नेपालमा सुकुम्बासी समस्यालाई राजनीतिक दलहरुले भोट बैंकका रुपमा चलखेल गर्दा वर्षौंदेखि समाधान हुन सकेको छैन । नदी किनारमा अवैध जग्गा ओगटेर घरटहरा बनाउने र कुनै राजनीतिक दलको ओत लागेका सुकुम्बासीले सरकारी निकायले भत्काउन सार्वजनिक सूचना जारी गर्दासमेत अटेर गर्दै आएका छन् । सुकुम्बासीको ट्याग लगाएर बागमती किनारमा घरटहरा बनाई भाडामा लगाउने र कुस्त आम्दानी लिने गैरसुकुम्बासीका कारण समस्या समाधान हुनुको साटो बल्झिँदै गएको छ ।
भूमिहीन, दलित र सुकुम्बासी समस्या समाधान गर्न सरकार परिवर्तनपिच्छे आयोग गठन हुँदै आएका छन् । ३० वर्षमा १३ वटा सुकुम्बासी आयोग गठन भए पनि राजनीतिक दल आफू सरकारमा हुँदा चासो नदिने र सरकारबाट हट्नासाथ सुकुम्बासीलाई अगाडि सारेर बखेडा झिक्दा समस्या समाधानले गति लिन सकेको छैन । सरकारी तथ्यांकअनुसार काठमाडौं उपत्यकाका ३ जिल्ला काठमाडौं, भक्तपुर र ललितपुरका विभिन्न २७ ठाउँमा सुकुम्बासीको बसोबास रहेको छ । ती ठाउँमा ३ हजार ४६६ परिवार अव्यवस्थित रुपमा बस्दै आएको बताइन्छ ।
काठमाडौं महानगरले थापाथलीस्थित बागमती किनारको सुकुम्बासी बस्ती हटाउने कार्य अगाडि बढाएसँगै फेरि यो मुद्दा चर्किएको हो । अहिले दैनिकजसो प्रदर्शन भइरहेको छ । २०६० सालदेखि थापाथलीको बागमती किनार अतिक्रमण गरी उनीहरुले बस्ती बसाल्न थालेका थिए । नेपालमा सुकुम्बासी समस्या पुनः चर्किरहेको समयमा भारतको राजधानी मुम्बईमा भने एसिया क्षेत्रकै सबैभन्दा ठूलो सुकुम्बासी बस्ती व्यवस्थापनको जिम्मा भारतीय खर्बपति व्यापारी गौतम अडानीले पाएका छन् ।
भारतको आर्थिक राजधानी मानिने मुम्बईको केन्द्रमा ५५० एकड क्षेत्रफलमा अवस्थित धारावीमा रहेको सुकुम्बासीमा ५८ हजारभन्दा बढी सुकुम्बासी घर छन् भने १२ हजारभन्दा बढी व्यावसायिक संघसंस्था । यहाँ औषधी, छालाजन्य सामग्री, जुत्ता र लत्ताकपडा बनाउने स–साना स्तरका कैयौं असंगठित उद्योग पनि छन् । यी उद्योगमा सुकुम्बासीले रोजगारी पाउँदै आएका छन् ।
अडानी समूहले ५ हजार ६९ करोडमा सुकुम्बासी कायाकल्पको जिम्मेवारी लिएको छ । अब अडानी समूहले धारावी बस्तीको तस्बिर परिवर्तन गर्ने भएको छ । यो बस्ती बेलायती उपनिवेशकालमा बसेको हो, जुन अहिले एसियाकै सबैभन्दा ठूलो र विश्वको तेस्रो ठूलो बस्ती बनेको छ ।
धारिलो टिनले बनेको छत, प्लास्टर नगरिएका पर्खालहरू । साँघुरा गल्ली र ती गल्लीहरूमा एकअर्कासँग ठोक्किँदै बाहिर निस्केका मानिसहरू । यो धारावीको कथा हो । त्यही धारावी जसलाई मुम्बईको ’हर्ट’ र ’छोटा इन्डिया’ पनि भनिन्छ । यो बस्ती मुम्बईका अग्ला भवनहरूको बीचमा अवस्थित छ । यदि तपाईं मुम्बईमा हुनुहुन्छ र कम लागतमा आफ्नो टाउकोमा छत चाहनुहुन्छ भने धारावी सबैभन्दा राम्रो गन्तव्य हो । दैनिक ज्यालादारी गर्ने लाखौं मजदुर र साना व्यवसायीहरू यहाँ बस्छन् ।
यहाँ न शिक्षाको स्तर राम्रो छ न सरसफाइ । अब यो धारावी पुनर्जीवित हुन लागेको छ । अडानी इन्फ्राले यो काम गर्नेछ । अडानी इन्फ्राले ५ हजार ६९ करोड भारुको बोली लगाएर यो परियोजना हात पारेको हो । धारावी पुनर्विकासको योजना सन् २००४ देखि चल्दैकोमा बल्ल अहिले टेन्डर स्वीकृत भएको हो । धारावीमा कति मानिस बस्छन् भन्ने ठ्याक्कै आकडा छैन । यहाँ ६ देखि १० लाख मानिस बस्ने अनुमान छ । धारावीमा ५८ हजार परिवार र करिब १२ हजार व्यावसायिक कम्प्लेक्स छन् ।
धारावी करिब ५५० एकडमा अवस्थित छ । यो बस्ती सन् १८८२ मा अंग्रेजहरूले बसाएका थिए । यसलाई स्थापना गर्नुको उद्देश्य मजदुरलाई किफायती ठाउँ दिनु थियो । बिस्तारै यहाँ मानिसहरु बस्न थाले र ठूलो बस्ती बन्न गयो । धारावीको जग्गा सरकारी छ तर यहाँ जनताले आफ्नै खर्चमा घर बनाएका छन् । यहाँ यति धेरै स–साना घरटहरा छन् कि जमिन देख्न मुस्किल पर्छ । ५५० एकडमा फैलिएको धारावीमा एक किलोमिटरको दायराभित्र दुई लाखभन्दा बढी मानिस बस्छन् । यसबाट नै कति धेरै जनसंख्या होला अनुमान गर्न सकिन्छ ।
धारावीमा एक सय वर्गफिटको सानो बस्तीमा आठदेखि १० जना मानिस सँगै बस्छन् । कतिपय बस्तीमा कारखानाका साथै घरहरू पनि छन् । करिब ८० प्रतिशत जनताले सार्वजनिक शौचालय प्रयोग गर्छन् यहाँ ।
‘जिद्दी’ मानिसहरुको बस्ती हो धारावी
धारावी एउटा अव्यवस्थित बस्ती हो र यो जिद्दी मानिसहरूको उपनिवेश हो । यहाँको साँघुरो गल्लीमा दैनिक ज्यालादारी गर्ने मजदुर अनि व्यापार गर्नेहरू बस्छन् । महिम र सायन धारावीको दुई छेउमा बनेका रेलवे स्टेसन हुन् । यहाँबाट दैनिक लाखौं मानिस धारावी जाने गर्छन् । यहाँ यति धेरै भीड छ कि भित्र जान ठूलो हिम्मत चाहिन्छ ।
मुम्बईजस्तै धारावी पनि कामको पछि दौडिने मानिसहरूको उपनिवेश हो । फरक यति हो कि मुम्बई सहरमा बस्ने मानिसहरू फ्ल्याट र राम्रा घरहरूमा बस्छन् र धारावीमा बस्ने मानिसहरू साँघुरो, सानो र फोहोर बस्तीमा बस्छन् । तर यो जिद्दी मानिसहरूको उपनिवेश हो, जुन कहिल्यै रोकिँदैन ।
‘स्लमडग’को बस्ती धारावी
‘स्लमडग मिलेनियर’ फिल्मको सुटिङ धारावीमा मात्रै भएको थियो । यो बस्तीमा बस्ने केटा कसरी करोडपति बन्छ भन्ने चलचित्रमा देखाइएको छ । यो बस्ती त्यस्तो ’स्लमडग’ हो, जहाँ हरेक चौथो घरमा एकजना उद्यमी पाइन्छन् । एक अनुमानअनुसार यहाँ २२ हजारभन्दा बढी साना व्यवसायी छन् । बस्तीमा छालाका सामान, गहना र सजावटी भाँडाहरू बनाइन्छ । यस बस्तीमा बनेका सामान स्वदेश तथा विदेशमा बेचिन्छन् ।
यी बस्तीमा ५ हजारभन्दा बढी दर्ता भएका व्यवसायी रहेको एक प्रतिवेदनले देखाएको छ । धारावी बस्तीमा १५ हजारभन्दा बढी कारखाना त एक÷एक कोठामा बनेका छन् । यहाँको रिसाइकल उद्योगले साढे २ लाखभन्दा बढी मानिसलाई रोजगारी दिएको छ, जसमा महिला र बालबालिका पनि छन् । धारावीको प्रत्येक इन्च जमिन कुनै न कुनै उत्पादनमूलक कामका लागि प्रयोग हुने विश्वास छ । एक अनुमानअनुसार धारावीमा बर्सेनि १ अर्ब डलरको कारोबार हुने गरेको छ ।
विभिन्न महामारी आए... तर धारावी रह्यो
धारावीमा यति धेरै भीड छ कि यहाँ फोहोरमात्रै रहन्छ, जसका कारण यहाँ रोग पनि तीव्र रुपमा फैलिन्छन् । सन् १८९६ मा जब प्लेग संसारभर फैलियो, यसले धारावीलाई पनि असर गर्यो, किनभने त्यस समय पनि ठूलो संख्यामा मानिसहरू यहाँ थिए । प्लेग सकिएपछि पनि २५ वर्षसम्म धारावीका जनताले विभिन्न किसिमका रोगको सामना गर्नुपरेको थियो । सन् १९८६ मा हैजा फैलिँदा यसको प्रभाव सबैभन्दा बढी धारावीमा परेको थियो । त्यतिबेला मुम्बईका अस्पतालमा भर्ना भएका अधिकांश धारावीका मात्रै थिए भन्ने विश्वास गरिन्छ ।
अप्रिल २०२० मा धारावीमा कोरोनाको पहिलो केस बाहिर आएको थियो । त्यसपछि यहाँ ’कोरोना बम’ विस्फोट भएको थियो । बिरामीको संख्या दिनप्रतिदिन बढ्दै गयो । सबैभन्दा ठूलो समस्या साँघुरा गल्लीहरूमा सामाजिक दूरी कसरी पालना गर्ने भन्ने थियो । तर धारावीले कोरोनासँग लड्यो र जित्यो पनि ।
अब धारावी पूरै परिवर्तन हुनेछ
सन् १९९९ मा महाराष्ट्रमा भाजपा र शिवसेनाको गठबन्धन सरकार बनेपछि पहिलो पटक धारावी पुनर्विकासको प्रस्ताव आएको थियो । यसपछि २००३÷०४ मा महाराष्ट्र सरकारले धारावीको लागि पुनर्विकास योजना ल्यायो । धारावीको ठूला बस्तीलाई उत्कृष्ट बस्तीका रूपमा मान्यता दिनुपर्छ भन्ने सरकार चाहन्छ । यहाँ झुपडी र कमर्सियल कम्प्लेक्सको सट्टा घर बनाइनुपर्छ भन्ने सरकारले चाहेको छ । धारावी पुनर्विकास परियोजना २० हजार करोड रुपैयाँको छ र १७ वर्षमा पूरा हुने अपेक्षा गरिएको छ । यहाँ बस्नेलाई ७ वर्षभित्र पक्की घरमा राख्ने लक्ष्य राखिएको छ । यो सम्पूर्ण आयोजनामा एक करोड वर्ग फिटभन्दा बढी जमिन आउनेछ ।
यस परियोजनाअन्तर्गत २००० जनवरी १ अघिदेखि धारावीमा बसोबास गर्दै आएकाहरूलाई पक्की घर निःशुल्क उपलब्ध गराइनेछ । तर, २००० देखि २०११ सम्म यहाँ आएर बस्नेहरूले भाडा तिरेर बस्नु पर्नेछ ।
धारावीवासीलाई हुने फाइदा
वास्तवमा सरकारले यसका लागि पूर्ण योजना बनाएको छ । सरकारले एउटा कम्पनीसँग सम्झौता गरेर बस्ती क्षेत्रलाई सुन्दर बनाउने निर्णय गरेको थियो । धारावी पुनर्विकास परियोजनाले यस क्षेत्रका सुकुम्वासीहरूलाई ठूलो फाइदा हुनेछ । सरकारले मुम्बईलाई सुधार्ने दिशामा यो ठूलो कदम चालेको छ ।
यस परियोजना अन्तर्गत धारावीका सुकुम्वासी बस्तीमा बसोबास गर्ने बासिन्दाले निःशुल्क घर पाउने भएकाले उनीहरुको जीवनस्तर उकासिने छ । धारावी पुनर्विकास परियोजनाअन्तर्गत बस्तीमा रहेका साढे ६ लाख जनतालाई पुनर्स्थापना गर्ने लक्ष्य राखिएको छ । – नेपाल समयबाट साभार गरिएको