस्ता व्यवहारभित्र महिलामाथि गरिने कुटपिट, यौन शोषण, दाइजोका कारण गरिने दुव्र्यवहार, वैवाहिक जीवनभित्रको बलात्कार, योनिछेदनका साथै बिभिन्न किसिमका घातक सामाजिक, सांस्कृतिक परम्परा पर्छन्’ भनेको छ । उक्त परिभाषामा सबैको धारणा स्पष्ट भए पनि हिंसाका कारण, प्रभाव, कानुनी अवस्था, महिला हिंसा र लैंगिक सम्बन्ध, हिंसा प्रभावितहरूको सहयोगको लागि भएका संयन्त्रबारे हिंसा न्यूनीकरणकै क्षेत्रमा काम गर्नेहरूमा अलमल देखिन्छ । संयुक्त राष्ट्र«सङ्घले सन. १९९९ मा नोभेम्बर २५ लाई विव्यवव्यापी रूपमै महिला विरुद्धको हिंसाको रूपमा मनाउने निर्णय गर्नुअघि नै विभिन्न मुलुकहरूले नोभेम्बर २५ लाई महिलामाथि हुने हिंसाविरुद्ध दिवसको रूपमा मनाउन सुरु गरिसकेका थिए । यसै क्रममा नेपालमा यो दिवस सन् १९९७ देखि विभिन्न कार्यक्रमहरूको आयोजना गरी मनाउन थालिएको हो ।
सन् १९९७ मा साथी संस्थाले महिला हिंसा विरुद्ध राष्ट्रिय सञ्जाल तथा संयुक्त राष्ट्र«सङ्घीय महिला विकास कोष (युनिफेम) सँगको सहकार्यमा सडक नाटक, पोष्टर तथा कविता प्रतियोगिता र संचार अभियानको आयोजना गरी यो दिवस मनाउन प्रारम्भ गरेको थियो । नेपालमा अहिले विभिन्न «सङ्घ÷संस्था, संयुक्त राष्ट्रसंघीय प्रणाली र नेपाल सरकारसमेतको आयोजनामा व्यापक रूपमा कार्यक्रमहरू गरी अधिराज्यव्यापी रूपमै यो दिवस मनाइदै आएको छ ।
सेतो रिबन अभियान
पुरुषवर्गबाट महिला एवं बालिकाहरू प्रति हुने हिंसाको विरुद्धमा पुरुष र युवाहरूद्वारा आफ्नो व्यक्तिगत रूपमा वा संस्थागत रूपमा गरिने प्रतिवद्धताको अभियान हो । यसको शुरुवात महिला तथा बालिका विरुद्ध भइरहेको हिंसाको बारेमा बोल्ने जिम्मेवारी पुरुषवर्गले लिनुपर्दछ भन्ने विचारबाट सन् १९९१ मा क्यानाडाका केही पुरुषहरूबाट भएको थियो । क्यानाडामा गरिएको कार्यक्रममा लाखौं पुरुषहरूले सेतो रिबन लगाएर आ–आफ्नो प्रतिबद्धता दर्शाएका थिए । सेतो रिबन लगाउनु भनेको पुरुषहरूद्वारा महिला तथा बालिका माथि गरिने हिंसाको विरुद्ध पुरुषवर्गले देखाएका प्रतिबद्धताको संकेत हो । अभियानकै रूपमा अगाडि नबढाएको भए पनि नेपालमा पनि बिगतमा पुरुषहरूले महिला हिंसाविरुद्ध आवाज उठाएका प्रशस्तै उदाहरणहरू छन् ।
यो अभियान देश अनुसार फरक फरक ढंग र समयमा मनाइने भए तापनि हरेक वर्ष ‘लैंगिक हिंसाविरुद्धको सोह्र दिने अभियान’ नोभेम्बर २५ देखि डिसेम्बर १० सम्म अझ विशेष रूपमा मनाउने गरिन्छ । नेपालमा सन् २००६ देखि अन्तर्राष्ट्रिय नारी दिवसको दिन मार्च ८ मा सेतो रिबन अभियान शुरु गरिएको थियो । नेपालको महिला आन्दोलन नै के हो, कस्तो छ भन्ने बारेमा धेरै अलमल छ, नत यो विषयमा प्रोफेसर हुने वा पीएचडी गर्नेले नै गहन अध्ययन गरेका छन्, न महिला आन्दोलनकर्मीले दस्तावेजीकरण नै राम्ररी गरेका छन् ।
वैचारिक रूपमा महिलावादी आन्दोलन वा परियोजनामुखी गरिरहेकामा नै पनि ठूलो अलमल छ । महिलामाथि हुने हिंसा कम नहुनुका पछाडि महिला हिंसा विरुद्धको अभियान हिंसाका जरासम्म पुग्न नसक्नु नै हो । महिलामाथि हुने हिंसाको जरासम्म पुगेर समस्याको समाधान नगरिएसम्म यस्ता अभियान अझै धेरै दशक सञ्चालन गर्नुपर्ने हुन्छ ।