कतार विश्वकपमा गोल्डेन बुटको दाबेदारमा लियोनल मेस्सी केलियन एम्बाप्पे र ओलिभर जिरुड दौडमा रहेका छन्।
विश्वकपको उपाधि छिनोफानोका लागि अब दुई खेल मात्र बाँकी रहँदा तीन खेलाडी गोल्डेन बुटको दाबेदार देखिएका छन्। फ्रान्सका एम्बाप्पे अर्जेन्टिनाका मेस्सी र फ्रान्सकै जिरुडले पछ्याइरहेका छन्। कतार विश्वकप सुरु हुनुअघि विश्वचर्चित एक दर्जन खेलाडीलाई गोल्डेन बुटको दाबेदारका रुपमा हेरिएको थियो
समूह चरणका खेल सकिँदासम्म पनि पोर्चुगलका ब्रुनो फर्नान्डेजदेखि स्पेनका अल्भारो मोराटासम्म गोल्डेन बुटको दौडमा थिए। तर, सेमिफाइनल समीकरणमा आइपुग्दा प्रमुख तीन खेलाडीमात्र यसका दाबेदार देखिएका छन्। त्यसमध्ये पहिलो नम्बरमा छन् केलियन एम्बाप्पे।
२३ वर्षीय युवा स्टार एम्बाप्पेले पाँच गोल गरेका छन्। समूह चरणमा उनले अष्ट्रेलियाविरुद्ध एक र डेनमार्कविरुद्ध दुई गोल गरेका थिए। नकआउट चरणमा पोल्यान्डविरुद्ध दुई गोल गरेसँगै उनी गोल्डेन बुट दौडको शीर्ष स्थानमा छन्। फ्रान्सले सेमिफाइनलमा मोरक्कोसँग खेल्ने छ। यस खेलमा उनले आफ्नो गोलसंख्या अझै बढाउने अनुमान छ।
अर्जेन्टिनाका लियोनल मेस्सी गोल्डेन बुटका दोस्रा दाबेदार हुन्। उनले पनि पाच् गोल गरेका छन्। पहिलो खेलमा मेस्सीको गोलमा टिमले अग्रता लिए पनि साउदी अरेबियासँग अप्रत्यासित हार बेहोरेको थियो। समूह चरणमा मेक्सिकोविरुद्ध गोल गरेका मेस्सीले पोल्याण्डविरुद्ध भने पेनाल्टी पाए पनि गोल गर्न सकेनन्। प्रि–क्वार्टरफाइनलमा अष्ट्रेलिया र क्वार्टरफाइनलमा नेदरल्यान्डसँग पनि मेस्सीले एक–एक गोल गरे। हिजो भएको खेलमा क्रोएसियाविरुद्ध एक गोल गर्दै गोलसंख्या पाँच पुर्एका छन्।
फ्रान्सका ओलिभर जिरुड गोल्डेन बुटका तेस्रा दाबेदार हुन्। जिरुडले प्रतियोगिताका पाँच खेलमा चार गोल गरिसकेका छन्। फ्रान्सका लागि उत्कृष्ट फिनिसरको भूमिका निर्वाह गरिरहेका जिरुडले सेमिफाइनलमा समेत गोल गर्नसक्छन्। फ्रान्सका लागि पाँच गोल गरेका एम्बाप्पे प्लेमेकर र जिरुड फिनिसरको भूमिकामा रहनेछन्।
उनले समूह चरणमा अष्ट्रेलियाविरुद्ध दुई गोल गरेका थिए। नकआउट चरणमा पोल्यान्डविरुद्ध गोल गरेका उनले क्वार्टरफाइनलमा इङ्गल्याण्डविरुद्ध निर्णायक एक गोल गरेका थिए। अघिल्लो संस्करणको विश्वकपमा इङ्गल्यान्डका कप्तान हृयारी केनले गोल्डेन बुट जितेका थिए।
विश्वकपमा सबैभन्दा धेरै गोल गर्ने खेलाडीले गोल्डेन बुट पाउँछन्। गोल संख्या बराबर भए पेनाल्टी सुटआउटमा गोल गरेका अथवा गोलको अवसर सिर्जना गरेका आधारमा दिइनेछ।