वीरगंज महानगर वडा नं.–८ वीरगंज शहरको मुटुकै रुपमा अवस्थित छ । यस वडामा निम्नस्तरदेखि अति सम्पन्न वर्गका मानिसहरुको बसोवास छ । विकास, स्वास्थ्य, शिक्षा र बसोवासको दृष्टिकोणले हेर्दा भने पछाडी नै रहेको छ । राजनीतिक परिवेशमा हुर्केका रितेश कुमार गुप्ता वीरगंज वडा नं. ८ का वडाध्यक्ष हुन् । २०६० सालदेखि नेपाली काँग्रेस पार्टीबाट राजनीति सुरु गरेका उनी हाल जसपा नेपाल पार्टीबाट वडाध्यक्ष पदमा निर्वाचित भएका छन् । दोस्रो जनआन्दोलन, मधेश आन्दोलनदेखि विभिन्न आन्दोलनमा सक्रिय भई राजनीतिकमा होमिएका उनी स्थानीयहरु बीच लोकप्रिय युवा मानिन्छन् । भौतिक संरचनाको विकासले मात्र वडा समृद्ध नहुने र वडावासीको आर्थिकस्तरमा वृद्धि गराई समुन्नत समाज बनाउने उनको लक्ष्य छ । ५ वर्षे कार्यकालमा वडाको अव्यवस्थित बसोबासलाई व्यवस्थित गरी समृद्ध र नमुना वडा बनाउने उनको प्रतिबद्धता छ । वीरगंज महानगरपालिका वडा नं. ८ का युवा नेता तथा वडाध्यक्ष रितेश कुमार गुप्तासँग मध्य नेपाल सन्देशले गरेको बिशेष कुराकानी :
१.तपाई राजनीतिकमा आउनुको कारण के हो ?
म राजनीतिक क्षेत्रमा लागेको लामो समय बितेको छ । मेरो बुबा पनि यसै वडाको भुपू वडाध्यक्ष हुनुहुन्थ्यो । राजनीतिक पारिवारिक माहौलमा हुर्केकोले मलाई पनि समाज सेवा प्रति लगाव थियो । मेरो राजनीतिक पृष्ठभूमि नेपाली काँग्रेसबाट सुरुवात भएको हो । बुबा नेपाली काँग्रेस पार्टीमा सक्रिय रुपमा काम गरिरहनु भएको थियो । उहाँको मृत्यु पश्चात म बढी सक्रिय भएर पार्टीमा काम गर्न थालेको हुँ । । दोस्रो जनआन्दोलन, मधेश आन्दोलनले पनि मलाई राजनीतिकमा सक्रिय बनाएको हो ।
२.तपाईको वडालाई समृद्ध बनाउन योजनाहरु छन् ?
देशको नै माहौल हेर्दा युवा नेताको राजनीतिकमा नेतृत्व हुनुपर्छ भन्ने संकेत छ । युवाहरुलाई नेतृत्व गर्न पाउन अवसर पनि हो । तर वडाका बासिन्दाहरुलाई मिलाएर साथमा लिएर जानु भने ठूलो चुनौति पनि हो । वीरगंज वडा नं. ८ यो शहरको मुटु नै हो । तर पनि हाम्रो वडा पिछडिएको महसुस गरेका छौ । आम नागरिकको चेतनास्तरको कमीले वडाको विकास र परिवर्तन खासै भएको छैन । यहाँका जनताको स्वास्थ्य, शिक्षा, खानेपानी, सरसफाई र रोजगारको सृजना गर्ने वातावरण तयार गर्नु हाम्रो योजना हो । वडाको अव्यवस्थित बसोबासलाई व्यवस्थित गरी सफा, सुन्दर र समृद्ध बनाउनु हाम्रो अभियान हो ।
३. काम गर्ने क्रममा कस्ता चुनौतिहरु सामना गरिरहनु भएको छ ?
वडाध्यक्ष भएर काम गर्न धेरै कठिन पनि छ । समाजमा काम गर्दा सधैं एकनासले काम गर्न सकिदैन । काम गर्दा कसैलाई फाइदा हुन्छ त कसैलाई बेफाइदा पनि हुन सक्छ । कतिपयले काम गर्ने बेलामा कुरा नबुझेर काममा रोकावट पनि गर्न खोजेका हुन्छन् । उनीहरुको चित्त बुझाएर काम गर्न सफल भएका छौं । पहिलादेखि नै वडा कार्यालय र कार्य समिति कुनै पनि कार्यालय नै होइन भन्ने जस्तो जनतामा आभाष भएको थियो । हामीलाई काम गर्न, गराउन कुनै कागज पत्रको आवश्यक्ता पर्दैन भन्ने विचार केही जनतामा रहेको छ । सबैलाई चित्त बुझाएर हरेक काममा प्रमाणित कागजको साथमा काम गर्ने वातावरण बनाएको छु ।
४. यो वडामा कुन कुन क्षेत्रमा लगानी बढाउनु पर्ने देख्नु भएको छ ?
वडामा भौतिक निर्माण केही बाँकी छ । कार्यकालको सुरुवातमा नै मुख्यमन्त्रीको संसदीय कोषबाट धेरै सडकहरु बनाएका छांै । केही सडकहरु निर्माण गर्न बाँकी छ । महानगरको सहयोगमा धर्मशालालाई पनि व्यवस्थित गरेका छौ । भौतिक निर्माणका कामहरु केही मात्रामा बाँकी छ । एक वर्ष भित्रमा भौतिक विकास निर्माणका कामहरु सकिने छ । त्यसपछिको काम भनेको वडाको अव्यवस्थित बसाईलाई व्यवस्थित गर्नु हो । आम जनतालाई सामाजिक, सीपमूलक र सामुदायिक क्षेत्रमा संलग्न गराई आर्थिक आय आर्जनमा वृद्धि गराउन सक्रिय भूमिका रहने हुने छ ।
५. निर्वाचित भएर वडामा आएपछि साविककोभन्दा थप जनताले के सुविधा पाएका छन् ?
प्राथमिक स्वास्थ्य चौकी केही समय अगाडीबाट संचालनमा आएको छ । गर्भवती महिला र बच्चाको लागी जाँच गर्ने, विपी जाँच गर्ने, हरेक महिनाको १९ गते खोप कार्यक्रम पनि संचालन गरेका छौ । अर्को महिनादेखि गर्भवती महिलालाई २ पटक भिडियो एक्सरे गराउन वडाको लगानीमा नै निःशुल्क परिक्षण गराउने निर्णय गरेका छौं । शिक्षाको विषयमा भन्नु पर्दा हामी धेरै नै सचेत छौं । अहिले वडामा कक्षा १० र १२ मा विज्ञान र वाणिज्य विषय लिई अध्ययन गर्ने विद्यार्थीहरुको लागि कोचिङ्गको व्यवस्था गरेका छांै । वडाका जनताहरुमा जनचेतना फैलाउन र सामुदायिक क्षेत्रमा सक्रिय गराउनका लागि विशेष जोड दिएका छौं ।
६.वडाका बेरोजगार महिला र युवाहरुलाई लक्षित गरेर सीपमूलक केही कार्यक्रम पनि ल्याउनु भएको छ ?
अघिल्लो कार्यकालमा पनि सीपमूलक कार्यक्रमहरु धेरै संचालन भएका थिए । तर उपलब्धी भने खासै देखिएको छैन । अब भने हामीले वडाबाट संचालन गर्ने तालिम नामको मात्र तालिम नभई तालिम लिने व्यक्तिहरुलाई दक्ष, व्यवसायिक बनाउने र बजारीकरणको समेत व्यवस्था मिलाउने योजना गरेका छौं । जनता समृद्ध भए मात्र वडा समृद्ध हुने भएकाले आम नागरिकको आयस्तरमा वृद्धि गर्ने सीपमूलक कार्य गर्ने छौं ।
७. तपाईका योजनाहरु सफल बनाउन थप कस्को सहयोग आवश्यक पर्छ ?
मेरो वडाका महिला, युवा, समाजसेवी, वृद्धवृद्धा र बुद्धिजिवीहरु सबैको आशिर्वादले नै आज म यो स्थानमा आएको छु । वडाध्यक्ष एक्लैले कुनै पनि काम गर्न सम्भव छैन । वडाका सम्पूर्ण जनताहरुको काम सहज तरिकाबाट गराउनु मेरो कर्तव्य हो । समृद्ध र समुन्नत वडा बनाउन वडावासीको साथ र सहयोग सदैव खाँचो पर्छ । ज्येष्ठ नागरिकहरुलाई वडामा भेला गराई विचार आदन प्रदान गर्ने कार्यक्रमको पनि योजना गरेका छौं । अग्रजहरुको आशिवाद नै मेरो काम गर्ने आधार हो ।