आयोजक नवजनजागृती यूवा क्लब सिमरालाई १–० ले हराउँदै साविक विजेता त्रिभूवन आर्मी रुस्लान दशौं सिमरा गोल्डकपको उपाधि रक्षा गर्ने होडमा उभिएको छ ।
बुधबार सिमरा रङ्गशालामा भएको प्रतिष्पर्धात्मक खेलमा त्रिभूवन आर्मीका लागि खेलको ५० औं मिनटमा कप्तान भरत खवासले एकमात्र निर्णायक गोल गरे । दोश्रो हाफको शुरुवातमा सेसाङ लिम्बुको पासलाई भरतले गोलमा परिणत गरेका थिए । स्थानीय यूवा खेलाडीले भरिएको नवजनजागृती यूवा क्लब विरुद्ध आर्मीका अनुभवी खेलाडी चल्न नसक्दा जीतका लागि आर्मीले अन्तिम सम्म संघर्ष गर्नुप¥यो । पहिलो हाफको शुरुवातमा आर्मीविरुद्ध आक्रामक रुपमा प्रस्तुत भएको आयोजक सिमराका खेलाडीले खेलको अन्तिम सम्मपनि आर्मीलाई खेलमा हावी हुन दिएनन् ।
खेलको १२ औं मिनटमा आयोजकले आर्मीविरुद्ध अग्रता लिने सुन्दर अवसर गुमायो । सुरज ठकुरीले २५ यार्ड टाढाबाट प्रहार गरेको फ्रिकिक आर्मीका टंक बस्नेतले गोललाईनबाट क्लिएर गरेर बचाए ।
१४ औं मिनटमा आयोजकका नाकोटाले अग्रतालिने अवसर चुकाए । उनले डिबक्स भित्रैबाट गरेको प्रहार क्रसबार माथी गयो । त्यसको केहिबेरमै आयोजकको अर्को प्रहार आर्मीका गोलरक्षक विकेश कुथुले बचाए । १६ औं मिनटमा डि–बक्स बाहिरबाट प्रज्वल थापामगरको प्रहार विकेशले पञ्च गरेर क्रसबार बाहिर पठाए ।
खेलको २४ औं मिनटमा आर्मीका भरत खवासले सुन्दर अवसर गुमाएका थिए । टंक बस्नेतले डिबक्स भित्रै निकालेको पासलाई भरतले फितलो प्रहार गर्दा आयोजकका गोलरक्षक टेकेन्द्र थापाले बचाउ गरे ।
पहिलो हाफ गोलरहित बराबरीमा रोकेको आयोजक विरुद्ध आर्मीले दोश्रो हाफको शुरुवातमै अग्रता बनायो । ५० औं मिनटमा आर्मीका भरत खवासले सेसाङ लिम्बुको पासलाई सदुपयोग गर्दै टिमलाई अग्रता दिलाएका थिए ।
५५ औं मिनटमा आयोजकका निरज थापामगरले बराबरी गोल गर्ने अवसर चुकाए । प्रज्वल थापामगरको पासमा निरजले वन भर्सेस वनको स्थिती खेर फाले । डि बक्सभित्रैबाट उनले गरेको प्रहारले गोलपोष्टको दिशा लिन सकेन ।
खेलको ५८ औं मिनटमा आर्मीका सन्तोष तामाङले अग्रता दोव्वर पार्ने अवसर गुमाए । टंक बस्नेतको क्रसमा सन्तोषको प्रहार सेकेण्डबार हुँदै बाहिरियो ।
खेलको ६० औं मिनटमा आर्मीका भरत खवासले अर्को अवसर गुमाए । सेन्टरलाईनबाट एकल प्रयासमा बल अघि बढाएका खवासको फिनिसिङ फितलो बन्दा आयोजकका गोलरक्षकले सहजै बचाउ गरे ।
खेलको ७० औं मिनटमा आयोजकका निरज थापाको क्रसमा सुनील खड्काको अर्को प्रहार विफल भयो । सुनीलको प्रहार आर्मीका जितेन्द्र कार्कीले हेडिङ मार्फत क्लिएर गरे ।
खेलको अन्तिम इन्जुरी समयमा पाएको अवसर सदुपयोग गर्न नसक्दा आयोजकको यात्रा सेमीफाइनलमै व्रेक भयो । सुनिल खड्काको क्रस बल डिबक्स भित्र नाकोटाले सम्हाल्न सकेनन् सोही बल प्रज्ज्वलले प्रहार गर्दा पोष्ट नजिकैबाट बाहिरिएको थियो ।
आयोजक विरुद्धको खेलमा आर्मीका डिफेण्डर विमल पाण्डे म्यान अफदि म्याच घोषित हुँदै १० हजार नगदसहित ट्रफि हात पारे । विहिबार प्रतियोगिताको अन्तिम सेमीफाइनलमा दोश्रो संस्करणको उपाधि विजेता हिमालयन शेर्पाले गत वर्षको उपविजेता थ्रीस्टार क्लबको सामना गर्दैछ ।
हारपछि नवजनजागृतिका प्रशिक्षक सोनु क्षेत्रीले लगातारको प्रतियोगितापछि खेलाडीहरु थाकेकाले सोंचे अनुसारको प्रदर्शन गर्न नसकेको बताए । ‘१० दिनमा ५ वटा प्रतियोगिता खेलेका छौं, केहि खेलाडी घाइते भएका छन्’ प्रशिक्षक क्षत्रीले भने । आर्मीका अनुभवी खेलाडीसंगको प्रतिष्पर्धामा फिनिसिङमा कमजोरी रहेकाले हार व्यहोर्नुपरेको क्षत्रीले बताए ।
आयोजकसंग १–० को संघर्षपूर्ण जितपछि आर्मीका प्रशिक्षक नविन न्यौपानेले आयोजकका यूवा खेलाडीले उत्कृष्ट प्रदर्शन गरेको बताए । ‘वीरगञ्ज र सिमरामा हामिले नवजनजागृतिसंग खेल्यौं, यूवा भाईहरुको प्रदर्शन अत्यन्त राम्रो छ’ प्रशिक्षक न्यौपानेले भने । दोश्रो हाफमा पाएका केहि अवसरलाई सदुपयोग गर्न नसक्दा जितका लागि अन्तिमसम्म संघर्ष गर्नुपरेको उनले बताए । सेमीफाइनलमा स्कोर भन्दा जित महत्वपूर्ण रहेको भन्दै प्रशिक्षक न्यौपानेले जितबाट सन्तुष्ट रहेको प्रतिकृया दिए ।
दिनेश हेम्जन, नवयूग श्रेष्ठ जस्ता खेलाडीविना मैदान उत्रिएको आर्मीले वीरगञ्जमा सम्पन्न दोश्रो विशाल मेमोरियल गोल्डकपमापनि सिमराको नवजनजागृतिलाई ३–० ले पराजित गरेको थियो । लिगपछि आराम गरिरहेका उनिहरु आगामी आहा–रारा गोल्डकपबाट टिममा फर्कने आर्मीका प्रशिक्षक नविन न्यौपानेले बताए ।
आर्मी चौथोपटक सिमरा गोल्डकपको फाइनलमा
जितसंगै त्रिभूवन आर्मी क्लब चौथोपटक सिमरा गोल्डकपको फाइनलमा प्रवेश गरेको छ ।
सिमरा रङ्गशालामा ३ पटक फाइनल खेलिसकेको आर्मीले छैठौं र नवौं संस्करणको उपाधि जितेको थियो भने आठौं संस्करणमा संकटासंग पराजित हुँदै उपविजेतामा सिमित भएको थियो । आगामी शनिवार हुने उपाधि भिडन्तमा अब आर्मीले थ्रीस्टार र हिमालयन शेर्पाविचको विजेतासंग स्पर्धा गर्नेछ ।
प्रतियोगिताको विजेताले ६ लाख तथा उपविजेताले ३ लाख नगद सहित ट्रफि प्राप्त गर्नेछन् ।