वीरगंज महानगरपालिका वडा नं १० मा बस्दै आएका रवि कुमार गुप्ताले भर्खरै ३७ देश र २ सय ८६ जना खेलाडी सहभागि भएको प्रतियोगीमा उत्कृष्ठ भएका छन् । खुकुरीकाता खेलमा नेपालको तर्फबाट उनी पहिलो हुन सफल भए । २०६१ सालदेखि खेल क्षेत्रमा लागेका उनले केहीदिन अगाडी मात्र नेपाललाई यो उपाधी दिलाउन सफल भएको खुलेको हो । खेलसँगै नेपाल सिप विकास संघको केन्द्रिय अध्यक्ष समेत रहेका गुप्ता स्वस्थ्य जीवन लागि खेलकुद खेल्न सबैलाई सुझाव पनि दिन्छन् । खेलकुदमा लागेपछि अहिलेसम्म बिरामी नपरेको उनको अनुभव पनि छ । ठाकुराम बहुमुखी क्याम्पसबाट मास्टर डिग्री पास गरेका उनले मार्सलआर्ट तर्फको खुकुरीकातामा आफ्नो देशलाई विश्व सामु चिनाउने प्रयास कसरी सफल भयो ? लगायत खेलकुदका सन्दर्भमा केन्द्रित रही खुकुरीकातामा पहिलो भएका खेलाडी रवि कुमार गुप्तासँग गरिएको बिशेष कुराकानी ः
१) तपाईले खुकुरी कातामा नेपालको शिर उच्च राख्न कसरी सफल हुनु भयो ?
पहिला पनि हामी टिम बनाएर यो काता खेल्थ्यांै । यो काता सिकाउने पोल्याण्डको गुरुसंग म आवद्ध भए । अहिले करातेबाट धेरै खेलहरु चलिरहेको छ, तर यो खुकुरी काता पोल्याण्डको गुरु बुद्ध जोशीले सिकाउनु हुन्छ । उहाँ नेपालमा आएर हामीलाई नयाँ नयाँ कुरा सिकाउनु भयो । आफुलाई बचाउ गर्ने, सुरक्षित हुने, महिला पुरुषहरुलाई कम समयमा हतियारबाट बच्ने, जस्ता कुराहरु सिकाउनु भयो । मधेशबाट कसैले पनि खुकुरी काता नगरेको हुनाले मलाई यो खेलमा भाग लिने ईच्छा भयो । पहिला खुकुरी काता कसरी गर्ने ? मैले यो यूट्यूब भिडियोबाट पनि स्टेपस्टेप सिकेर आफ्नो प्रयास जारी राखें । वीर गोर्खाली भएको मुलुकको नागरिक मैले पनि खुकुरी कातामा सफलता प्राप्त गर्न सक्छु भन्ने आँट गरें अनि एक दिन नेपालको झण्डा विश्वसामु फहराउन सक्छु भनेर आत्मविश्वास बढाएँ र निरन्तर अभ्यास गरिरहें । पोल्याण्डका गुरुले पछि यो गेमको लागि अन्तर्राष्ट्रिस्तरको गेम हुँदैछ भनी मेल पठाइदिनु भयो । मसँग सो समयमा फर्म भर्नको लागि पैसा समेत थिएन । तर मैले पैसा मिलाएर फर्म भरे र मैले आफ्नो आत्मसाथ छोडिन । आफुले गरेको खुकुरी काताको भिडियो तयार पारें र फर्ममा उल्लेख भए अनुसार मेलमा पठाए । त्यहाँ ३७ देशका प्रतियोगीहरु सहभागी भइएछ । पछि मेरो गुरुले सबैमा उत्कृष्ठ भएको सूचना सहित प्रमाण नै पठाइदिनु भयो । सहभागीताका लागि तयारी गरे पनि आखिर विजयी नै भएर ३७ देशका सामु नेपाली झण्डा फहराउन पाएकोमा गर्व गर्दछु ।
२) नेपालीको पहिचान खुकुरीकातामा ३७ देशलाई पछि पार्दै पहिलो स्थानमा आउनु सक्नु भयो । आगामी दिनको थप लक्ष्य अरु के छ ?
म आफ्नो काम प्रति धेरै नै खुसी छु । थप हौसला बढेको छ । मलाई अहिले विजयको शुभकामना दिने मेरो साथीहरुले पछि पनि साथ र सहयोग दिने बताइरहनु भएको छ । म पछिसम्म खेलमा नै लागि रहने छु । यो भन्दा पनि ठूलो गेमहरुमा सहभागी हुने र विश्वमा नै नेपालको झण्डा फहराउने लक्ष्यमा छु ।
३) कति उमेर समूहको खेलमा थियो ?
वास्तविक कुरा गर्ने हो भने खेलको कुनै उमेर समूह हुदैन । जुन उमेर समूहको व्यक्तिले पनि खेल खेल्न सकिन्छ । तर यूवाहरुमा जोस, जागर हुने हँुदा उनीहरु खेलको हरे संर्घष गर्न सक्छन । जुनसुकै काम गर्दा हरेक व्यक्तिले मेहनत र सर्घष गर्नु पर्छ । संर्घष गर्ने मानिस पक्कै पनि एकदिन सफल हुन्छ । हामीले संर्घष गर्न सिक्नु पर्छ । हिमाल, पहाड, तराई जताको मानिस भए पनि सबैलाई खेलको आवश्यक हुन्छ । एक पटक जित भएन भनेर हरेस खानु हुदैन । प्रयास जारी राख्नुपर्छ । यूवाहरुले आफ्नो देशको नाम राख्ने धेरै किसिमका खेल हुन्छन् । त्यसमा लागानशिलता साथ खेल्दै आफ्नो मात्रै नभई देशकै नाम विश्व माझ चिनाउन सक्नु पर्छ ।
४) नेपालका सरकारहरुले चाही खेल र खेलाडीहरुलाई हेर्ने दृष्टिकोण कस्तो पाउनु भएको छ ?
सरकारले देशका खेलाडीहरुलाई कहिले पनि सकारात्मक ढंगले साथ र सहयोग गरेको अनुभव छैन । खेलाडीहरुले केवल आफ्नो लागानीमा यहाँसम्म पुगेका छन् । यूवाहरुको खेल क्षेत्रमा ध्यान नजानुको कारण भनेको सरकारले खेलाडीहरुलाई खासै चासो नराख्नु नै हो । खेल खेलेर मात्र पनि हुदैन, खेल खेल्नको लागि पैसाको आवश्यकता हुन्छ । कुनै खेलाडीहरुलाई केही सहुलियतको व्यवस्था आवश्यक पर्छ । जिन्दगी चल्न गाह्रो हुन्छ । देशमा राम्रा–राम्रा खेलाडीहरु उत्पादन गर्न सरकारले उनीहरुको भविष्यको सुनिश्चितता पनि गरिदिनु पर्छ । नेपालमा यस्तो व्यवस्था भएको छैन ।
५) तपाई अन्त्यमा थप केही भन्न चाहनु हुन्छ ?
स्वस्थ्यका लागि खेलिने खेलमा सम्पूर्ण नेपालीहरु सकारात्मक ढंगले लाग्नु पर्छ । अझ भावी सन्ततिहरुलाई त खेलकुदमा जोड्न अनुरोध गर्दछु । खेल भनेको एउटा गहना पनि हो । भनिन्छ स्वास्थ्यको लागि खेलको आवश्यकता पर्छ । हरेक व्यक्तिमा केहि न केहि खेल खेल्ने क्षमता हुन्छ खेल्नै पर्छ । सबैले देशकै लागि खेल नखेले पनि स्वास्थ्यको लागि भए पनि खेल अपरिहार्य छ । खेलमा नै भविष्य खोज्ने युवाहरुले त देशको झण्डा फहराउन र बुद्धको देश, गोर्खालीको देश, हिमालको देश नेपाललाई विश्वमा चिनाउन लागिपर्नु पर्छ । अर्को कुरा गएका निर्वाचनमा जनताबाट मनोनित भएका नेता र पार्टीहरुले पनि खेल र खेलाडीलाई निशुल्क शिक्षा र कम्तिमा डाइटिङ्गको व्यवस्था गर्नु विकल्प खोजिदिनु पर्छ । यति भए मात्र पनि नेपाली खेलाडीले देशलाई धेरै सम्मान दिलाउन पछि पर्दैनन् ।