पर्सामा संचालित प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनामा यहाँका किसानहरु आकर्षित भएका छन् । पर्साका किसानहरुले खेतिलाई पहिलो प्राथमिकता दिई प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना तर्फ आकर्षित भएका हुन् ।
जिल्ला भरीमा यो परियोजना संचालनमा नआए पनि पर्सा पोखरीया, बहुदरमाई, पर्सागढी नगरपालिका लगायत गाउँपालिकामा ९ सय हेक्टर क्षेत्रफलमा यो परियोजना संचालित भएको छ । यो परियोजना अन्तर्गत यहाँका किसानहरुले मौसमी तथा बेमौसमी तरकारी खेती गरिरहेका छन् । उनीहरुले बेमौसमी तरकारी उत्पादन गरि मनग्ये आम्दानी गरिरहेको बताए । सोचेभन्दा बढि उत्पादन हुन थालेपछि एकपछि अर्को गरी हामी तरकारी खेती तर्फ आकर्षित हुँदैछौं उनीहरुले भने ।
यो अभियानमा कृषकहरुको समूह बनाई तरकारी खेती गराइन्दै छ । अहिलेसम्म १ सय १ वटा समूह बनाई पर्साका किसानहरु तरकारी खेती गर्दै आएका छन् । उनीहरुले काउली, बन्दा, मटरकोसा, बकुल्ला, धनिया, प्याज, खुर्सानी, चम्सुर साग, भण्टा, भिण्डी, करेला, लट्टे साग, परवल, मुला, रायो साग, लौका, घिरौला, बोडी, गोलभेडा, फर्सी, काक्रो लगायतका तरकारीहरु उत्पादन गर्दै आएका छन् साविकको जिल्ला कृषि विकास कार्यालय हालको कृषि ज्ञान केन्द्र पर्साले जनाएको छ ।
कृषकहरु यस कार्यक्रममा सहभागी भई पहिला भन्दा चार, पाँच गुना बढि तरकारी उत्पादन गरिरहेका छन् । पुख्र्याैली तरकारी खेती गर्दै आएका किसानहरु पनि केही वर्ष अगाडि तरकारी खेतीबाट सन्यास लिनुपर्ने अवस्था पुगेको बताउँथे । तर यो अभियान संचालन भएसँगै उनीहरु पुनः आफ्नो पुख्र्याैली खेतीतर्फ आकर्षित भएको प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना वीरगन्जका निमित्त बरिष्ठ कृष अधिकृत मुन्नीलाल प्रसादले भने । विगतभन्दा अहिले प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना अन्तर्गत खेती गर्दा कर्मचारीहरुले दिएको परामर्षको आधारमा निकै आम्दानी भएको किसानहरुको पनि भनाइ छ ।
सरकारले कृषि समूह, व्यक्तिगत एवं सामूहिक फार्म, प्रालि र कृषि सहकारी मार्फत किसानलाई विभिन्न उपकरण, औजार, साना सिँचाइ, साना पूर्वाधार विकास लगायत कार्यमा सहयोग गर्दै आएको छ । किसानलाई तालिम समेत प्रदान गरिँदै आएको छ । जिल्लामा संचालित यस परियोजनाले उत्पादन सामग्री, कृषियन्त्र, साना सिँचाइ, प्रविधि र प्राविधिक सहयोग गरिरहेको छ । परियोजना लागू भएपछि टुक्रे खेती गर्ने कृषक व्यावसायिक भएका छन् । परियोजना अन्तर्गत किसानहरुलाई अनुदान स्वरुप दमकल, ट्याक्टर, बोरिड्ड, पिकअप भ्यान उपलब्ध गराइएको छ । यसले पनि किसानहरु अलि हौसिएका छन् भने उनीहरुको उत्पादन पनि बढेको छ । अनि साधान दिएपछि उत्पादकत्व सङ्कलन, भण्डारण र बजारसम्म पु¥याउन पनि सहज पनि भएको अधिकृत प्रसादको भनाइ छ ।
तरकारी खेती तर्फबाट पलायन हुन लागेका किसानहरु यो अभियानबाट आकर्षित भई तरकारी खेती गर्न थालेको उनको तर्क छ । परियोजना अन्तर्गत अनुदान मार्फत उपलब्ध गराईका कृषि यन्त्रबाट पनि कृषकहरु अत्याधिक तरकारी उत्पादन गरी राम्रो आम्दान गर्न थालेका छन् । अरु ठाउँको हकमा यो परियोजना के भएको छ ? भन्ने भन्दा पनि पर्साको हकमा भने प्रधानमन्त्री कृषि परियोजना निकै प्रभावकारी भएको कर्मचारीको दावी छ ।
नेपालको संविधानले खाद्यसम्बन्धी हकलाई मौलिक हकका रुपमा दर्ज गरिसकेकोले आयात प्रतिस्थापनका लागि नेपाली किसान माथि उठ्नै पर्ने स्थानीयको पनि भनाइ छ । यसका लागि नेपाल सरकार र प्रदेश तथा स्थानीय सरकारहरुले किसानमुखी नीति अंगिकार गर्नुपर्छ । तब मात्र प्रत्येकदिन बढ्दो आयातलाई प्रतिस्थान गर्न सकिन्छ उनीहरुले भने ।
दिगो आत्मनिर्भरता एवं व्यावसायिक कृषि क्षेत्रको परिकल्पना सहित कृषि विकासको २० वर्षे रणनीति समेत तयार भइसकेको अवस्थामा बढ्दो आयात र घट्दो निर्यातले चुलिँदै गएको व्यापार घाटाको सन्तुलन पनि कृषि फसलले नै गर्ने र कृषिमा आश्रित नेपालको समग्र अर्थतन्त्र नै सुदृढ हुने कुरा पनि सार्थक हुने नेपाल सरकारको पनि लक्ष्य छ । यसै भएबाट धराशायी बन्दै गएको अवस्थामा सरकारले कृषिमा नयाँ कार्यक्रमको सुरुआत गरेको नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीले भर्खरै पनि दोहो¥याका छन् । देशको युवा शक्तिको बढ्दो विदेश पलायन र श्रमशक्तिको अभावमा खेतीयोग्य भूमि बाँझो हुन नदिन पनि यो परियोजनालाई उच्च प्राथमिकतामा राखेको प्रधानमन्त्री ओलीको भनाइ पनि रहेको छ ।