मानिस भन्ने साथ विरामी नहुने कुरा हुँदैन । उ कुनै न कुनै समय कुनै कुनै रोग शिकार हुन्छ नै । त्यसै मध्ये मानसिक रोग पनि मानिसलाई लाग्ने रोग मध्येको एक प्रकारको रोग हो । यो रोगले मानिसको समग्र दिनचर्यालाई नै प्रभावित पारिदिन्छ । यस्तो रोगमा रोगी मात्र नभई उसको परिवारका अरु मानिस पनि तनावमा हुन पुग्छन् । अन्य रोगमाभन्दा यो रोगमा शरिरका केही अंग दुख्नेभन्दा पनि फरक शैलीको भएकै कारण पारिवारिक तनावका शैली पनि फरक हुन्छन् । अन्य रोगहरु जस्तै मानसिक रोग पनि निको नहुने चाही होइन । यसको लागि पनि बरिष्ठ चिकित्सकहरु उत्पादन भएका छन् । उनीहरुले मानसिक रोगीहरुलाई पनि निको पार्छन् । यस्तै चिकित्सकहरु मध्येका वीरगंज म.न.पा –६ ,माइस्थान घर भएका डा.अनुप कृष्ण गुप्ता पनि कन्सलटेन्ड मानसिक नशा तथा लागुपदार्थ विशेषज्ञ हुन् । उनले धरानको विपी के आइ एच एस बाट एम.वि.वि.एस र पि जी आई चण्डीगढबाट एम डी साइकेट्रिक गरेका छन् । वीरगन्जको चित्रांश पोली हेल्थ क्लिनिकमा विगत ६ वर्षबाट कार्यरत उनै कन्सलटेन्ड मानसिक नशा तथा लागुपदार्थ रोग विशेषज्ञ डा.अनुप कृष्ण गुप्तासँग मानसिक रोगका सन्दर्भमा गरिएको बिशेष कुराकानी ः
१.मानसिक रोग भनेको के हो ?
मानसिक रोग शब्द नै मानस र रोग भन्ने हो । मानस भनेको मनबाट उत्पन्न हुने रोगहरु, मनको विकारहरु,मानसिक वेदना, भावनाका रोगहरु हो । मनबाट उत्पन्न हुने बेचैनी, उदासिन्ता, छटपटी, नभएका कुराहरु बोल्ने, धेरै बोल्ने, धेरै कम बोल्ने यस्ता लक्षणहरु भएका रोग मनबाट उत्पन्न हुन्छ । मन भनेको मष्तिक हो । दिमाखबाट उत्पन्न हुने रोग नै मानसिक रोग हो ।
२.मानसिक रोग कति किसिमका हुन्छ ?
मानसिक रोग मुख्यतया दुई किसिमका छन् । साधारण मानसिक रोग र कडा मानसिक रोग । प्रायः गरेर बढी मात्रमा साधारण मानसिक रोग नै लाग्ने गरेको पाइन्छ । साधारण मानसिक रोग पनि दुई किसिमका हुन्छन् । उदासिन्ता र आत्तिने रोग ।
३.साधारण मानसिक रोगका लक्षण के के हुन् ?
उदासिनतालाई अंग्रेजीमा डिप्रेशन पनि भनिन्छ । डिप्रेशनमा जाने मानिस उदास रहने, कुनै काम गर्नमा मन नलाग्ने, पहिले रुचाउने कुराहरु नरुचाउने, कुरा गर्न नचाहने, एकोहोरो भएर बस्ने, रुने र मनमा नकारात्मक भावनाहरु ल्याउने जस्तै मेरो जीवन बेकार छ । म बाँच्न लायक छैन । म मरेको बेश हुन्थ्यो भन्ने जस्ता नकारात्मक भावनाहरु आउने, आफुलाई नै दोषि ठान्ने, मैले गर्दा मेरो घर परिवार, समाजमा नै नराम्रो हुन गयो भन्ने उदासिन्ताको लक्षण हो । आत्तिने रोगलाई अंग्रेजीमा एङजाइटी डिसोड् भनिन्छ । यस रोगमा एकदमै धड्कनको चाल बढ्ने, पसिना बढी आउने, अनिन्द्राको समस्या हुने एक ठाउँ नटिक्ने, घड्कन बढने, छटपटी हुने आत्तिने रोगका लक्षण हो । साधारण खालका रोगीहरु नै बढी मात्रामा उपचारका लागी आउने गरेका छन् ।
४.कडा मानसिक रोगका लक्षणहरु के के हुन् ?
कडा मानसिक रोग भनेको व्यवहारमा उत्तेजना आउने, तोडफोड गर्ने, धेरै रिसाउने, घरबाट बाहिर भाग्न खोज्ने, नभएको आवाज सुन्ने, नभएको कुराहरु देख्ने, परिवार, समाजको मानिस कसैले मेरो हानी पु¥याउन लागेको हो की भनेर बढी शंका गर्ने, आफ्नो श्रीमतिलाई पनि अरुसंग सम्बन्ध छ कि शंका गर्ने कडा मानसिक रोगका लक्षणहरु हुन् ।
५.मानसिक रोग लाग्नुका कारण के हुन् ?
मानसिक रोग लाग्नुका कारण कुनै एउटा नै हो भन्ने छैन । अन्य धेर कारणहरु मिलेर मानसिक रोग उत्पन्न गराउँछ । जस्तै बायोलोजिकल, साइकोलोजिकल र सोसलबाट मानसिक रोग उत्पन्न हुन्छ । बायोलोजिकल भनेको वंशाणुगत गुण हो । आफ्नो परिवारमा कसैलाई मानसिक रोग छ भने त्यो परिवारको कुनै पनि सदस्यलाई हुने गर्दछ । मानिसको आफ्नो व्यक्तिगत स्वभाव कस्तो छ । कोही मानिसले कुनै समय र अवस्थालाई नकारात्मक रुपमा लिने गर्दा डिप्रेशन तथा आत्तिने रोगमा जाने हुन्छ । तेस्रो कारण समाजमा, घर परिवारम ठूलो घटना घट्यो, भुकम्प आएर नोक्सान, व्यपार व्यवसायमा घाटा हुदाँ, घरमा आफन्तको मृत्यु हुदाँ पनि कतिपयलाई मानसिक रोग उत्पन्न भएको छ ।
६.मानसिक रोग लागेको कसरी चिन्ने ?
मानसिक रोग लागेको चिन्न परिवारको व्यक्तिले तुलना गर्नुपर्छ । पुरानो व्यवहारबाट लगातार दुई हप्ता, एक, दुई महिनासम्म पनि व्यवहार परिवर्तन देखाउँछ भने मानसिक रोग भनेर चिन्न सक्छौ । उदाहरणका रुपमा लिनु पर्दा कुनै मानिस स्वभावले नै धेरै बोल्ने, हसिलो अनुहार राख्छ भने त्यस अवस्थालाई मानसिक रोग मानिदैन । स्वभावले चुपचाप बस्ने मानिस एक्कासी धेरै बोल्न थाल्ने, सामाजिक र आफ्नो व्यक्तिगत काम र कर्तव्य गर्न नसकेको छ भने मानसिक रोग भनेर चिन्न सकिन्छ । जब व्यक्तिले आफ्नो काम र जिम्मेवारी बहन गर्न सक्छ भने धेरै बोले पनि मानसिक रोगी भन्न मिल्दैन । सामाजिक रुपले व्यवसायिक रुपले असर परेको र आफ्नो जिम्मेवारी पुरा गर्न नसकेको अवस्था छ भने रोगको रुपमा बुझेर उपचार गराउनु पर्छ ।
७.मानसिक रोगको उपचार विधीहरु के हुन् ?
मानसिक रोगीको उपचार औषधी मात्र गरेर हुदैन । रोगीको काउन्सिलिङ्ग गरेर मात्र हुदैन । दुबै कुराको मिश्रण चाहिन्छ । उपयुक्त समयमा छिटोभन्दा छिटो उपचार गरेमा छिटो ठिक हुने हुन्छ । त्यसको लागी औषधी सुरु गर्नुपर्ने हुन्छ । रोगी र रोगीको घरको मानिसलाई परार्मश दिने, रोगी र रोगीको घरको मानिसलाई रोगको बारेमा ज्ञान दिन्छौं । रोगी र रोगीको घरको मानिसलाई औषधीको कोर्ष र औषधीको असरको वारेमा ज्ञान दिनु पनि उपचार विधि हो । औषधी लामो समयसम्म खानु पर्ने हुन्छ । सर्वसाधारण जनताले मानसिक रोगको औषधी बाचुन्जेल खानुपर्छ । भन्ने बुझेर मानसिक रोगको उपचार नै गर्न नआएका पनि छन् । कुनै कुनै मानसिक रोगमा औषधीहरु ३ देखि ६ महिनामा नै बन्द गर्नुपर्ने हुन्छ । भने कुनै मानसिक रोगमा १० औं वर्षसम्म पनि खानुपर्ने हुन्छ ।
८.मानसिक रोगको औषधी सेवन गर्ने रोगी मोटाउने कारण के हो ?
मानसिक रोगीहरुमा औषधीको सेवनले गर्दा बढी भोक लाग्ने लक्षण देखिन्छ । भोक बढी लाग्दा कार्बोहाइडे«ट भएको खाना भात, मिठाइ, मासुहरु शरिरलाई चाहिनेभन्दा बढी खाने गर्छन् । शारिरीक कसरत भने गरेका हुदैनन् । मानसिक रोगका सबै औषधीले मानिस मोटाउँछ भने होइन । औषधी सेवन गर्ने धेरै रोगीहरु नियमित व्ययाम र खानपानमा नियन्त्रण गरेका कारण मोटाएका छैनन् । औषधी सेवन गर्ने मानसिक रोगीहरुले खानपान र व्यायाममा विशेष ध्यान दिनुपर्छ ।
९. मानसिक रोग वारे जान्नैं पर्ने कुराहरु के के छन् ?
समाजमा मानसिक रोग, मानसिक रोगीहरु, मानसिक रोगको उपचार गर्ने डाक्टरहरु, मानसिक रोगको औषधीहरु प्रति मानिसहरुको मनमा घृणा, डर, आफ्नो रोगीले औषधी सेवन गरेको छ भनेर कसैले नभन्ने, लुकाउने, ढाकछोप गर्ने डर, कलंकलाई जित्नुपर्छ । यसलाई जितेन भने विस्तारै मानसिक रोगले समाजलाई रोगी बनाउँदै खोक्रो बनाउँछ । हाम्रो कार्य क्षमतामा पनि कम हुन्छ । जुन उमेरमा काम गरेर घर परिवारलाई पाल्नुपर्ने हो । रोगलाई लुकाए रोगले नै खाइरहेको हुन्छ । त्यसको विरुद्ध हामी उठनु पर्छ । हामीले उपचार गराउन लाज मान्नु भएन । समयमा नै धामी झाक्रिकोमा नगएर सुरुमा नै उपचार गराए त्या रोगी छिटो ठिक हुन्छ । तपाईको घर परिवार र समाजमा जो कोही मानसिक रोगी छन् भने लाज नमानी समयमा उपचार गर्न पठाऔं । मानसिक रोगको उपचार महङ्गो छैन् । जाँचहरु पनि धेरै हुदैन । औषधी सेवन गर्नेहरुले पनि गर्न बन्द गर्नु हुदैन । सम्वन्धित विशेषज्ञसंग परामर्श गरेर मात्र औषधी खान बन्द गर्नुपर्छ ।
१०.अन्त्यमा मानसिक रोग लाग्नबाट कसरी बच्न सकिन्छ ?
मानसिक रोग लाग्नुका अनेक कारणहरु छन् । ती अनेक कारणहरुलाई नियन्त्रण गर्न सकेमा मानसिक रोग कमैलाई मात्र लाग्छ । वंशाणुगत गुणहरुलाई त कसैले पनि बदल्न सक्दैन । तर मनोसामाजिक कारणहरुलाई नियन्त्रण गर्न सके मानसिक रोगबाट बच्न सकिन्छ । जस्तैः–सामाजिक रुपमा घुलमिल गर्ने, बौद्धिक कार्यमा बढी संलग्न हुने । नियमित शारीरिक व्ययाम गर्ने, स्वस्थ्यकर खानेकुरा खाने, मौसम अनुसारका फलफूल खाने, जाँड, रक्सी, लागुपदार्थबाट टाढा बस्दा मानसिक रोगबाट बच्न सकिन्छ ।