जिल्ला प्रहरी कार्यालय पर्साले विभिन्न मितिमा सीमा क्षेत्र लगायत विभिन्न स्थानबाट बरामद गरेको लागु औषध सहित पक्राउ परका ९ जनालाई सार्वजनिक गरेको छ । जिल्ला प्रहरी कार्यालय पर्साको प्राङ्गणमा पत्रकार सम्मेलन गरि पर्साका प्रहरी उपरीक्षक रेवती ढकालले पर्सा प्रहरीले वीरगन्जको विभिन्न स्थानबाट बरामद गरेको लागु औषध, भन्सार छलिको कपडा तथा सामान सहित पक्राउ परेका ६ जना नेपाली तथा ३ जना भारतीय भारतीय नागरिकलाई सार्वजनिक गरेका हुन् ।
पक्राउ पर्नेमा वीरगन्ज महानगरपालिका ११ रानीघाट बस्ने ५५ वर्षीय रामबालक प्रसाद विन, मकवानपुर जिल्ला थाहा नगरपालिका ८ बस्ने ४१ वर्षीय सोमलाल थिंग, भारत कानपुर बस्ने ४० वर्षीय मयंक वाजपेई, भारत उत्तर प्रदेश प्रतापगढ गंगापुर कोहण्डल बस्ने २३ वर्षीय महम्मद मनोदिन अन्सारी, भारतकै मोतिहारी रक्सौल वडा नं. १६ बस्ने २६ वर्षीय खुर्सेद अन्सारी, नेपालको जिल्ला चितवन माडी नगरपालिका वडा नं. २ बस्ने ४४ वर्षीय ऋषि सुवेदी, सोही ठाउँ बस्ने २६ वर्षीय प्रकाश दराई, १९ वर्षीय सुजन दराई तथा जिल्ला कञ्चनपुर भिमदत्त नगरपालिका वडा नं. ९ बस्ने २५ वर्षीय दिपेन्द्र पनेरु रहेका छन् ।
निजहरु विभिन्न मितिमा अवैध लागु औषध चरेश, नाइट्रोभेट ट्याब्लेट तथा भन्सार छलिको कपडा नेपाल भारत ओसार पसार गर्ने क्रममा पर्सा प्रहरीले पक्राउ गरेको प्रहरी उपरीक्षक ढकालले बताए । उनका अनुसार नेपाली नागरिक रामबालक प्रसाद वीन, सोमलाल थिंग तथा भारतीय नागरिक मयंक वाजपेई, महम्मद मैनोदिन अन्सारी र खुर्सेद अन्सारी २१ केजी अवैध लागु औषध चरेश नेपालबाट भारत तर्फ ओसार पसार गर्ने क्रममा पक्राउ परेको बताए भने नेपाली नागरिक ऋषि सुवेदी, प्रकाश दराई, सुजन दराई भन्सार छलिको कपडा भारतबाट नेपाल भित्र्याउने क्रममा पक्राउ परेको बताए ।
यसैगरि नेपाली नागरिक दिपेन्द्र पनेरु पनि अवैध लागु औषध नाइट्रोभेट भारतबाट नेपालतर्फ ल्याउने क्रममा पक्राउ परेको प्रहरी उपरीक्षक ढकालको भनाई छ । निजहरुको साथबाट प्रहरीले २१ केजी अवैध लागु औषध चरेश, ९ सय पिस नाइट्रोभेट ट्याब्लेट तथा ३० लाख ५५ हजार मूल्य बराबरको भन्सार छलिको कपडा बरामद गरेको छ ।
पक्राउ परेका ९ जनालाई जिल्ला प्रहरी कार्यालय पर्साको हिरासतमा राखि आवश्यक अनुसन्धान भइरहेको छ भने बरामद गरिएको भन्सार छलिको कपडालाई आवश्यक कारवाहीको लागि वीरगन्ज भन्सार कार्यालय पठाइएको बताइएको छ ।