सन् २००८ को नोभेम्बर २६ को रात त्यति बेलाका भारतका १० औँ धनी व्यक्ति मुम्बईको ताजमहल होटेलमा रात्रिभोज खाँदै थिए । त्यतिनैबेला बन्दुकधारीहरू एक्कासी भित्र छिरेर जताततै गोली र ग्रिनेड चलाइरहेका थिए । धेरै हतियार बोकेका १० पाकिस्तानी लडाकुहरू त्यो साँझ समुद्रबाट आएर समूहहरूमा बाँडिएका थिए । गाडीहरू कब्जा गरेर दुई उच्च कोटीका होटेलसहित आफ्ना निशानाहरूमा तिनले हमला गरे । ६० घण्टाका लागि कब्जा गरिएको सहरमा १६६ जनाको ज्यान गयो र उक्त घटनाले भारत र पाकिस्तानबीचको सम्बन्ध थप अमिल्यायो । पछि अडानीले इन्डिया टुडे म्यागेजिनमा बोल्दै होटेलका कर्मचारीले खाना खाइरहेकाहरूलाई हतारहतार बेसमेन्टमा केही घण्टाका लागि राखेको र बाहिर रक्तपातपूर्ण अवस्था भइरहँदा आफूहरूलाई माथिल्लो तलाको हलमा सारेको बताएका थिए ।
१०० जना अतिथिहरू रहेको हल भरिभराउ थियो – “कोही सोफामुनि लुकिरहेका थिए, अन्य जीवनका लागि प्रार्थना गर्दै उम्किन खोजिरहेका थिए ।“ अडानी आफू सोफामा बसिरहेको सम्झन्छन् । त्यहाँ फसेका अतिथिहरूलाई आफूले भगवानमा विश्वास राख्न भनेको पनि सम्झन्छन् । उनले त्यहीँबाट ५०० किलोमिटर टाढा पर्ने अहमदावादस्थित पिडामा रहेका परिवारलाई फोन गरे । त्यतिबेला उनका सुरक्षाकर्मी र सवारी चालक भयभित अवस्थामा बाहिर कारमा कुरिरहेका थिए । होटेलको उक्त हलमा एकरात बिताएपछि अडानी र उनीसँगै बन्धक बनेकाहरूलाई भोलिपल्ट बिहान होटेलको पछिल्तिरको द्वारबाट सेनाको घेराबन्दीमा बाहिर निकालिएको थियो । “मैले १५ फिट मात्रैको दूरीमा मृत्यु देखेँ,“ त्यही दिन अबेर आफ्नो निजी विमानमा अहमदावाद फर्किएपछि उनले संवाददाताहरूसँग भने ।
उक्त घटनाको करिब १४ वर्षपछि ६० वर्षीय अडानी विश्वका तेस्रा धनी व्यक्ति बनेका छन्। इलोन मस्क र जेफ बेजोसपछि उनी विश्वमा सबैभन्दा धेरै धनी व्यक्ति हुन् । उनको आधिपत्य बन्दरगाहदेखि ऊर्जासम्मका क्षेत्रमा छ। त्यहाँ उनले २३ हजार कर्मचारीलाई रोजगारी दिएका छन् र उनको व्यवसायको बजार मूल्य २३० अर्ब डलरभन्दा बढी रहेको छ । भारतको सबैभन्दा प्रतिष्ठित समाचार नेटवर्क एनडीटिभी किन्न लागेको भनेर उनी यो साता समाचारहरूमा चर्चाको विषय बने। उनले सञ्चार क्षेत्रमा उठाएको यो पहिलो महत्त्वपूर्ण जोखिम हो । विद्यालयको शिक्षा छोडेर व्यापारमा लागेका उनी धेरै अगाडि नै अर्बपति बनेका थिए र उनमा उच्च जोखिम मोल्नसक्ने उत्कट क्षमता छ । सन् १९९८ को ज्यानुअरीमा, उनी र उनका सहयोगीलाई अहमदावादमा पुरुषहरूको एउटा समूहले बन्दुक देखाएर फिरौतीका लागि कारबाटै अपहरण गरेको बताइएको छ ।
अडानी र उनका सहयोगीलाई अदालतले बयानका लागि पटक पटक बोलाउँदा पनि उनीहरू नगएपछि उक्त अपहरणको अभियोग लागेका दुई पुरुषहरू सन् २०१८ मा रिहा भए।
खासै चर्चामा आउन नचाहने ’लो प्रोफाइल’ का भनेर चिनिने अडानी यस्ता घटनाहरूबारे बोल्दैनन्। तर एक पटक उनले एकजना पत्रकारलाई “मेरो जीवनमा दुई तीन वटा असाध्यै दुर्भाग्यपूर्ण घटनाहरू घटेका छन्” भनेका थिए । १६ वर्षको उमेर हुँदा विद्यालयको शिक्षा छोडेका उनी व्यापारमा हात हाल्न मुम्बई गए। उनी त्यति बेला हिराको व्यापार गर्थे। तर त्यो त्यति लामो समय टिकेन । दुई वर्षपछि उनी गृह राज्य गुजरात फर्किए र आफ्ना भाइले चलाइरहेको उद्योग चलाउन थाले । अडानी गुजरातमा कोइलाबाट चल्ने भारतै निजी ऊर्जा केन्द्रका मालिक हुन् । कपडाको व्यापार गर्ने एक मध्यमवर्गीय परिवारमा जन्मिएका अडानीले सन् १९९८ मा सामानहरू व्यापार गर्ने आफ्नो कम्पनी खोलेपछि पछाडि फर्किएर हेर्नुपरेको छैन । त्यसपछिको २४ वर्षमा उनको ऋणले भरिएका कम्पनीहरूले बन्दरगाहदेखि खानी, रेल्वे, पूर्वाधार, ऊर्जा र घरजग्गा कारोबारसम्म हात हालेका छन् ।
त्यस्तो जोखिम मोल्नुलाई एक टिप्पणीकार व्याख्या गर्दै भन्छन्, “भारतको नयाँ पुस्तको सबैभन्दा आक्रामक व्यवसायी सायद उनी नै हुन् ।“
अहिले अडानी भारतका पूर्वाधारसम्बन्धी सबैभन्दा ठूला व्यवसायी हुन् भन्नेमा दुई मत छैन । उनी भारतको दोस्रो ठूलो सिमेन्ट उद्योग, १३ बन्दरगाह र सात विमानस्थलका सञ्चालक हुन् । उनी अहिले दिल्ली र मुम्बईबिचको देशकै सबैभन्दा लामो द्रुतमार्ग बनाइरहेका छन् । कोइलाबाट चल्ने ६ वटा ऊर्जा केन्द्रसहित अडानी भारतको ऊर्जा क्षेत्रमा सबैभन्दा ठूला निजी व्यवसायी हुन् ।
त्योसँगै उनले हरित हाइड्रोजनमा पनि ५० अर्ब डलर लगानी गर्ने प्रतिबद्धता जनाएका छन् र ८ हजार किलोमिटर लामो प्राकृतिक ग्यास पाइपलाइन सञ्चालन गरेका छन् । उनले इन्डोनेशिया र अस्ट्रेलियामा पनि कोइला खानी किनेका छन् । सन् २०३० सम्ममा नवीकरणीय ऊर्जा उत्पादनमा आफू विश्वकै उच्च व्यक्ति बन्ने उद्देश्य उनले राखेका छन् ।
–बीबीसी नेपालीबाट साभार गरिएको