सामान्यतया स्वस्थ महिलामा प्रत्येक २८ देखि ३५ दिनमा महिनावारी हुने गर्छ । यसमा केही दिन हेरफेर हुन सक्छ । तर, २१ दिनभन्दा अघि वा ३५ दिनपछि महिनावारी हुनु नियमित महिनावारी हो । विभिन्न स्वास्थ्य समस्या वा हर्मोनमा आउने परिवर्तनले यस्तो हुन सक्छ ।
महिनावारीमा आउने गडबडीले प्रजनन स्वास्थ्यमा गम्भीर असर निम्त्याउने जोखिम रहन्छ । यसका विभिन्न कारण छन् । जसमध्ये एउटा मुख्य कारण महिनावारी अघिपछि सार्न जथाभावी प्रयोग गरिने औषधि हो ।
महिनावारी बार्ने कुसंस्कारका कारण कतिपय महिलाले औषधिको प्रयोग गरेर महिनावारी रोक्ने वा सार्ने गरेको पाइन्छ । महिनावारी भएको वेला भान्सा र मन्दिर तथा अन्य मानिसलाई छुन हुँदैन भन्ने गलत मान्यतालाई अझै पनि धेरैले अंगीकार गरेको पाइन्छ । ती महिलाले आफ्नो अनुकूलताअनुसार महिनावारी सार्न औषधिको प्रयोग गर्छन् । जस्तो, कुनै धार्मिक कार्यक्रममा सहभागी हुने तय छ भने त्यस समय महिनावारी नहोस् भनेर उनीहरूले पहिल्यै औषधि खाइदिन्छन् । सामाजिक परिवेशमा घुलमिल हुनका लागि महिलाहरूले जथाभावी औषधिको प्रयोग गर्दा स्वास्थ्यमा दीर्घकालीन असर देखिने गरेको छ ।
रोक्न वा अघिपछि सार्न प्रयोग गरिने औषधिले हर्मोनहरूमा प्रत्यक्ष असर गरिरहेको हुन्छ । बजारमा चिकित्सकको प्रेस्क्रिप्सनविना स्वास्थ्यलाई नै हानि पुर्याउने यस्ता औषधि जथाभावी बिक्रीवितरण हुने गरेको छ । यस्ता औषधिको सेवनले प्रायजसो रगत बढी बग्ने र प्रजनन प्रणालीमा असर पुर्याउने गरेको पाइएको छ ।
महिलाको महिनावारीको अवस्था जाँच नगरी औषधि खाँदा यसको असर लामो समयसम्म देखिन सक्छ । महिनावारीको मेडिकल जाँच गरेर विशेष अवस्थामा ‘नरइथिड्रोन’ नामक औषधिको प्रयोग गर्न चिकित्सकले सल्लाह दिने गर्छन् । यो औषधि अन्य औषधिको तुलनामा कम हानिकारक मानिन्छ । यद्यपि, चिकित्सकको सल्लाहविना यसलाई प्रयोगमा ल्याउनु हुँदैन ।
स्वास्थ्य परीक्षणविना जथाभावी औषधिको प्रयोग गर्दा बढी रगत बगेर नियन्त्रणबाहिर जाने जोखिम उच्च रहन्छ । यसबाहेक अनियमित महिनावारी, बान्ता, सुजन र महिनावारीको समयमा अत्यधिक पेट र कम्मर दुख्ने गर्छ । सामान्यतया कतिपय महिलामा पेट दुखाइ र मुड परिवर्तन उच्च हुन्छ, यस्ता महिलामा जथाभावी औषधिको प्रयोगले अझै धेरै असर पुर्याएको पाइन्छ । नियमित महिनावारीलाई औषधिको प्रयोगबाट रोक्दा यसको सीधा असर प्रजनन प्रणालीमा पर्ने गर्छ ।
महिनावारीको समयमा अरूलाई छुनु वा सामाजिक कार्यमा सहभागी हुनु सामान्य नै हो । महिनावारी कुनै पाप नभई नियमित स्वास्थ्य अवस्था हो भन्ने बुझ्नुपर्छ । जथाभावी औषधिको प्रयोग गरेर स्वास्थ्यमा असर पार्ने काम गर्नुहुँदैन ।