समाजको समुन्नतिका लागि घर बाहिर निस्किएर पुरुषहरु मात्र नभई महिलाहरु पनि पछिल्लो समयमा निकै सकृय हुन थालेका छन् । सन् २००६ देखि विभिन्न चरणमा समाज सृदृढीकरणका लागि काम गर्दै आएको सामाजिक संस्था दिव्य युवा क्लवमा कार्यरत कोपिला चौलागाई पनि एक हुन् । सन् २०१७ बाट एक्सन एड नेपाल र दिव्य युवा क्लवद्धारा महिला अधिकारका लागि काम गर्दै आएको संस्थामा आबद्ध भई उनी लक्षित गाउँघरका महिलाको सुदृढीकरणका लागि सकृय छन् । संस्थाले अहिले दोस्रो चरणमा संचालित कार्यक्रम समुन्नति परियोजना अन्तर्गत गरिब, विपन्न, पिछडिएका समुदायका महिलाहरुको आय आर्जन वृद्धि गर्ने र महिलाहरुको अधिकारको पक्षमा आवाज उठाउन सक्षम बनाउने कार्य गरिरहेको छ । पर्सा जिल्लामा लक्षित ग्रामिण क्षेत्रमा काम गर्दै आएको दिव्य युवा क्लवद्धारा संचालित समुन्नति परियोजनाको संयोजक कोपिला चौलागाईसंग मध्य नेपाल सन्देशले गरेको विशेष कुराकानी ः
१.दिव्य युवा कल्वबाट संचालित समुन्नति परियोजनाको उद्धेश्य के हो ?
समुन्नति परियोजना महिला अधिकार सम्वन्धि कार्यक्रम हो । यो परियोजना २०१७ देखि संचालन भएर २०२२ डिसेम्वर २२ मा समापन हुदैछ । यो परियोजना कम बी मोडलमा आधारित सिद्धान्तको योजना हो । सामाजिक विकासको क्षेत्रमा समुदायमा जे जति कामहरु गर्ने हो त्यो कामबाट व्यक्तिहरुमा व्यवहार परिवर्तन गर्नु हो । महिलाहरुलाई निर्णय प्रक्रियामा सहभागिता गराउनु, राजनीतिक दलहरुमा सहभागिता बढाउनु, महिला हिंसाका कुराहरुमा आवाज उठाउन सक्ने बनाउन, महिलाहरुको आर्थिक सशक्तिकरणमा सहयोग गर्नु समुन्नती परियोजनाको मुख्य उद्धेश्य हो । बालविवाहका अन्त्यका लागि किशोर किशोरीहरुको व्यवहार परिवर्तन गर्ने र स्थानीय तहलाई नीति निर्माण तयार गरी कार्यान्वयन गराउने वातावरण तयार गर्नु यसको जिम्मेवारी हो ।
२.पर्सा जिल्लाको कुन क्षेत्रमा समुन्नति परियोजना संचालन थियो ?
समुन्नति परियोजना विशेष गरेर महिलाको हकहितका लागि संचालन गरिएको कार्यक्रम हो । ग्रामिण क्षेत्रका पिछडिएका समुदायका महिलाहरुको व्यवहारलाई परिवर्तन गराउने र आयआर्जनमा वृद्धि गराउने उद्धेश्यले संचालित कार्यक्रम हो । यो पोखरीया नगरपालिका ७, ८ र १० गरी ३ वटा वडामा संचालन गरिएको थियो । पकाहा मैनपुर गाउँपालिकाको वडा नं.–३ र बिन्दवासिनी गाउँपालिका वडा नं.–५ गरी जम्मा ५ वटा वडामा समुन्नति परियोजना कार्यक्रम संचालन गरिएको थियो । विशेष गरेर बिन्दवासिनी गाउँपालिका वडा नं.–५ पर्सौनीभाठाको भेलाहा टोलमा पनि कार्यक्रम संचालन गरिएको थियो । त्यस टोलमा बसोबास गर्ने अधिकांश मानिस पिछडिएको वर्ग वीन समुदायका छन् ।
३. काम गर्ने सिलसिलामा कस्ता चुनौतिहरुको सामना गर्नु प¥यो ?
सामाजिक संस्कार, परम्परा, मूल्य र मान्यतासंग जोडिएको समाज छ । सामाजिक कुरितिलाई अन्त्य गर्न प्रत्यक्ष आवाज उठाउनु पर्छ । महिलालाई घरबाट बाहिर निस्केर व्यवसाय गर्नु पर्छ । हिंसा भयो भने सहेर बस्नु हुदैन, उजुरी गर्नुपर्छ । बाल विवाहलाई स्वीकार्नु हुन्न । बालविवाह हुन लागेको छ भने उजुरी दिनुपर्छ । हामीले उठाएका सबै आवाजहरु प्रत्यक्ष सामाजिक मुल्य मान्यतासंग जोडिएको भएर चुनौतीहरु धेरै नै आउँछन् । गर्न चाहेको काम गर्न नसकेको अवस्था पनि छ । बालविवाह रोक्न खोज्दाँ खोज्दैं नसकेको अवस्था पनि छ । महिलालाई व्यवसायमा संलग्न गराउन खोज्दाँ पनि केहि समय निरन्तर हुन्छ । उनीहरुले विभिन्न कारण वस व्यवसाय छोडन् परेको अवस्था छ । सानो बजेटका कारण सिमित समुदायका विपन्न,गरिब र पछाडी परेको समूहमा काम गरेका छौ । अर्को राजनीतिक अस्थिरताको कारणले पनि काम गर्न चुनौती आएको छ । हामी जुन कार्यक्रम लिएर गाउँमा गएका छौ । ति महिलाहरुको घुम्ती कोषमा सहयोग गर्दा केही ठाउँमा हाम्रो मातहतको मान्छेलाई हुनुप¥यो भन्ने दबाव आउँछ ।
४. समुदायमा परिचालित योजनाबाट उपलव्धी केही पाइएको छ ?
समुन्नति परियोजनाले लक्षित क्षेत्रमा लगानी गरे अनुरुप प्रतिफल पनि पाएको छ । परियोजनाले गर्व गर्ने प्रशस्त ठाँउ छन् । थुप्रै किशोर किशोरीहरु बालविवाहलाई इन्कार गर्न सक्ने भएका छन् । परियोजना लागु भएका क्षेत्रमा किशोरी समुह ५ वटा, किशोर समुह ५ वटा, महिला समूह १० र केही पुरुष समूह पनि बनेका छन् । महिला र किशोर किशोरीहरु सक्रिय भएर समूहमा लागेका छन् । फलस्वरुप उनीको व्यवहारमा परिवर्तन आएको छ । तर पुरुषहरु समूहमा समय दिन नसकेका छन् । उनीहरुमा खासै परिवर्तन आइसकेको भने छैन् । महिला समूह र किशोर किशोरी समूहमा आबद्ध व्यक्तिहरुले २० वर्ष भन्दा कम उमेरमा विवाह गर्दा कानुन लाग्छ । बालविवाह गर्नु अपराध हो । बालविवाहलाई इन्कार गरेर प्राय बालबालिकाहरु अध्ययन गर्न पनि लागेका छन् । व्यवसायको दृष्टिकोणले हेर्दा पनि पहिला घरबाट बाहिर ननिस्किएका महिलाहरु पनि अहिले सानो पसल गर्नु भएको छ । सानो ठाउँमा तरकारी खेती गरेका महिलाहरुले पनि तरकारी खेतीलाई बढाएर ठूलो जग्गामा व्यवसायिक रुपमा तरकारी खेती गरेर आय आर्जन गरेका छन् ।
५.परियोजनाले गरेको कामलाई दिगो बनाउन स्थानीय तहसंग कस्तो पहल भएको छ ?
परियोजना २०२२ डिसेम्वर २२ सकिने छ । हामीले ५ वडाका स्थानीय जन प्रतिनिधीसँग परियोजनाले ल्याएका उपलब्धीहरुको बारेमा जानकारी गराएका छांै । हामीले बनाएका महिला समुह, किशोर किशोरी समूह, घुम्ती कोष परिचालन, व्यवसायिक महिलाहरुको स्वामित्व वडालाई हस्तान्तरण गर्ने काम गरेका छौ । सम्बन्धित वडाका वडाध्यक्षले पनि अब आउने दिनमा योजना बनाउँदा प्राथमिकतामा राखेर राम्रो व्यवसाय गरेका महिलाहरुका लागि प्रोत्साहन गर्न वडाबाट बजेटको व्यवस्था गर्ने प्रतिबद्धता जनाएका छन् ।
६.परियोजनाले महिलाहरुको आयआर्जन वृद्धिकालागि कस्तो सहयोग गरेको छ ?
व्यवसाय गर्न इच्छुक महिलाहरुको लागि पटक पटक व्यवसाय कसरी गर्ने तालिम दिएका छौं । तराईका जग्गामा तरकारी उत्पादन राम्रो हुने भएकाले तरकारी खेती व्यवसायमा विशेष जोड दिएर महिलाहरुको सीपलाई व्यवसायिक बनाइएको छ । समूहमा आबद्ध सबै महिलाहरुसंग तरकारी खेती गर्ने सीप छ । उनीहरुको सीप सदुपयोग गर्दै व्यवसायिक बनाउन तरकारी खेतीमा आवश्यक बिउ, विषादी, विषादी छर्ने ट्याङ्की, सिचाइको लागि चापाकल दिएर सहयोग गरेका छौं । एक महिला समूहमा ५० हजारका दरले नगद पनि दिएका छौं । किराना पसल गरेका महिलाहरुलाई डिजिटल तौलने मेसिन पनि दिएका छौ ।
७. परियोजनाले महिलाहरुको उत्पादित तरकारी बजारीकरणका लागि पनि उचित प्रवन्ध गरिएको छ ?
परियोजना अवधिभर बालविवाहको अन्त्य, महिला हिंसाको न्यूनिकरण र महिलाहरु व्यवसायमा आउनु पर्छ भन्ने विषयमा केन्द्रित भएर काम गरेको हो । बजारीकरणका लागि केही छलफल भई बजार सेटहरु तयार भएको छ । तर कार्यान्वयन भने हुन सकेको छैन । महिला समूहमा संस्था चलाउन सक्ने महिला कम छन् । अर्को कार्यक्रमको लागि बजेट आयो भने महिलाहरुको आयआर्जन वृद्धिका लागि जोड दिनेछौं । महिला व्यवसायीले उत्पादन गरेको तरकारी बिक्रीका लागि बजार व्यवस्थापन गर्ने तर्फ ध्यान दिनेछौं ।