किसानलाई मल उपलब्ध गराउन खोलिएको सहकारी संस्थाको जग्गा बिक्री गरेको भन्दै स्थानीय किसानले आपति जनाएका छन्।
किसानलाई मल उपलब्ध गराउन भनी वीरगञ्ज महानगरपालिका–३१ मा खोलिएको एक सहकारी संस्थाको सञ्चालक समितिले जग्गा नै बिक्री गरेको भन्दै स्थानीय एवं सेयर सदस्यहरुले आपति जनाएका छन्। वीरगञ्ज महानगरपालिका–३१ सोलखपुर टोलमा खोलिएको श्री सहकारी संस्था लिमिटेडको जग्गा सञ्चालक समितिले बेचेपछि स्थानीय किसानले आपति जनाएका छन्।
सञ्चालक समितिले निर्णय गरि संस्था घाटामा गएको तथा ऋण तिर्नका लागि भन्दै २०७१ सालमा सहकारीको नाममा रहेको ८ कठा जग्गामध्ये साढे ३ कठा जग्गा बिक्री गरेको थियो। १४ लाखमा बिक्री गरिएको जग्गामध्ये १२ लाख रुपैया संस्थामाथि कृषि विकास बैंकको ऋण रहेकाले तिरेको थियो। १२ लाख ऋण तिरेर बाँकी रहेको दुई लाख रुपैयाँ संस्थाका सञ्चालक समितिले भ्रष्टाचार गरी सिध्याएको र घाटामा जानै नहुने सहकारीलाई घाटामा देखाएर किसानलाई ठगिएको भन्दै सेयर सदस्य र किसानले विरोध जनाएका हुन्।
श्री सहकारी संस्था लिमिटेडलाई मनकुमारी मिश्राले ८ कठा जग्गा सहकारी खोल्नको लागि दान गरेकी थिइन्। ०४९ सालमै स्थापना भएको सहकारी संस्था निरन्तर रुपमा घाटा भएको भन्दै सञ्चालक समितिले आठमध्ये साढे तीन कठा जग्गा ऋण चुक्ता गर्न बिक्री गरी आर्थिक हिनामिना गरिएको स्थानीय नवलकिशोर झाले बताए। उनले सहकारी संस्थाले किसानलाई मल उपल्बध गराउनुको सट्टा पछिल्लो समय सञ्चालक समितिको मिलेमतोमा सहकारमा ब्याप्क आर्थिक हिनामनिा गरी जग्गा पनि बिक्री गरिएको आरोप लगाए।
‘ऋण भएपछि साढे तीन कठा सहकारीको जग्गा बिक्री गरियो,अब किसानको नाममा फेरि कति जगगा बेच्नुहुन्छ,’ उनले भने, ‘२०६५ सालमै सहकारी घाटामा गएपछि त्यस घाटालाई सञ्चालक समितिका कारण कम गर्न नसकिएको हो।’झाले सहकारी घाटामा गएर जग्गा बिक्री गर्नको जिम्मा समितिले लिनुपर्ने बताए। सहकारी संस्था घाटामा जानै नसक्ने तर समितिको कारण सहकारी घाटामा गएर अहिले डुबेको वडा नम्बर ३१ का वडाध्यक्ष जितेन्द्र यादवले बताए।
उनले वैशाखमा आफू निर्वाचित भएपछि मलका लागि पहल गर्ने क्रममा संस्थामा पुग्दा त्यहाँ चरम आर्थिक हिनामिना भएको बताए। आफूले पछिल्लो समय पाँच पटकमा १७ सय बोरा मल आफ्नै ब्यक्तिगत रकमले मगाउँदा एक लाख १९ हजार ६७२ रुपैयाँ नाफा भएको तर बीसौँ बर्षदेखि सञ्चालित सहकारी घाटामा जानु आर्थिक हिनामिनाकै कारणले भएको जिकिर गरे।
वर्षौंदेखि चलि एको संस्थाले नियमित एक जना कर्मचारीलाई राख्नु तथा मल पनि आईरहेको अवस्थामा घाटामा जानु भन्ने कुरा गलत भएको यादवको भनाइ छ। सहकारीका अध्यक्ष मोहनदास थारुले भने संस्था घाटामा गएर ऋण बढ्दै गएपछि ऋण तिर्नका लागि सहकारीको जग्गा बिक्री गरिएको बताए। उनले १२ लाख ऋण तिरिएको तथा बाँकी दुई लाख जग्गा पास गर्नेक्रममा खर्च भएको जानकारी दिए। पहिले मल सहकारीमा नआएकाले घाटामा गएको अहिले निरन्तर मल आउन थालेपछि मात्रै किसानले खोज्न थालेको थारुको भनाइ छ। सहकारीका लेखा संयोजक फैयाज अहमदले संस्थाको सधारण सभाबाट निर्णय गराएरै जग्गा बिक्री गरिएको जानकारी दिए।