वृक्षारोपनको नाममा गरिएको भ्रष्टाचार लुकाउन वन कार्यालयका कर्मचारीहरुले अनेक हतकण्डा अपनाउने गरेको खुलेको छ । पर्साको पटेर्वा सुगौली गाऊँपालिका अन्तर्गत भलुवाही खोलाको पश्चिम नदी उकास वनको १० हेक्टर क्षेत्रफलमा लगाइएको वृक्षारोपन कार्यक्रममा भएको भ्रष्टाचारको रकम लुकाउन उनीहरुले अनेक हत्कण्डा अपनाएको खुलेको हो ।
वृक्षारोपणको बजेट अनेक गरी सकेर अहिले जोग्गिने उपाए खोज्न विभिन्न प्रपञ्च रच्न थालेको स्थानीयले आरोप लगाए ।
१० हेक्टर क्षेत्रफलमा जिल्ला वन पैदवार आपूर्ति समिति मार्फत २० लाख बराबरको बजेटबाट रोप्न र तारजाली लगाउन छुट्याइएको बजेट दुरुपयोग गरिएको उनीहरुले खुलासा गरे । यो बिषयमा अख्तियारले छानविन सुरु गरेपछि अहिले देखावटी काम गर्न लागेको स्थानीय को भनाइ छ । आर्थिक वर्ष २०७८/०७९ साल मै सकिसकेको योजनाका लागी अहिले अख्तियारको छानविन सुरु भएपछि केही कामहरु देखावटी रुपमा गर्न थालेका छन् ।
जिल्ला वन पैदवार आपूर्ति समिति, वन प्रमुख, र केही कर्मचारीको मिलोमतोमा झण्डै २० लाख बजेट पचाउन लाखौँ रुपैयाँ बाडफाँड गरेको खुलेको छ । सोहि विषयमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेपछि अहिले रकम कुम्ल्याएकाहरुले सामुहिक रुपमा देखिने काम गराउन तत्परता देखाएका छन् । तथापि सहमति अनुसार हुनुपर्ने काम अझै गर्न नसकेको स्थानीयहरुको आरोप छ ।
सम्झैता अनुसार भलुवाही खोलाको पश्चिम नदी उकास वनको १० हेक्टर क्षेत्रफल भित्र चारैतिरबाट ६ धर्सोको तार जाली लगाउनु पर्ने थियो । तर ६ धर्सो ( तार ) लाई ३ वटा मात्रै गरेर बजेट दमपच गरेको खुलेको छ । सोहि तार लगाउन र वन कर्मचारीहरु अहिले लागी परेका छन् ।
आर्थिक वर्ष २०७८/०७९ मै सम्पन्न भई सबै भुक्तान समेत पाईसकेको वृक्षारोपनका लागी अख्तियारलाई छल्न अहिले आएर तारजाली लगाउँदै गर्दा गतवर्ष लगाएको ३ वटा तारमा खिया लागेको प्रस्ट देखिन्छ भने अहिले लगाइएको ३ वटा अलग्गै तारमा भने खिया लागेको छैन । सजिलै देख्न सकिने गरी अख्तियारलाई छल्ने गरी तार लगाउने काम गरेका छन् भने सहमतिमा टिक, मसला, खयर, अर्जुन, सिरिस, कपोक लगायत प्रजातिको विरुवा लगाउनुपर्ने भनिए पनि १० हेक्टरको केहि भागमा मात्रै अम्बा, सिसौ, सपेता लगायतको विरुवा लगाएका थिए । बाँकी रहेको भागमा अहिले वन कार्यालयका कर्मचारीहरुले पुनः सिसौ, अम्बा लगायतको विरुवा लगाइरहेको स्थानीय रवन चौधरीले पनि बताए ।
दिन प्रतिदिन वन मासिदै गर्दा वेपरवाह रहेका वनका कर्मचारीहरुले सरकारले वन विस्तारका लागी ल्याउने योजनाहरु समेत विभिन्न जालझेल गरी बजेट हत्याउने गरेका छन् । उजुरीको अधारमा छानविन गरिरहेको अख्तियारलाई छल्न देखाउटी रुपमा गरिएको तारजाली दिर्घकालिन रुपमा छैनन् भने, सम्झौतामा भए बमोजिमको विरुवा नलगाएर बजेट छल्ने काम भएको पनि उनले तर्क गरे ।
यता वनका कर्मचारीहरु भने आफूहरुले यस्तो कमजोरी रहेको नभेटेको दावी गरे । केही कमिकमजोरी रहे सोही अनुसारको स्टेप चालिने उनीहरुको भनाइ छ ।