पर्सा जिल्लालाई चैत मसान्त भित्र खुल्ला दिसामुक्त क्षेत्र घोषणा गरिने भएको छ ।
जिल्ला स्तरीय खानेपानी, सरसफाई तथा स्वच्छता समन्वय समिति पर्साले आयोजना गरेको बैठकमा सरोकारवालाहरुले त्यस्तो प्रतिबद्धता जनाएका हुन् । जिल्ला समन्वय समिति पर्साको सभाहलमा बसेको बैठकमा सहभागी जिल्ला स्तरीय सरोकारवाला, पालिका, प्रमुख, उप प्रमुख एवं वडा अध्यक्ष लगायतले जिल्लालाई खुल्ला दिसामुक्त बनाउन कुनै कसर बाँकी नराखी अघि बढ्न प्रतिबद्ध रहेको बताएका छन् ।
पर्सामा जम्मा ९७,४३० घरधुरी रहेकोमा अव जम्मा ५८५८ घरधुरीमा चर्पी निर्माण गर्न बाकी छ । फागुन मसान्त भित्र बाँकी रहेका पालिकामा चर्पी निर्माण प्रयोग गर्न लगाई चैत पहिलो साताभित्र खुल्ला दिसामुक्त क्षेत्र घोषणा गर्र्ने र चैत मसान्त भित्र खुल्ला दिसामुक्त क्षेत्र घोषणा गर्ने निर्णय भएको नेपाल रेडक्रस सोसाईटीका प्रदेश संयोजक फुल महम्मद मियाँले जानकारी दिनुभयो ।
समिक्षा बैठकमा पालिकालाई खुल्ला दिसामुक्त क्षेज्ञ घोषणा गराउन सफल पर्सागढी नगरपालिका, जगरनापुर, सखुवा प्रसौनी लगायत पालिका प्रमुखलाई सम्मान समेत गरिएको थियो । सन २०१५ मा पर्सा जिल्लालाई खुल्ला दिसामुक्त घोषणा गर्ने लक्ष्य राखिएको भएपनि तीन वर्ष वितिसक्दा समेत सफलता पाउन सकेको छैन ।
डिवाससीसीका सल्लाहकार एवं प्रमुख जिल्ला अधिकारी नारायण प्रसाद भट्टराईले रणनीतिक योजना बनाएर काम अघि बढाउनुपर्नेमा जोड दिनुभयो । कार्यक्रममा वीरगञ्ज महानगरपालिकाका नगर प्रमुख विजय कुमार सरावगीले खुल्ला दिसामुक्त नभएसम्म वडामा बजेट जान नदिने र चर्पी नभएका नगरबासीको सबै किसिमका सिफारिस रोक्ने बताउनुभयो । दण्ड जरीवाना नगरी खुल्ला दिसामुक्त क्षेत्र घोषणा अभियान सफल नहुने तर्क उहाँको छ । जिल्ला समन्वय समिति पर्साका सभापति नेक महम्मद अन्सारीको अध्यक्षतामा कार्यक्रम भएको थियो ।