पर्साका १४ पालिकाहरु मध्ये सखुवाप्रसौनी गाउँपालिका पनि एक हो । यो पालिकामा एमालेका चर्चित युवा नेता जसवन्त यादव गएको स्थानीय निर्वाचनमा निर्वाचित भए । गाउँको विकास र समुन्नतिमा युवाको भूमिका खोजिएको समयमा उनी जनताको साथबाट नेतृत्व गर्ने ठाउँमा पुगेका हुन् । मधेश आन्दोलनमा मधेशी जनताको मन जित्न सफल उनी पछिल्लो समयमा एमालेमा प्रवेश गरेका थिए । एमालेमा रहेकै समयमा पार्टीले पनि गाउँपालिकाको अध्यक्षका लागि अगाडी बढायो । फलतः उनी सहजै निर्वाचित पनि भए । सखुवा प्रसौनी गाउँपालिकाका अध्यक्ष उनै चर्चित युवा नेता जशवन्त यादवसँग गरिएको बिशेष कुराकानी :
१ पर्साका युवा नेताहरु मध्ये तपाई चर्चित नेता, अहिले भने आफूलाई कसरी परिचित गराउनु हुन्छ ?
मलाई बाल्यकालदेखि नै समाज सेवा गर्ने ईच्छा थियो । समाज सेवा गर्न स्थानीय तहको पदमा नगई आफुले चाहे जस्तो काम गर्न नसकिने निश्कर्ष गरी राजनीतिक क्षेत्रमा लागेको हो । विगत १७ वर्षदेखि सक्रिय राजनीति र सामाजिक कार्यमा निरन्तर योगदान दिदै आएको थिए । राजनीतिक क्षेत्रमा काम गरी समाज सेवा गर्ने ईच्छा बाल्यकालदेखि कै भएकोले म आफुलाई राजनीतिककर्मीसँगै समाजसेवी पनि भन्न रुचाउँछु । सामाजिक, राजनीतिक क्षेत्रमा निरन्तर लागेको छु । अहिलेको स्थानीय तहको निर्वाचनबाट निर्वाचित भएपछि भने सखुवाप्रसौनी गाउँपालिकाको अध्यक्ष हो ।
२. तपाईले गाउँपालिकालाई सुन्दर र समृद्ध बनाउन कस्तो योजना बनाउनु भएको छ ?
सखुवाप्रसौनी गाउँपालिका पर्सा जिल्लाको ग्रामिण क्षेत्रमा रहेको गाउँपालिका हो । चुनावी मैदानमा जाँदा जनताको सामु शिक्षा, स्वास्थ्य लगायतका विषयहरुमा काम गर्ने प्रतिबद्धता गरेको थिए । मेरो प्राथमिकता पनि चुनावमा गरेको प्रतिबद्धता प्रति नै लक्षित छ । सखुवा प्रसौनी गाउँपालिकामा ६ वटा वडा छन् । ३ वटा वडाहरुमा सामान्य स्वास्थ्य चौकी छन् भने बाँकी ३ वटा वडामा स्वास्थ्य चौकी पनि छैनन् । स्वास्थ्य चौकी भएको ठाउँको भवन पनि जिर्ण अवस्थामा छ । विद्यालयका भवनहरु पनि जिर्ण अवस्थामा छन् । शिक्षाकोस्तर सुधार गर्ने, गाउँपालिकाको कार्यलय भवन निर्माण गर्ने, आधारभूत अस्पताल निर्माण गर्ने, किसानलाई आवश्यक बिउ बिजन लगायतका उत्पादन बढाउन आवश्यक सामग्री उपलब्ध गराउने लगायत भौतिक निर्माणका पक्षमा लगानी गर्ने प्रमुख योजना छ । यी योजना सफल बनाउन सकियो भने मात्र पालिकाको विकासको आधार खडा हुन सक्छ । नत्र विगतमा झै हाम्रो पालिका पनि अन्य पालिकाको दाँजोमा सधैं तर परिरहन्छ ।
३. पिछडिएको वर्ग, अल्पसंख्यक, युवा, वेरोजगार र महिला सशक्तिकरणको लागि कस्ता छन् तपाईका योजना ?
अहिले युवा वेरोजगार राष्ट्रको जटिल समस्या हो । यसको समाधान गर्नका लागि गाउँपालिकाले मात्र सम्भव छैन । केन्द्रीय सरकार र प्रदेश सरकारको पनि अहम भूमिका रहन्छ । सखुवाप्रसौनी गाउँपालिका पर्सा जिल्ला ग्रामिण क्षेत्रमा रहेको पालिका हो । यस पालिकाको शिक्षा, स्वास्थ्य, सडक, नाला लगायत अन्य क्षेत्रका भौतिक पूर्वाधारहरु जिर्ण अवस्थामा छ । भौतिक पूर्वाधार निर्माणमा नै पालिकाको धेरै बजेट लगानी गर्नु परेको छ । सामाजिक विकास कोषबाट महिला र युवाका सीपमूलक विभिन्न तालिमका लागि केही बजेट राखेका छौं । यति मात्र पर्याप्त हुँदैन । योजना नभएका भने होइनन् । ती योजना सफल बनाउन प्रदेश र केन्द्र सरकारसँग समन्वय गरेर अगाडी बढ्ने प्रयास भइरहेको छ ।
४. तपाईले आफ्नो क्षेत्रको भौतिक पूर्वधार विकासको लागि कस्ता नीति र बजेट ल्याउनु भएको छ ?
भौतिक पूर्वधारमा प्रदेश, नगरपालिका र वार्डको आफनो छुट्टाछुट्टै बजेट रहेको हुन्छ । मेरो प्राथमिकतामा शिक्षा र स्वास्थ्यसँगै भौतिक पूर्वधार निमार्ण बिकासका परियोजना पनि छन् । कुनै बेला मेरो गाउँबाट शहर जानको लागि १ घण्टा समय लाग्थ्यो । तर अहिले १५ मिनेट लाग्छ । सडक, पुल, राजमार्ग आदिको निमार्णसँगै रोजगारीको अवसर पनि सिर्जना हुने भएको छ । तर यतिले मात्र हुँदैन । आफ्नै गाउँपालिकामा एम्बुलेन्सको निःशुल्क सुविधा पनि छ । तथापि स्तरीय स्वास्थ्य कार्यालयहरु नै पालिकामा निर्माण गर्न सकियो भने सर्वसाधारणले धाएर टाढा जान पर्दैन ।
५.गाउँपालिकाको अध्यक्षमा निर्वाचित भएपछि विकास निर्माणका काम गर्दा कस्ता चुनौतिहरुको सामान गर्न परेको छ ?
चुनौतिहरु धेरै छन् अनि जिम्मेवारी पनि त धेरै छ । समस्या कहाँ छ भने जननिर्वाचित प्रदेश सांसद जनकपुर बस्छन्, संघीय सांसद काठमाण्डौमा । तर हामी गाउँपालिकामा बसेर काम गर्छौं । जनताको सुखदुःखमा नजिकको सरकारका जनप्रतिनिधि बस्ने भएकोले जनातको बढि कुरा सुन्नु र गर्नु पनि स्थानीय सरकारकाले नै हो । त्यसैले हामी समस्या र चुनौतिसँग भाग्नेभन्दा पनि सामना गरेर अगाडी बढ्ने गरेका छौं । चुनौति नआउने भन्ने त कुरौ हुँदैन । तर त्यसको सामना गरेर अगाडी बढ्ने हो । विकृति हरेक क्षेत्रमा हुन्छ । तर हामी जिम्मेवार भइ त्यो त्रुटि सच्याई अगाडी बढ्दैछौं । हामीले जनताको साथ सहयोग र सहकार्यलाई सँगै लिएर अगाडी बढ्छौं । अनि जनता पनि वास्तविकता आफै बुझ्छन् । अनि खासै समस्या हुन्न ।