विश्वकप फुटबलको फाइनलमा अर्जेन्टिनासँग पराजित भएपछि फ्रान्सका फ्यान आक्रोशित भएका छन्। फ्रान्सको राजधानी पेरिसमा हजारौँ समर्थकले दंगा गरेको अन्तराष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन्।
फ्रान्सका समर्थकले सवारीसाधन तोडफोड र आगजनी गरेका छन्। पेरिसमा मात्र होइन हिंसा अन्य शहरमा पनि फैलिएको थियो। स्थिति नियन्त्रणमा लिन प्रहरीले अश्रुग्यास छोड्नुपरेको थियो। पेरिसमा हजारौँ प्रहरी तैनाथ गरिएको छ। लियोन, निसमा पनि हिंसात्मक घटना भएको प्रहरीले जनाएको छ। पेरिसको चर्चित च्याम्प्स एलिसिजमा पनि फ्यान आपसमा भिडेका थिए।
पानीको फोहोरा, अश्रुग्यास छोडियो‘ १४ हजार प्रहरी तैनाथ
फ्रान्सको खेल हेर्न फ्रान्सेली शहरमा लाखौँ प्रशंसक सार्वजनिक स्थानमा भेला भएका थिए। तर, अर्जेन्टिनासँग ४–२ ले पराजित भएपछि उनीहरू आक्रोशित बने। आक्रोशित जमातले प्रहरीसँग झडपसमेत गरेका छन्। धेरै मानिसलाई हिरासतमा राखिएको छ। फ्यानलाई नियन्त्रण गर्न धेरै ठाउँमा वाटर क्यानन पनि प्रयोग गरिएको सञ्चारमाध्यमले जनाएका छन्।
फ्रान्सेली राष्ट्रपति इमानुएलले सम्हालेका थिए खेलाडीलाई
फाइनलमा पराजित भएपछि फ्रान्सका खेलाडी भावुक बनेका थिए। राष्ट्रपति इमानुएल म्याक्रोन फ्रान्सेली खेलाडीहरूलाई भेट्न मैदान पुगेका थिए। उनले निराश खेलाडीलाई सान्त्वना दिए। म्याक्रोनले फ्रान्सका स्ट्राइकर केलियन एमबाप्पेलाई सान्त्वना दिएको भिडियो सामाजिक सञ्जालमा भाइरल बनेको छ। फ्रान्सका लागि फाइनलमा एम्बाप्पेले ह्याट्रिक गरेका थिए तर पनि उनले टोलीलाई हारबाट जोगाउन सकेनन्।
म्याक्रोनले ट्विट गर्दै अर्जेन्टिनालाई बधाई दिए
फ्रान्सको हारपछि राष्ट्रपति म्याक्रोनले ट्विट पनि गरेका थिए। उनले लेखेका छन्, फ्रान्सेली टोलीलाई आफ्नो करियर र यो विश्वकपमा लड्ने भावनाका लागि बधाइ। तपाईँले देशभर र विश्वभरका समर्थकलाई रोमाञ्चित गर्नुभएको छ। साथै उनले अर्जेन्टिनालाई जितको लागि बधाइ समेत दिएका छन्।