धनुषाको मुखियापट्टी मुसहरनिया ३ का ४० वर्षीय धानुक दासको हत्याको हत्या सम्पत्तिका कारण परिवारकै सदस्यको संलग्नतामा भएको खुलेको छ ।
पुस ९ गते साँझ घरमै किराना पसल चलाइरहेका बेला दासको गोली हानेर हत्या भएको थियो । मोटरसाइकलमा आएका दुई व्यक्तिले उनीमाथि गोली हानेर भारततर्फ भागेका थिए । गम्भीर घाइते अवस्थामा उनलाई जनकपुरधाम लग्ने क्रममा बाटोमै मृत्यु भयो ।
उक्त घटनाको अनुसन्धानका क्रममा प्रहरीले मंगलवार तीन जनालाई पक्राउ गरेपछि सम्पत्तिकै कारण उनको हत्या भएको रहस्य खुलेको हो । हत्यामा संलग्न मृतक दासको जेठी श्रीमती, उनको ज्वाइँ र २० वर्षीय छोरालाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ परेका मृतक दासका ज्वाइँ संघीय प्रहरी इकाई कार्यालय जनकपुरधाममा कार्यरत प्रहरी जवान हुन् । नाम नखुलेका ती प्रहरी जवानले नै दासलाई मार्न सुटर लगाएको पनि अनुसन्धानबाट खुलेको बताइएको छ । सुटर भने पक्राउ पर्न सकेका छैन ।
एक प्रहरी अधिकारीका अनुसार दास दुई विवाह गरेका छन् । जेठी श्रीमतीतर्फ दुई छोरा र कान्छी श्रीमतीतर्फ उक छोरी छन् । कान्छी श्रीमतीसँग बस्दै आएका उनी र जेठी श्रीमतीबीच सम्पत्ति बाँडफाँडमा विवाद चल्दै आएको थियो ।
‘सम्पत्ति विषयको विवाद बढ्दै गएपछि जेठी श्रीमतीले नै उनको हत्या गर्ने योजना बनाइन्,’ एक प्रहरी अधिकारीले भने, ‘योजना सफल पार्न दासकै ज्वाइँ प्रहरी जवानको सहयोग लिए । उनको ज्वाइँ नै सुटर खोजे । ३ लाखमा डिल भएको थियो । तत्काल सुटरलाई १ लाख रुपैयाँ समेत दिएको अनुसन्धानबाट खुलेको छ ।’
दासको हत्या गर्ने सुटरको पनि पहिचान भइसकेको प्रहरीको दाबी छ । ती सुटरको पनि प्रहरीले खोजी जारी राखेका छन् । यो घटना विषयमा धनुषा प्रहरीले पत्रकार सम्मेलन गर्ने तयारी गरेको छ ।