जनताले स्थानीय तहदेखि केन्द्रिय तहसम्म प्रतिनिधि पाइसकेको अवस्था छ । नेताहरु निर्वाचन नजिकिदाँ किसानका समस्याहरु समाधान गछौं भनेर भाषणमा एजेण्डाहरु तय गर्छन् । तर चुनाव जितेर गएपछि किसानको अवस्था कस्तो छ ? उनीहरुले सरकारबाट पाउने सेवा सुविधाहरु पाए पाएनन् ? भन्ने कुरा सर्वेक्षण भएको छैन । यता किसान भने बाली लगाउने समयमा बिउ, मल र सिचाईको व्यवस्थापन नभएर हरेक समयमा छटपटी रहेका छन् । जनताका प्रतिनिधि नेताहरु आफै कमाउने प्रपन्चमा व्यस्त छन् । निर्वाचनमा भए भरको साथ दिएर निर्वाचित गराइए पनि किसानको मुद्दामा वेवास्ता गरिरहेको राज्य र नेताहरुका सन्दर्भमा स्थानीय कृषकहरु के भन्छन् ? भनी लिएको प्रतिकृया ः
१.
बन्ती पासवान (किसान)
वीरगंज म.न.पा–२०, हरपतगंज
वर्षांैदेखि किसान सबै पीडितमा छौं । हाम्रो क्षेत्रमा सिचाई, बिउ, मलको धेरै ठूलो समस्या छ । हरेक निर्वाचनमा भोट माग्न पार्टीका नेताहरु आउने गरेका छन्् । तर किसानका समस्या भने जिउँकातिउँ नै छन् । भर्खरै पनि निर्वाचन सम्पन्न भएर उम्मेद्वार विजयी भई गइसकेका छन् । भोट माग्दा किसानका सिचाई, बिउ, मलखादका समस्याहरु समाधान गर्छौ भनेर आश्वासन मात्र दिए । अहिले गहुँबाली लगाउने सिजन हो । तर मल, बिउको उपलब्धता भएको छैन । डिपोबाट एक घरलाई १० किलो मल मात्र दिन्छ । त्यति मलले खेतमा हाल्न पुग्दैन । एक बोराको मूल्य २ हजार ५ सय पर्ने मललाई ४ हजार तिरेर ल्याउनु पर्छ । भारतबाट मल ल्याउँदा पनि प्रहरीले समात्छ । समयमा मलखाद उपलब्ध नभए पछि कसरी खेती गर्ने ? कसरी परिवार पाल्ने ? सिचाइ, बिउ र मलखादको सरकारले व्यवस्था नगर्दा राम्रो उत्पादन भएको छैन ।
२.
आशा देवी(किसान)
वीरगंज म.न.पा–२६, अठ्राहासुगौली
वर्षांैदेखि किसानहरु धेरै समस्यामा छौं । सिचाईको लागि नहर मात्र छ, तर पानी भने कहिले पनि आउदैन । हिउँद, वर्षा सदैव बोरिङ्गबाट पानी लगाई बाली लगाउनु पर्छ । बोरिङ्गको पानी घण्टाको ५ सय रुपैयाँ तिर्नुपर्छ । हरेक पटक स्थानीय र प्रतिनिधी सभा र प्रदेश सभा सदस्य पदका लागी भोट माग्न घरदैलोमा उम्मेद्वारहरु आउँछन् । जितेपछि किसानका समस्या समाधान गर्छु भन्छन् । तर अहिलेसम्म केहि पनि लागु भएको छैन । समस्या जस्ताको तस्तै छ । नेताहरु जितेर गएपछि फर्केर गाउँमा आउदैनन् । सिचाईको लागि पानी किन्नु पर्ने, महङ्गो बिउ,मल किनेर खेति गर्नु धेरै कठिन छ । गाउँमा थोरै मात्र मल पाइन्छ । त्यति मलले मात्र खेतमा हाल्न पुग्दैन । प्रशस्त पैसा भए मात्र खेति गर्न सकिन्छ । पैसा छैन भने खेति गर्न पनि गाह्रो छ ।
३.
रामजी पंडित(किसान)
वीरगंज म.न.पा–२०, हरपतगंज
खेती गर्नका लागि हामीलाई एकदमै दुःख भएको छ । १ नम्बरको नहर छ तर पानी आउदैन । हरेकवर्ष बजेट पास हुन्छ । तर नहरको सरसफाई भने कहिले गरेका छैनन् । पानी ल्याउने नहर फोहोर फ्याल्ने नाला जस्तो भएको छ । बालीनाली लगाउने समयमा मलखाद पाइदैन । जसोतसो गरेर बाली लगाउछौं । तर सोचे जस्तो अन्न उत्पादन हुदैन । मल १० किलो मात्र पाइन्छ । कतिपयले त मल पाएका पनि छैनन् । इन्डियाबाट ब्याल्कमा आएको मल प्रति बोराको ४ हजार पर्छ । त्यो मल हाले पनि त्यसबाट खासै उत्पादन भने हुदैन । न त धानको समय न त गहुँको समयमा मलखाद नै पाइन्छ । निर्वाचनको बेलामा सबै नेताहरुसंग बिउबिजन मल लगायत कृषकका समस्याहरु राखेको हो । मलखादको समस्या हुन दिदैनांै भनेर आश्वासन त दिएका हुन् । तर आजसम्म पनि केही हुन सकेको छैन । स्थानिय सरकारले धेरै जग्गा हुनेलाई मात्र बोरिङ्ग दिएको छ । ४,५ कठ्ठा जग्गा हुनेलाई दिदैनन् । जसको खेतमा बोरिङ्ग छ, उनीहरु खेतिपातीको काम गर्दैनन् । बोरिङ्गको मर्मत गरेर खेती गर्ने किसानलाई पनि बोरिङ्ग चलाउन दिदैनन् । जसले गर्दा भाडामा खेती गरेर साहुलाई बाली बुझाउन पनि सकेको अवस्था छैन ।
४.
रम्भा देवी(किसान)
वीरगंज म.न.पा–१८,भवानीपुर
धानबालीको समयमा पनि मलखाद पाउन सकेनौं । अहिले पनि गहुँ बाली लगाउने समयमा भएको छ । तर मलखाद पाउन सकेका छैन । चुनावमा नेताहरु भोट माग्न आउँदा किसानलाई मलखाद, बिउको व्यवस्था गरिदिन्छु । सिचाईको व्यवस्था मिलाई दिन्छु भनेर आशा देखाएर चुनाव जितेर गएका छन् । गाउँका किसानहरुका समस्या भने जस्ताको तस्तै छ । मलखाद अहिलेसम्म पनि प्रशस्त पाइएन । बाली लगाउने समय बितेर आएको मलको के काम हुन्छ । किसानहरुलाई सबै सेवाहरु दिन्छु भनेर भोट दिए । अहिलेसम्म कोही पनि हाम्रो समस्या समाधान गर्न आएको छैन । यहाँको डिपोमा मलखाद नै छैन भने कसरी खेती हुन्छ ? धैरे समस्या छ । भारतबाट व्याल्कमा मल प्रति बोरा ४ हजार तिर्नुपर्छ । तर कृषि सामाग्रीको मलको जस्तो गुणस्तर पनि हुदैन ।
५.
कैलास प्रसाद कुर्मी(किसान)
वीरगंज म.न.पा–१८, भवानीपुर
खेती किसान गर्न अहिले धेरै मुस्किल छ । नेपालमा मलखाद पाइरहेको छैन । भारतबाट व्याल्कमा आएको मल बढी मूल्यमा किन्नु परेको छ । अहिले नेपालको कृषि सामाग्रीबाट १ हजार ८ सयमा पाइने पोटास भारतबाट ल्याएको २ हजार पर्छ । तर पनि बालीको लागि कुनै काम नलाग्ने छ । हाले नहालेको पनि उस्तै नै हुन्छ । डिपो संचालक राजेश यादव आज,भोली आउँछ भनेर आश्वासन मात्र दिइरहेको छन् । हामीलाई मलखाद, बिउ र सिचाई धेरै समस्या छ । समयमा बाली लगाउन पनि सकेको छैनौ । नेताहरु जितेर गएपछि गाउँमा फर्किदैनन् । काठमाण्डौमा बसेर हाम्रो समस्या कसरी समाधान गर्छन् ?
६.
रन बहादुर पटेल (किसान)
वीरगंज म.न.पा– १८, भवानीपुर
अहिलेसम्म मलखाद पाएको छैन । बारा जिल्लाबाट २ हजार ५ सयमा १ बोरा ल्याएको छु । चुनावको बेलामा नेताहरु गाउँमा आउँदा जनताको सुख, दुखमा साथ दिन्छौ । किसानलाई चाहिने मलखाद समयमा उपलब्ध गछौं भन्छन् । तर खै त सबै खेतबारी खाली छ । गहुँ लगाउनु पर्ने समय बित्न लाग्यो । मल नभएको कारण गहुँ लगाउन सकेका छैनौं । बिना मलको गहुँ बाली लगाए उब्जनी कम हुने लागत खर्च पनि नउठ्ने भएकोले गहुँ बाली लगाउन सकेको छैन । विगत १ वर्षदेखि मलखादको समस्या भएको छ । लगानीभन्दा उत्पादनमा पनि कमि भएको छ ।
७.
किशोरी राउत(किसान)
वीरगंज म.न.पा– १८, भवानीपुर पर्सा
खेतीकिसान गर्नका लागि सरकार र नेताबाट कुनै सुविधा छैन । चुनावमा नेताहरु जितेपछि सबै सुविधा दिन्छु भनेका थिए । अहिलेसम्म जितेर गएका उम्मेद्वारले कुनै पहल गरेका छैनन् । पैसाले पनि मलखाद पाएको छैन । यहाँको डिपो संचालक र वडाध्यक्ष भन्छन् हामीसंग मलखाद नै छैन कहाँबाट दिने त ? १०, १२ बोरा मलखादमा पुरै वडावासीलाई दिन सम्भव पनि छैन । भोट लिनका लागि हामी किसानहरुलाई सुविधा दिने आश्वासन मात्र दिए । काम भने कुनै पनि गरेका छैनन् । डिपोको संचालक पनि डिपो बन्द गरेर हिडेका छन् ।
८.
धर्मेन्द्र पटेल (किसान)
वीरगंज म.न.पा –२६,अठराहा सुगौली
मलखादको धैरै नै समस्या छ । धान रोप्ने समयमा मल नै खेतमा नहाली रोपेको हो । हाम्रो क्षेत्रमा पानी पटाउन पनि घण्टाको ५ सय तिर्नुपर्छ । नहर त छ तर नहरमा पानी आउदैन । अहिले गहुँ छर्ने समय बित्न लागिसक्यो । तर पनि प्रशस्त मल पाइदैन । जति खेत भए पनि एक घरलाई २५ किलो मात्र डिपोबाट वितरण गरेको छ । वर्षामा धान खेतीमा बिना मल नै लगाएको हुदाँ त्यति राम्रो उत्पादन भएन । मल बिना नै गहुँ छर्दा लागत खर्च पनि उठ्दैन । भारतबाट ल्याएको मल किनेर हाल्दाँ पनि राम्रो उत्पादन हुदैन । अहिले गहुँ छर्नका लागी २ बोरा मल लाग्छ । सिचाइको लागी त केही पनि सुविधा छैन । सरकारबाट किसानले पाउने सुविधा नपाएपछि कसरी खेती गर्ने हो । आकाशको पानी र बोरिङ्गको पानी किनेर मात्र खेती गर्नु परेको छ । जुनै नेताहरुले जितेर गए पनि किसानको समस्यामा कहिले पनि ध्यान दिएका छैनन् ।
९.
सुरज प्रसाद कुर्मी (किसान)
वीरगंज म.न.पा–१८,भवानीपुर
हामीलाई बाली लगाउने समयमा मलखादको सधै नै समस्या भएको छ । जहिले पनि खेती गर्ने समयमा बिउ, मलको समस्या हुन्छ । धान रोप्ने बेलामा पनि मलको समस्या थियो । अहिले चुनाव भएर नेताहरुले पनि जितेर गएका छन् । तर भोट माग्ने बेलामा किसानको समस्या समाधान गर्छु । भनेर प्रतिबद्धता गरेको भए पनि गहुँ बाली लगाउने समयमा पनि मलको समस्या भने जस्ताको तस्तै छ । डिपोबाट पनि मल पाएका छैन । आफ्नो पार्टीका चिनेजानेको व्यक्तिले मात्र मल लिइरहेका छन् । डिपोभन्दा बाहिरबाट मल किन्दा ३ हजार ६ पर्छ ।