बहुदरमाई नगरपालिका पर्सा जिल्लाको ग्रामिण क्षेत्रमा अवस्थित छ । यस नगरका अधिकतम मानिसहरु कृषि पेशामा आधारित छन् । रविन्द्र कुमार गुप्ता पनि बहुदरमाई नगरपालिका वडा नं.–९ का वडाध्यक्ष हुन् । उनको राजनीतिक पृष्ठभूमी भने खासै लामो छैन । अध्ययन सकेर घरमा बसेका उनी विकास निर्माणका भौतिक पूर्वाधारहरुको अभावमा पनि खानेपानी योजनाको समितिमा बसेर सामाजिक क्षेत्रमा प्रवेश गरेका हुन् । जनताको बीचमा बसेर जनताको सेवा गरेका गुप्ताले ५ वर्षे कार्यकाल पनि बिताएका छन् । तर पनि जनतासंग गरेको प्रतिबद्धताहरु विभिन्न वाधा अवरोधका कारण पुरा हुन सकेनन् । आफ्ना योजनाको अधुरा कामहरु सफल पार्न दोस्रो पटकको निर्वाचनमा पनि उनी होमिए । उनको जनता प्रतिको निश्वार्थ लगावका कारण फेरि पनि जनताको मन जित्न सफल पनि भए । उनै बहुदरमाई ९ का वडाध्यक्ष तथा युवा नेता रविन्द्र कुमार गुप्तासंग मध्य नेपाल सन्देशले गरेको बिशेष कुराकानी :
१. जनताले त दोस्रो पटक पनि वडाध्यक्षमा निर्वाचित गरे । निर्वाचन जित्दा कस्तो महसुस गरिरहनु भएको छ ?
पहिलो पटक पनि चुनावमा जितेर जनताको सेवा गर्ने मौका पाएको थिए । मैले विकास निर्माणका क्षेत्रमा गरेका कतिपय कामहरु अधुरा नै थिए । ती कामहरु पूरा गर्न मैले फेरि पनि जनताबाट साथ पाए । जनता प्रतिको सेवा भावना, माया र विकास निर्माणका कामहरु देखेर जनताले विश्वास गरेर मलाई दोस्रो पटक पनि जिताएपछि खुसी नहुने कुरै भएन । पहिलो कार्यकालमा अधुरो रहेका विकास निर्माणका कामहरु पुरा गर्ने अवसर फेरि पनि पाएको छु । जनताले सक्षम सम्झेर जिम्मेवारी दिएकोमा अति नै हर्षित छु ।
२. तपाई राजनीतिमा आउनुको कारण के हो ?
पढाइ सकेर व्यवसायमा लागेको थिए । खानेपानी योजना वडामा आएको थियो । समिति गठनका लागि बैठक बसी छलफल भएको थियो । त्यसमा म पनि सहभागी भएको थिए । खानेपानी समितिमा बस्न मैले पनि आफ्नो नाम दिए । बैठकमा बसेका सबै जना खुशी भएर मेरो नामसंगै सबैले समर्थन गरे । खानेपानीमा काम गर्दागर्दै वडाका जनताले भोगेका समस्याहरु प्रत्यक्ष देखे । राजनीतिक क्षेत्रमा लागेर गाउँको विकास गर्नु र स्वास्थ्य, शिक्षा, सडकको व्यवस्थापन गर्न मेरोे राजनीतिकमा आवश्यक्ता महसुश गरेर राजनीतिमा लागेको हो ।
३.तपाईको वडालाई समृद्ध बनाउने योजनाहरु के के छन् त ?
आफ्नो वडालाई समृद्ध बनाउन पहिलो कार्यकालमा अधुरो भएका विकास निर्माण योजनाहरु पुरा गराउनु मेरो पहिलो प्राथमिकता हो । कोरोनाको कारणले गर्दा सोचे जस्तो विकास निर्माणका कामहरु गर्न सकिएन । अधुरो सडक, नाला निर्माणका कामहरु सम्पन्न गर्ने, वडाको अस्पतालमा १५ शैया बेडको व्यवस्थापन गर्ने, वडामा एउटा वृद्धा आश्रम खोल्ने र दिनभर घरमा बसेर निरास बनेका वृद्धवृद्धाहरुलाई आश्रममा विभिन्न कार्यक्रम गरेर मनोरञ्जन गराउने ।
४.तपाईले जनतासंग गरेका प्रतिबद्धताहरु पुरा गर्नुभयो त ?
जनतासंग गरेका प्रतिबद्धताहरु धेरै थिए । तर कोरोनाले गर्दा घोषणा गरे जति काम सबै पुरा भएनन् । पुरा वडामा सडक, नालाको निर्माण गर्ने,स्वास्थ्य, शिक्षामा सुधार गर्ने ५ वर्षको समयमा सबै प्रतिबद्धताहरु बजेट र समयको हिसाबले पुरा भएनन् । ३० प्रतिशत मात्र पहिलो कार्यकालमा पुरा गर्न सफल भए । ७० प्रतिशत नै बाँकी काम यो कार्यकालमा स्थानीय सरकार, प्रदेश, केन्द्र सरकारसंग सहयोग लिएर भए पनि पुरा गर्ने प्रतिबद्धता गर्दछु ।
५. काम गर्ने क्रममा चुनौति चाही कत्तिको खेप्नु प¥यो ?
विकास निर्माणका काम गर्न धेरै चुनौतिहरु आइपरे । वडामा विकासका लागि सोचे जति स्थानीय तह, प्रदेश र केन्द्रबाट प्रशस्त बजेट नआउदाँ काम गर्न अप्ट्यारो भएको छ । प्राप्त बजेटबाट पनि कुनै सडक निर्माणमा विवाद पर्दा अदालतबाट निशेधाज्ञा जस्ता मुद्दा चलेको हुदाँ ठेकदारले काम नै छाडेर भागेका छन् । ती कामलाई पनि पूरा गर्नु पर्ने चुनौति छ ।
६. किसानका समस्या समाधान गर्न कस्तो किसिमका योजना बनाउनु भएको छ ?
किसानहरुलाई १ वर्षदेखि खाद मलको धेरै नै ठूलो समस्या भएको हो । खेतीपातीको सिजनमा सधै नै मल खादको अभाव हुने गरेको छ । मलखाद नहुदाँ किसानले समयमा बाली लगाउन पनि सकेका छैनन् । वडामा ३५ बोरा मलले सबै किसानलाई उपलब्ध गराउन पनि सकिदैन । आएको जति मल सबै किसानलाई बाडेर वितरण गर्दा पनि पुग्दैन । मलको समस्या समाधान गर्न महानगरपालिकामा मेयरसंग पनि छलफल गरेका छौं । अब चाडै नै किसानका समस्याहरु समाधान हुन्छ भन्ने आशामा छौ ।