अबैध रूपमा अन्तराष्ट्रिय कल बाईपास गर्ने कार्यमा संलग्न दुई जनालाई प्रहरीले पक्राउ गरेको छ ।
काठमाडौं महानगरपालिका २६ सामाखुसी सरकारीधारा रोममार्ग वस्ने भारत जयपुर राजस्थानका ३५ वर्षीय सुनिल कुमार र ४१ वर्षीय राम करन जाटलाई प्रहरीले सुचनाको अधारमा पक्राउ गरेको हो ।
सुनसरी धरान नगरपालिका १९ जिमिचोक स्थायी ठेगाना भएका काठमाडौं महानगरपालिका २६ बस्ने ३३ वर्षीय संजिप राईले भाडामा लिएको उक्त घरको १ कोठामा अवैध अन्तराष्ट्रिय कल बाईपास संचालन गरिरहेको अवस्थामा नेपाल प्रहरी केन्द्रिय अनुसन्धान ब्यूरोबाट खटिएको प्रहरी टोलीले संचालन गर्ने उपकरणहरु सहित उनीहरुलाई पक्राउ गरेको हो ।
अन्तराष्ट्रिय भिओआइपी कल चीन मार्फत ल्याउने, भारतबाट उपकरण ल्याउने र विभिन्न भारतीय नागरिकको कागजातपत्रको आधारमा सिमकार्ड लिने काम गर्दै आएका उनिहरुले अनलाइनमार्फत सम्पर्क गरी कोठा भाडामा लिएका थिए । पक्राऊ परेका मध्ये एकजनाले भारतमा रही प्रविधिको सहयोग गर्ने गरेको र ३ महिना नेपालमा बसी उक्त कार्य संचालन गर्ने योजनामा रहेको अवस्थामा प्रहरीले उनिहरुलाई पक्राउ गरेको हो ।
प्रहरीले उनीहरूको साथबाट १२८ पोर्टको भिओआइपी गेटवे १ थान, एन्टेना ३२ थान, ल्यापटप १ थान, राउटर १ थान, तार सहितको मिडिया कन्भर्टर १ थान, मल्टीपल्क १ थान, युपीएस १ थान, नखोलिएको रिचार्ज कार्ड १३ थान, एनटिसी सिमकार्ड १५ थान, एनसेल सिमकार्ड १० थान, स्मार्ट सिमकार्ड ११ थान, एडप्टर १ थान, अप्टिकल बक्स १ थान, प्रयोग नभएका सिमकार्ड ७ थान, मोबाईल ३ थान र भारतीय गणराज्यबाट जारी भएका राहदानीको फोटोकपी ३० पाना लगायतको समाग्री बरामद गरेको छ ।
उनीहरू उपर दूरसंचार ऐन, २०५३ अन्तर्गत थप अनुसन्धान भइरहेको सो व्यूरोले जनाएको छ । फोटो : सौजन्य