महिलाहरुद्घारा संचालित मध्य तराई कै एक मात्र पत्रिका मध्य नेपाल संन्देश साप्ताहिक आज दोस्रो बर्ष पूरा गरी तेस्रो बर्षमा प्रवेश गरेको छ । जति बेला यस पत्रिकाको उद्घाटन हुदै थियो, त्यतिवेला यस पत्रिकाको बारेमा विभिन्न टिका टिप्पणी सुनिएकै थिए । ती टिका टिप्पणीहरु मध्ये सबैभन्दा प्रमुख थियो । अब यो पत्रिका कतिदिन सम्म चल्ने हो ?
विभिन्न आशंकित अड्कलबाजीहरु गर्नेहरुको भ्रमलाई व्याबहारमा चिरेर देखाउनु महिला संचारकर्मीहरुलाई ठूलो चुनौति थियो । पुरुष प्रधान समाजमा महिलाहरु स्वतन्त्र रुपमा बोल्न, हिड्न नै कठिन छ । घर भित्रको चुलो चौका, घरधन्दा र बालबच्चा उत्पादन गर्ने एउटा मेशिनको रुपमा हेर्ने समाजमा स्वतन्त्र रुपमा खुल्ला मैदानमा प्रतिष्पर्धा गर्न निश्कनु कम चानचुने कुरा होइन । अझ त्यसमा पनि पत्ररकारीता जस्तो जटिल कार्यमा आफुलाई स्थापित गराउन सक्नु कुनै युद्ध जितेभन्दा कम छैन । आज विश्व भरि नै महिलाहरु आफ्नो हक र अधिकारका लागि संघर्ष गरिरहँदा पत्रकारीताको क्षेत्रमा महिलाहरुको संख्या न्युन छ ।
महिलाले मात्रै पत्रिका संचालन गरेको यदाकदा पाइएता पनि संचारकर्मी महिला स्वयमंले लेखन नै गरी संचालन गरेको मध्य नेपाल कै एक मात्र पत्रिका मध्य नेपाल संदेश नै हो । समाजमा हुने गरेका महिला हिंसा, दाइजो प्रथाका घटना, समाजलाई सुदृढ गर्न दिन रात लागि परेको यो संस्था एउटा आवाज बनेर गुन्जिरहनु सुखद पक्ष हो भन्दा अत्युक्ति नहोला ।
नेपालमा महिलाहरुको सक्रियतामा संचालित संघ संस्थाहरु थ्ुाप्रै छन् । महिलाहरुको नामबाट संचालित पत्रपत्रिका पनि धेरै छन् । तर स्वतः महिलाहरुको मात्र सहभागितामा संचालित तथा युवा महिलाहरुको सक्रियतामा संचालित भने मध्य नेपाल संदेश नेपालकै पहिलो पत्रिका हुन सक्छ । यो नै वीरगन्जका महिलाहरुको लागि आफैमा गौरव गर्न लायक कुरा हो । नेपालमा संघ सस्था कै कुरा गर्ने हो भने पनि आफ्नो पहिचान सहित स्थापित संघ सस्था न्यून छन् । अझ तरार्इृ क्षेत्र, त्यसमा पनि महिलाहरुलाई बन्द कोठाको श्रृंगार मात्र ठान्ने, पुरानो रुढिवादी परंम्परा, संक्रिण सोचले ग्रसित यस क्षेत्रमा पूरै जीवन घुम्टो भित्र नै बिताउनु पर्ने सागुँरो सोच पूरै हटिसकेको अवस्था अझै छैन । यस्तो अवस्थाका बीच महिलाहरुले मात्र मिडिया संचालन गर्नु चुनौैतिहरु मध्येको चुनौति नै हो । अदृष्य पीडालाई समाज माझ ल्याउन, घरेलु हिंसा तथा दाइजो प्रथाको बिरुद्घ खुलेर बोल्न सक्ने खोजको माध्यमका रुपमा मात्र होइन समाजलाई परिवर्तन गर्न भरपुर सहयोग गर्ने महिलाहरुकै संलग्नतामा संचालित पत्रिका चलाउन कम सकस छैन ।
यो जान्दा जान्दै पनि मध्य नेपाल संन्देशकी सम्पादक कविता खड्का लगाएतको टिमलाई कम आँक्न अब नमिल्ने भएको छ । यो कदम स्वागत योग्य छ भन्दा अन्यथा नहोला । मधेशको भुमिमा महिलाहरुले खुलेर बोल्न, हिड्न, मनमा लागेका कुराहरु अभिव्यक्त गर्न सहज अझै भएको छैन । घुम्टो भित्रबाटै पनि आफ्नो पूरै जीवनको सफलता खोज्न पर्ने बाध्यताका बीच त्यो सीमा रेखा पार गरेर महिलाहरुले पुरुषहरुसँग प्रतिस्पर्धा त्यो पनि यस्तो माहोलमा सोचमग्न बिषय छँदैछ । पत्रकारीता जस्तो कठिन कार्य अंगाल्ने सोचको जन्म मात्र हुनु महिला संचारकर्मीहरुको पहिलो जित थियो । जो आज व्यवहारले अझ जितको सुनिश्चितता तर्फ इंगित गरेको छ । जस्को उदाहरण दोस्रो बर्षपार गरी तेस्रो बर्ष पाइला टेक्नुलाई लिन सकिन्छ । भनिन्छ, जहाँ आत्मा विश्वास र लक्ष्यको जन्म हुन्छ, त्यहाँ हर किसिमका बाधा र अवरोधहरुले स्वतः बाटो खाली गरिदिन्छ ।
महिला माथि हुने गरेका हत्या हिंसा, दाइजोको कारण पीढित महिलाहरुदेखि लिएर आफु योग्य हुदा हुदै पनि बिभिन्न कारणले ओझेलमा परेका महिलाहरुलाई आफ्नो पहिचान उजागर गर्ने एउटा सरल माध्यम बनाएको छ मध्य नेपाल संदेश । समाज सुदृढीकरण हाम्रो अभियानू नारा लिएर उदाएको मध्य नेपाल संदेशले बिस्तारै उज्यालो किरणहरुको माध्यमबाट हरेक गल्ली, गल्ली, कुनामा मात्र हैन प्रत्येक घर घरमा फैलिन सकोस् भन्ने हाम्रो दृढ इच्छाशक्ति छ । समाजमा महिलाहरुलाई दोस्रो दर्जाको रुपमा हेर्ने चलन निमिट्यान्न भइसकेको अझै छैन । मुखले जति सुकै हक र अधिकारका कुरा गरे पनि कार्यक्रममा बढि आदर्शका कुरा गर्ने व्यक्तिकै घरमा महिलाको हक सुनिश्चित नभएका उदाहरणहरु पनि धेरै छन् ।
आफ्नै कोखबाट जन्माएको छोरा छोरी आमाको नामसँग नजोडिएर बाबुकोसँग जोडिने गरेको कुरा जगजाहेर नै छ । नेपाली हुँ भन्ने परिचय पत्र ( पहिचान पत्र ) नागरिकता बनाउँदा आमाको नाम कोष्टमा राखी बाबुको पहिचान अनिवार्य राखिन्छ । जव कि आमाको पहिलो अधिकार आफ्ना छोरा/छोरी हुँदा हुदै पनि बाबुको नामबाट मात्र चिनिन्छन् । पिडित महिला मात्र नभएर सक्षम र योग्य महिलाहरु पनि कहिँ कतै ओझेलमा परेका छन् ।
मध्य नेपालकै पहिलो पत्रिका महिलाहरुलाई कसरी आफ्नो हक र अधिकार दिन सकिन्छ, ? महिला र पुरुष बिच हुने गरेको आपसी भेदभावलाई कसरी न्युन गर्न सकिन्छ ? जस्ता कार्यको खोज मात्र गरेको छैन । स्वयम् महिलाहरुको जीवनस्तर माथि उठाउन लेखनको माध्यमबाट बराबर लागिरहेको पनि छ ।