पर्साको वीरगंज महानगरपालिका वडा नं. २२ मनियारीका प्रदिप यादव अब जिल्लाका नेता मात्र रहेनन् । राजेश्वर प्रसाद यादव र कान्ति देवीको कोखबाट बि. स. २०३२ बैशाख २४ गते जन्मिएका प्रदिप यादव अब केन्द्रका सांसद हुन् । २०५६ सालदेखि राजनीतिमा अग्रसर सांसद यादव फोरम नेपालको जिल्ला अध्यक्ष भई २०७२ सालको मधेश आन्दोलनमा अग्रणी भूमिका निर्वाह गर्ने अगुवा नेता पनि हुन् उनी । पछिल्लो समयमा पर्साको क्षेत्र नम्बर १ बाट सांसद बनेका यादव अहिले प्रदेश नं २ को मात्र नभई नेपालकै चर्चित युवा नेताको रुपमा उदाउँदै छन् ।
संविधान संशोधनको मुख्य एजेण्डा लिएर केन्द्र सरकारसँग वार्गेनिङ्गमा रहेको पार्टी संविधान संशोधनको लिखित सम्झौता गरी वर्तमान सरकारमा समेत सामेल भएको छ । यो कुरा पूरा नभए आफ्नो पार्टी सरकारबाट बाहिरिएर फेरि संघर्षमा जाने बताउने पर्सा १ का साँसद यादव यस क्षेत्रमा कांग्रेसका नेताहरुले अहिले सम्म गर्न नसकेको काम आफ्नो कार्यकालमा गरेर देखाउने दाबी गर्छन् । यिनै सांसद यादवसंग मध्य नेपालको लागी गरिएको बिशेष कुराकानी :
१) अहिले तपाई के मा व्यस्त हुनुहुन्छ ?
देश भरी नै अहिले वाइडवडी प्रकरण चल्दैछ । वाइडबडी विमानमा भएको घोटालाको अनुसन्धान, छानविन तथा पर्दाफास गर्न तथा दोषीलाई कार्वाही गराउने काममा लागि परेको छु ।
२) पर्सा जिल्ला त्यसमा पनि तपाईको क्षेत्रमा अहिलेसम्म विकास हुन नसक्नुको कारण के पाउँदै हुनुहुन्छ ?
सुरुदेखि नै मधेशप्रति विभेद थियो । जुन सुुकै सरकार आए पनि मधेशलाई अवहेलना गर्ने आफ्नो नठान्ने चलन थियो । मधेशबाट सुनको अण्डा लिने तर विकासको नाममा शुन्य बजेट दिएर पर्सा लगायत मधेशलाई नै उपेक्षा गरिएको छ । पर्सा जिल्लाकै कुरा गर्दा वीरगंज भन्सार, राजस्व, आईसिपी, ड्राईपोर्ट उद्योगपति आदि विभिन्न ठाउँबाट वर्षेनी चार खरबभन्दा बढि राज्यले संकलन गर्छ । तर बजेटको नाममा जिरो दिन्छ । बहुदल भन्दा अगाडी राजाको कुरा गरौं वा बहुदल आएपछि । जस्को सरकार आए पनि पर्सा जिल्ला अथवा वीरगंजलाई नजर नै गरिएको छ । वीरगंजको नारायणी उप-क्षेत्रिय अस्पताल वीर अस्पताल १०४ वर्ष को भयो । वीरअस्पताल सँगसँगैको अस्पताल भएर पनि यसको स्तर उन्नतिको लागी कुनै पहल भएन । एक टेलर ईट्टा समेत नखसाए कै कारण नारायणी अस्पताल कोमामा गईसकेको अवस्था थियो । तर अहिले आएर मेरो तथा उपप्रधान एवं स्वास्थ मन्त्रि उपेन्द्र यादवको विशेष पहलमा नारायणी उप–क्षेत्रिय अस्पताल केन्द्रिंय अस्पतालको रुपमा रुपान्तरण भएको छ । चाडै नै यसको कार्य प्रगति अगाडी बढ्छ । पर्सेली जनतालाई मात्र होइन, बारा, रौतहट, सर्लाही, मकवानपुर लगायतका जिल्ला वासीलाई यो अस्पतालले सेवा दिने गर्छ । बहुदल आएको २९ वर्ष भईसक्दा पनि कुनै पनि सरकारले यसको वास्ता गरेको थिएन । तर मैले चुनावको बेला जनतासंग गरेका प्रतिबद्धता पुरा गरें । यस्तै वीरगंजको नारायणी रंगशाला २०४०÷४१ सालमा यहाँका स्थानीयले व्यक्तिगत सहयोगमा बनाएका हुन, कुनै सरकारले त्यसमा लगानी लगाएको होईन । सरकारको विभेदकै कारण अहिले सम्म रंगशंला एकदमै जिर्ण अवस्थामा छ । कुनै बेला ढल्न, सक्छ । त्यसकारण नारायणी रंगशालाको स्तर उन्नती गरी चाँडै भन्दा चाँडै राष्ट्रिय रंगशालाको रुपमा विकास गराउने प्रयासमा अहोरात्र खटिएको छु ।
३) वीरगंज स्थित नारायणी उप-क्षेत्रिय अस्पताल केन्द्रियस्तरको अस्पताल भयो भनेर हल्ला छ । तर हालसम्म अस्पताललाई केही पनि आधिकारीक पत्र प्राप्त भएको छैन ? भन्ने सुनिन्छ नि ?
क्याबिनेटले मन्जुरी दिइसकेको छ । त्यसको प्रकृया हुन्छ । त्यो पत्र चाँडै आउँछ । त्यसमा निराष हुने आतिने कुरा छैन । हामी २९ वर्षसम्म आतिएनौ भने २÷३ महिनामा के नै विग्रिन्छ र ? क्याविनेटबाट मन्जुरी दिईसकेपछि चाँडै नै काम अगाडी बढ्छ । त्यसको लागी आवश्यक २० विगाहा जग्गा जुन चाहिन्छ त्यो पनि खोजिसकेका छौ । चाँडै नै नारारणी अस्पतालको नाममा त्यो जग्गा जान्छ । त्यसपछि सरकारले टेन्डर गरेर शिक्षण अस्पतालको रुपमा विकास गर्छ भने कुरामा म पूर्ण विश्वस्त छु ।
४) तपाई आफ्नो क्षेत्रको विकासको लागी के गर्दै हुनुहुन्छ ?
आफ्नो क्षेत्रको विकास, यहाँको युवाको रोजगार लगायत विभिन्न विकास कार्यको लागी स्थानीय सरकार, प्रदेश सरकार र केन्द्र सरकारसंग आफ्नो शक्ति, क्षमताले भ्याएजति पहल गर्दैछु । र चाँडै नै यहाँका जनताले राहत पाउँछन् भने मलाई विश्वास छ । हामी आफ्नो कार्यकाल भित्रमा जनतासंग गरेको वाँचा भन्दा डबल गरेर देखाउँछौ ।
५) प्रदेश नम्बर २ को मुख्यमन्त्री तपाई कै पार्टीको हुनुहुन्छ । तर पनि प्रदेश मातहतका रंगशाला भाडामा लिएर चलाउने जुन निर्णय गर्नु भएको छ । यसलाई यहाँले कुन रुपमा लिनु भएको छ ?
यो निर्णय प्रदेशको होइन केन्द्र सरकारको हो । केन्द्र सरकारको निर्णयलाई प्रदेश सरकारले सहमति मात्र दिएको छ । केन्द्र सरकारले गरेको निर्णयको नियम अनुसार प्रदेश सरकारले एउटा सहमति पत्र मात्र दिएको हो । नियम अनुसार प्रदेश सरकारलाई गर्नु नै पर्छ । जनकपुरमा प्रदेशिक रंगशाला बनाउने केन्द्र सरकारकै निर्णय हो । यो प्रदेश सरकारको निर्णय होईन ।
५) प्रदेश नम्बर २ को सरकारले प्रदेश प्रहरी ऐन र मदर्शा शिक्षा ऐन संचलान गर्ने तयारीमा लागेको छ । यो ठिक छ ?
यो राम्रो कुरा हो । आफ्नो शासन, प्रशासन हुदैन भने प्रदेशको मुख्यमन्त्री, मुखिया के गर्छ ? बिना सेनाको सेनापतिलाई काम गर्न कति असजिलो हुन्छ भने कुरा सबैलाई थाहा नै छ । त्यसकारण जबसम्म आफ्नो हातमा शासन, प्रशासन र आत्म निर्णय गर्ने अधिकार हुदैन । तबसम्म प्रदेश सरकारले केही गर्न सक्दैन । त्यसैले प्रदेश सरकारले ल्याएको प्रदेश प्र्रहरी ए्ेन र मदर्शा शिक्षा ऐन स्वागत योग्य छ ।
६) प्रदेश नम्बर २ को शैक्षिक अवस्था भद्रगोल छ, । यसमा कुनै सुधार नै नगरी निश्चित समुदायको उत्थानको लागी ल्याईएको मदर्शा शिक्षा बोर्डले सार्थकता पाउँछ त ?
निश्चित समुदाय होईन । हाम्रै दाई, भाई र घरपरिवारका हुन् । त्यसलाई काखापाखा गर्नु हुन्न । सबै मधेशी एक हौ । यसमा कुनै जातजातिको होईन । तर यसमा जो सदियो देखि पिछडिएको वर्गलाई पनि उत्थान गर्नुपर्छ । शैक्षिक स्तर उकास्नको लागी स्थानीय, प्रदेश र केन्द्र तीनवटै सरकारले मिलेर शिक्षामा देखिएको बेतिथिलाई न्युनिकरण गरी शैक्षिक अवस्था उजागर गर्ने कार्यमा लाग्नु पर्छ ।
७) निर्वाचनको बेला जनतासंग गरेका प्रतिबद्धताहरु के के पुरा गर्नु भयो ? अबको २÷३ वर्षमा पर्सा क्षेत्र नं. १ का जनताले अझै के के पाईसक्ने काम यहाँले गर्नु हुन्छ ?
संबिधान संशोधनको मुख्य एजेण्डा लिएर चुनाव लडेका थियौ । त्यसको लागी घच्घच्याउने काम हामी गरि नै रहेका छौ । संघिय सरकारले चाँडै नै संविधान संशोधन गर्छ । त्यस्तै विकास निर्माणको काममा कुनै पनि वाँचा गरेका थिएनौ । तर २९ वर्षसम्म नेपाली कांग्रेस, नेपाल कम्युनिष्ट पार्टीले यो क्षेत्रमा गर्न सकेन । त्यो काम म ४÷५ वर्षको कार्यकालमा गरेर देखाउँछु र मैले गरेको काम जनताले पनि देखि नै रहेका छन् ।
खासमा भन्ने हो भने संघीय सरकारका सांसद विकासको लागी बनेको हुदैन । संघीय सांसदको काम कानुन, नियमवाली, संविधान बनाउने तथा संविधान संशोधन गर्ने काम हो । विकासको सम्पूर्ण काम अहिले स्थानीय सरकार र प्रदेश सरकारले पाएका छन् । तर हामी समन्वयकारी भुमिका निर्वाह गर्छाै । संघीय सांसदलाई विकासको लगाी चार करोड रुपैया मात्र आउने गर्छ, त्यसमा हामी के के नै गर्न सक्छौ र ? त्यसैले विकासको काममा पनि हामीले स्थानीय सरकार र प्रदेश सरकारसंग समन्वय गरेर चाँडै नै राम्रो विकास गरेर देखाउँछौ । मैले आफ्नो कार्यकालमा पर्सा क्षेत्र नं. १ को कुनै पनि सडक कच्ची नरहने गरी विकास गर्ने विश्वास दिलाउछु ।
८) संविधान संशोधनको मुख्य एजेण्डा लिएर यहाँहरु सरकारमा सहभागी हुनु भयो तर अहिलेसम्म संविधान संशोधन गराउन सक्नु भएन । अझै पनि सरकारमा बस्नुको औचित्य छ ?
सरकारसंग आफै पूर्ण बहुमत छ । सरकारलाई हाम्रो आवश्यकता छैन । हाम्रो पार्टीको १६ वटा सांसदको बहुमत लिएर सरकारलाई केही फरक पर्नेवाला छैन । हामी रहे नरहे पनि सरकार टसमस हुनेवाला छैन । तर हामी सरकारमा सरकारलाई दबाव दिनको लागी गएका हौं । सरकारमा रहेर जति दबाव दिन सकिन्छ त्यति बाहिर रहेर दिन सकिदैन । सरकारमा सहभागी भएपछि जनमसिद्ध नागरिकता भएका सन्तानलाई नागरिकता दिने कुरामा हामी सहमत गरायौ । जुन बाहिर रहेर सायद हुदैन्थ्यो । त्यस्तै सरकारले संविधान संशोधनको प्रतिवद्धता गरेपछि मात्र संविधान संशोधनको दुई बुन्दे सहमति गरेर मात्र हामी सरकारमा सहभागी भएका छौ । मधेशी जनताको अधिकार स्थापित तथा जनतासंग गरेका प्रतिबद्धतालाई पुरा गराउने उदेश्यले नै सरकारमा गएका छौ । मधेशी जनताको खोसिएको अधिकार पुरा गराउनु छ । र मलाई लाग्छ चाँडै भन्दा चाँडै बर्तमान सरकारले संविधान संशोधन गर्छ ।
९) वर्तमान सरकारले संविधान संशोधन गरेन भने अबको यहाँको पार्टीको रणनिती के हुनेछ ?
वर्तमान सरकारले संविधान संशोधन गर्छ भने हामीलाई विश्वास छ । गरेन भने साधुको मठ वा बिहेमा बाजा बजाउन गएका छैनौ । मधेशी जनताको अधिकार दिलाउन गएका छौ । त्यो अधिकार नै प्राप्त भएन भने कुनै बेला पनि सरकारबाट बाहिरिएर संघर्षमा जान सक्छौ ।
१०) पर्सा जिल्लाको ईतिहास हेर्ने हो भने पर्सा क्षेत्र नं. १ बाट निर्वाचित कुनै पनि पार्टीका एक जना व्यक्ति दोस्रो पटक चुनाव जितेका छैनन् । यसलाई यहाँले आफनो मुल्याङकन कसरी गर्नु हुन्छ ?
तपाईको भनाईमा म सहमत छु । किन भने जो पनि यहाँबाट जितेर जान्छ त्यो पछि जनतालाई छोडिदिन्छ । तर म जनताको सेवक, जनता मेरो भगवान, मेरो अभिभावक र जनता मेरो लागी प्यारा छन् । जनताले जे भन्छ त्यही म गर्छु । जिल्लाको मुद्धा, भ्रष्टाचार वा मधेशको मुद्धामा यो क्षेत्रबाट प्रतिनिधीत्व गर्ने पहिलो व्यक्ति हुँ जो सांसद देखि पत्रकार र सडकसम्म आवाज उठाउँदै आएको छु । जसरी मैले अहिले काम गर्दैछु त्यो पर्सा क्षेत्र नं. १ को जनता मात्र नभई समग्र मधेशकै जनताले मुल्याङकन गरिरहेका छन् । यस क्षेत्रबाट निर्वाचित जति पनि सांसदले यति वर्षसम्म जुन विकास गर्न सकेका छैनन् त्यो भन्दा बढि म गरेर देखाउँछु भन्ने अठोट लिएको छु ।
११) रोजगारको लागी दिनहु नेपाली युवाहरु बिदेशीने क्रम बढिरहेको छ । हजारौ युवालाई रोजगार दिन सक्ने सरकारी मातहतकै बन्द अवस्थामा रहेका चिनीमिल, कृषि औजार कारखानालाई पुनः संचालउनमा ल्याउन तपाई के गर्दै हुनुहुन्छ ?
बन्द अवस्थामा रहेका कृषि औजार र चिनी मील कारखानाको पाटपूर्जालाई समेत कांग्रेसले खाईदियो । बन्द यी कारखानलाई पुनः संचालनमा ल्याउन म पहल पनि गरेको छु र अहिले पनि संघिय सरकारमा प्रयासरत छु । युवाहरुको रोजगारीकै लागी प्रदेश प्रहरी ऐन, लोक सेवा आयोग ऐन ल्याउन संघीय सरकारसंग लडिरहेका छौ । जसमा प्रदेश प्रहरी ऐन पास पनि भईसकेको छ भने लोक सेवा आयोगको ऐन पास हुन बाकी छ । यो पास भईसकेपछि युवाहरुको रोजगारीको बाटो खुल्छ र घरघरमा युवाहरुको रोजगारी हुन्छ भने म विश्वास दिलाउन चाहन्छु ।