आर्थिक तथा औद्योगिक नगरीको रुपमा परिचित वीरगञ्जमा पहिलो पटक राष्ट्रिय स्तरको अन्तरविद्यालय बुद्धिचाल प्रतियोगिता आयोजना हुँदैछ । वीरगञ्जको मुनलाईट माद्यामिक विद्यालयले नेपाल चेस एशोसिएशन र वीरगञ्ज महानगरपालिकासँगको समन्वयमा उपत्यका बाहिर पहिलो पटक यही पुष ९ र १० गते राष्ट्रिय बुद्धिचाल प्रतियोगिता हुन लागेको हो । परिवर्तन नेपाल फाउडेशनले पनि यस प्रतियोगितामा सहकार्य गरेको छ ।
काठमाण्डौ, मकवानपुर, रौतहट, सिराहा, झापा, बारा लगायतका जिल्लाहरुबाट १ सय जनाभन्दा धेरै प्रतिस्पर्धीहरुको उपस्थिती हुने अपेक्षा आयोजकको छ । साथै पर्सा जिल्लाका २५ वटाभन्दा बढी विद्यालय तथा कलेजबाट १ सय ५० भन्दा बढी विद्यार्थीहरुले सहभागिता जनाउनेछन् । नेपालकै उत्कृष्ट नतिजा ल्याउने विद्यालयहरुको अग्रपंक्तिमा आउने बुढानिलकण्ठ स्कुलले पनि यस प्रतियोगितामा सहभागिता जनाउनेछ ।
राष्ट्रिय स्तरको अन्तरविद्यालय बुद्धिचाल प्रतियोगितामा अहिलेसम्मकै सबैभन्दा धेरै पुरस्कार राशीको प्रतियोगिता वीरगञ्जमा हुँदा यसले यहाँको अवस्था, संस्कृति लगायतमा पनि टेवा पुग्ने विश्वास छ । यसका अलावा वीरगञ्जका विद्यार्थीहरु भ्रमणसहित अवलोकनका लागि काठमाण्डौ लगायतका अन्य शहरमा जाने गरेको भएपनि काठमाण्डौसहित अन्य स्थानका विद्यार्थीहरु वीरगञ्ज बिरलै मात्रै आउने गर्छन् ।
यसर्थ उनीहरु पनि प्रतियोगिताको माध्यमले वीरगञ्ज आउँदा यहाँको पर्यटनमा पनि बृद्धि हुने मुनलाईट माविका प्रधानाध्यापक श्याम केसीले बताए ।
बुद्धिचाल प्रतियोगिताका राष्ट्रिय च्याम्पियन पुरुषोत्तम चौलागाई पनि यस प्रतियोगितामा उपस्थित हुनेछन् । उनका साथै विभिन्न उमेर समूहका राष्ट्रिय स्तरका विजेताहरुको पनि कार्यक्रममा सहभागी रहने प्रधानाध्यापक केसीले बताए ।
विद्यार्थीहरुलाई अध्ययनसँगै अतिरिक्त क्रियाकलापमा पनि जोड दिँदै उत्कृष्ट नतिजासमेत हात पार्न सफल मुनलाईट माविले पहिलो पटक राष्ट्रिय स्तरकै बुद्धिचाल प्रतियोगिताको आयोजना गरेको हो ।
बुद्धिचाल खेलमा रुची भएर पनि अवसर नपाएका र राष्ट्रिय स्तरका र जिल्ला बाहिरका खेलाडीसँग प्रतिस्पर्धा गर्न पाउने अवसर प्रदान गर्न प्रतियोगिताको आयोजना गरिएको टुर्नामेन्ट डाइरेक्टर तथा मुनलाईट माविका प्रबन्ध निर्देशक सुलभ केसीले जानकारी दिए ।