यो पटकको निर्वाचन सम्पन्न भएसँगै मधेस प्रदेशमा प्रदेश सरकारको नेतृत्वका लागि रस्साकस्सी सुरु भएको छ । मधेश प्रदेशमा यो पटक प्रत्यक्षतर्फ सत्ता गठबन्धनले सामान्य बहुमत प्राप्त गरेको छ । यद्यपि, दलगत हिसाबमा नेकपा (एमाले) पहिलो बनेको हो ।
नेपाली कांग्रेस मधेश प्रदेशमा प्रत्यक्ष तर्फ दोस्रो दल बनेको छ । समानुपातिकतर्फ भने कांग्रेस पहिलो र एमाले दोस्रो भएका हुन् । मधेस प्रदेशमा सत्ता गठबन्धनका दलले प्रत्यक्ष र समानुपातिक गरी ४६ सिट जितेका छन् । जसमा नेपाली कांग्रेसले प्रत्यक्षतर्फ १३ र समानुपातिकमा नौ गरी कूल २२ सिट जितेको छ । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)ले प्रत्यक्षमा सात र समानुपातिकमा दुई गरी नौ सिट जितेको छ । त्यसैगरी नेकपा (एकीकृत समाजवादी)ले प्रत्यक्षमा चार र समानुपातिकमा तीन गरी सात सिट जितेको छ । नेकपा माओवादी केन्द्रले प्रत्यक्षमा चार र समानुपातिकमा चार गरी कुल आठ सिट जितेको छ ।
जसमा नेपाली कांग्रेसले प्रत्यक्षतर्फ १३ र समानुपातिकमा नौ गरी कूल २२ सिट जितेको छ । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)ले प्रत्यक्षमा सात र समानुपातिकमा दुई गरी नौ सिट जितेको छ । त्यसैगरी नेकपा (एकीकृत समाजवादी)ले प्रत्यक्षमा चार र समानुपातिकमा तीन गरी सात सिट जितेको छ । नेकपा माओवादी केन्द्रले प्रत्यक्षमा चार र समानुपातिकमा चार गरी कुल आठ सिट जितेको छ ।
त्यसैगरी एमाले र जनता समाजवादी पार्टी (जसपा) गठबन्धनले प्रत्यक्ष र समानुपातिक गरी ३८ सिट जितेको छ । जसमा एमालेले प्रत्यक्षमा १५ र समानुपातिकमा आठ गरी २३ सिट र जसपाले प्रत्यक्षतर्फ नौ र समानुपातिकमा ६ गरी १५ जितेको छ । प्रदेशमा प्रत्यक्षतर्फ ६४ र समानुपातिकतर्फ ४३ गरी १०७ सिट छ । सरकार बनाउन सामान्य बहुमतका लागि कम्तीमा ५४ सिट आवश्यक पर्छ । यसका लागि जनमत पार्टी र स्वतन्त्र उमेदवारलाई समावेश गराउनुपर्ने बाध्यता दुवै गठबन्धनलाई छ ।
पहिलो पटक निर्वाचनमा सहभागी भएको जनमत पार्टीसँग प्रत्यक्षमा ६ र समानुपातिकमा सात गरी १३ सिट सङ्ख्या छ भने प्रदेशमा ६ जना स्वतन्त्र उमेदवार निर्वाचित भएका छन् ।
यसैबीच, राजनीतिक दलहरुबीच को मुख्यमन्त्री हुने भन्नेमा पनि चर्चा सुरु भएको छ । नेकपा (एमाले)का मधेस प्रदेश सहइञ्चार्ज सुमनराज प्याकुरेल पहिलो दलका हिसाबले आफ्नो पार्टीको सरकार बन्नुपर्ने बताउँछन् । एमालेभित्र मुख्यमन्त्रीका लागि डा. सरोज यादव, रामचन्द्र मण्डल, राजकुमार लेखीको नाम चर्चामा छ । त्यस्तै, नेपाली कांग्रेस मधेस प्रदेशका सूचना तथा सञ्चार विभाग प्रमुख नितेशकुमार गुप्ताले मुख्यमन्त्रीका प्रवल दाबेदार प्रदेश सभापति एवं प्रदेशसभा सदस्य कृष्णप्रसाद यादव रहेको बताउँछन् ।
यादवकै नेतृत्वमा सरकार बन्नुपर्ने गुप्ताको दाबी छ । यद्यपि, कांग्रेसभित्र पनि रामसरोज यादव, वीरेन्द्रप्रसाद सिंह मुख्यमन्त्रीका आकांक्षी हुन् । यस्तै, जनता समाजवादी पार्टीबाट सरोजकुमार यादव, राजकुमार गुप्ता, रामअषिस यादवको नाम मुख्यमन्त्रीका रूपमा चर्चामा छ । रासस