प्रत्येक वर्ष ५ देखि ७ लाख महिला गर्भवती हुने गरेको नेपाल सरकारको तथ्यांक अनुसार नेपालमा ६० प्रतिशत महिलाहरु योजनाबद्ध रुपमा गर्भवती हुन्छन् भने ४० प्रतिशत विना योजनामै गर्भवती हुने गरेका छन् । योजना नै नबनाई गर्भवती भएका महिलामा पनि ५४ प्रतिशतले गर्भपतन गराउँछन् । यसरी योजना विना नै गर्भवती हुँदा धेरै युवतीमा अनावश्यक तनाव भएको पाइन्छ । साथै यो अवस्थामा देखिने स्वभाविक परिवर्तनदेखि लिएर कहिलेकाही हुने जटिल अवस्थाको विषयमा पनि उनीहरुलाई थाहा हुदैन । त्यस कारण योजनाबद्ध रुपमा गर्भधारण गरिनु नै उपयुक्त हुने प्रसुती तथा स्त्री रोग विशेषज्ञ चिकित्सकहरुको भनाइ छ । कहिले–काही त अज्ञानताका कारण गर्भवती र बच्चाको अवस्था जटिल भइसक्दा पनि स्वास्थ्य संस्थामा नगएको भेटिने गरेको विगत केही समय विरगन्जमा प्रसुती तथा स्त्री बाझोपन रोग विशेषज्ञका रुपमा काम गरिरहेकी डां प्रिती यादव बताउँछिन् । चिकित्सकलाई चेकजाँच नगराई घर वरिपरीको पसलबाट नै औषधी किनेर खाने खुवाउने चलन पनि समस्या बल्झाउने प्रमुख कारण भएको उनको भनाइ छ । गर्भवती भएपछि पनि गर्भावस्थाको समयमा नियमित परिक्षण गर्नुपर्ने डा.प्रिती को सुझाव छ ।
सानैदेखि डाक्टर बन्ने सपना बोकेकी यादव बिपी कोइराला स्वास्थ्य बिज्ञान प्रतिष्ठान धरानबाट अध्ययन पुरा गरी हाल नारायणी उपक्षेत्रीय अस्पतालमा प्रसुति तथा स्त्री बाझोपन रोग विशेषज्ञका रुपमा काम गरिरहेकी छन् । बुबाआमाको प्रेरणाले डाक्टर बन्ने सपना पुरा भएको उनले बताइन् । मध्य नेपालका लागी गर्भवती महिलाको स्वास्थ्य बारे उनै डा. प्रिती यादवसँग गरिएको कुराकानी ः
१) मेडिकल भाषामा महिलाले गर्भ रहेदेखि आफु कसरी स्वास्थ्य रहने ?
महिला गर्भवती हुँदा सबैभन्दा पहिले मानसिक सपोट र परिवारको साथ चाहिन्छ । त्यो भनेको उहाँको श्रीमान, आमाबुवा, सासु–ससुरा । पहिला त घरमा मानिसहरु धेरै हुन्थे । सबैले सहायता गर्थे । अहिले त्यस्तो छैन । मानसिक तनावले बच्चालाई हानी पु¥याउन सक्छ । हामीले त्यसमा पनि विचार गर्नुपर्दछ । खानपिन त पहिलाभन्दा धेरै नै राम्रो भैसकेको छ । अरु बेलाभन्दा गर्भ रहेको बेलामा खानपिनमा ध्यान दिनुपर्दछ । आफनो शरीरलाई पनि आराम दिनुपर्दछ । यो सबै चिजले जुन ९ महिना पेटमा गर्भ रहन्छ यसलाई सहायता गर्छ ।
२) अहिले पनि गाउँ घरतिर गर्भ रहेको कुरा लुकाएर राख्ने चलन छ । त्यस्तो अवस्थामा कति पटक खोप वा सुई लगाउनु पर्छ भन्ने जानकारी कसरी हुन्छ त ?
गाउँमा महिलाहरुले २ महिना सम्म गर्भ रहे पनि मतलब गर्दैनन् । त्यस्तो अवस्थामा रक्त स्राव बढी हुने सम्भावना भएकोले ३ महिना सम्म नभन्ने धारणा चाही छ । तर खासै त्यस्तो नगरेर सुरुमै महिनावारी रोकेको डेढ महिना मा भिडियो एक्सरे गर्न सक्यौ भने बच्चाको धडकन छ कि छैन हेरेर त्यो हिसाबले हामी औषधी चलाउन सक्छौ । गर्भवती भईसके पछि महिलाले दुई पटक खोप लगाउनु पर्छ । ४ महिनादेखि ९ महिना भित्र एक महिनाको फरकमा २ वटा खोप लगाउनु पर्छ ।
३) गर्भवती महिलाहरुलाई पौष्टिक आहारको नियमित रुटिन कसरी बनाउने ?
विरामीमा कुनै समस्या छैन या माइतीपटीको कुनैलाई पनि डाइवेटीज, प्रेसर छैन भने उहाँको जस्तै हामीले साधारण खानामा धेरै खानु पर्दैन । त्यो भन्दा अतिकता बढी क्यालोरी र त्यसमा चाही मासु माछा सागसब्जी अन्डा कलोजो खानुपर्दछ । जो साकाहारी हुनुहुन्छ उहाँहरुले बदाम, गेडागुडी, सागसब्जी थप्नुपर्दछ । त्यती मात्र खायो भने गर्भवतीलाई चाहिनुपर्ने प्रोटिन पुग्दछ । हाम्रो समाजमा के सोच छ भने आइरन र क्याल्सियम खानु हुदैन । बच्चा मोटो हुन्छ । तर त्यो होइन । आइरनले रगत संचालन गर्न राम्रो हुन्छ । डेलीवरीको समय आइरनको कमी हुदैन । क्याल्सियमले आमाको शरीरको हड्डी राम्रो हुन्छ । बच्चालाई पनि राम्रो पोषण दिन्छ ।
४) पहिलो महिनादेखि नै आरामको जरुरत पर्छ भनेर चिकित्सकहरुले नै सल्लाह दिनुहुन्छ भन्ने सुनिन्छ नि ? वास्तविकता के हो ?
पहिला पहिला मान्छेहरुलाई यसको बारेमा जानकारी थिएन । त्यसैले पहिले धेरै जनाको गर्भपतन हुन्थ्यो । महिलाको मृत्यृ हुन्थ्यो । एक एक महिनामा बच्चा मरेको घटनाहरु घटिरहेको थियो । तर अहिले त्यसमा कमि आएको छ । अहिले पनि गाँउघरमा धेरै महिलाहरुसंग यस्तो घटना भइरहेको पाइन्छ । महिलाहरु तथा उसको घर परिवारले गर्भवती महिलाको स्वास्थ्यमा ध्यान नदिंदा त्यस्ता दुःखद् घटना हुने गरेका छन् ।
५) साधारण तरिकाले बच्चा जन्माउन एउटा गर्भवती महिलाले के कस्तो व्यायामहरु गर्दा अपरेशनको जरुरी पर्दैन ?
साधारण रुपमा हेर्दा उमेर बढेको हुँदा कम उमेर भन्दा ३० वर्षभन्दा पहिले गर्भवती भएकोले अपरेशन गर्नु अलि कम पर्छ । अर्को चाही मोटो महिलाभन्दा दुब्लो महिलामा डेलिवरी सजिलो हुन्छ । अपरेशन अलि कम हुन्छ । जो महिला काम गर्दै हुनुहुन्छ । अलिअलि हिडडुल गरिरहनु भएको छ भने ८ महिनादेखि बच्चा तल सर्ने हुन्छ । अलिकति सहायता गर्छ । त्यसले गर्दा पनि हामीलाई साधारणतया डेलीवरी गराउन सजिलो हुन्छ । कोही कोही लाई गा¥हो भएर उठ्न नै नसक्ने हुनुहुन्छ भने उहाँहरुलाई डेलीवरी गराउन अप्ठ्यारो हुन्छ । अपरेशन कन्डिशन हेरेर गर्ने हो । डाक्टरले आफ्नो मनले केही गर्ने होईन ।
६) सामान्य अवस्थाभन्दा गर्भ अवस्थामा सफा सुग्घरमा कसरी बढि ध्यान दिने ?
न्वारन सम्म नुहाउन हुदैन भन्ने जुन सोच छ त्यो राम्रो हैन । किनभने बच्चा जन्मिसके पछि सुत्केरीको भित्रको अङ्गबाट रगत खसिरहेको हुन्छ । हामीले सधै नै सफा गर्नुपर्ने हुन्छ । साबुन पानीले सफा गरियो भने बाहिरको किटाणु भित्र जादैँन । इन्फेक्सन हुनबाट जोगिन्छ । तर मुख्य कुरा गाउँघरमा हप्ता दिन नुहाउनु हुदैंन भनेर त्यो प्रथा नै चलिरहेको छ । जसको कारण गर्भवती महिलामा विभिन्न किसिमको इन्फेक्सन देखा पर्छ । विरामीलाई सफा बस्न लगाउने, ताजा र सफा खानपिनमा पनि ध्यान दिने । खानामा दुध अन्डा सुप झोल प्रदार्थ बढी मात्रामा हुनुपर्दछ । खानेकुरा पौष्टिक हुँदा बच्चाले आमाको दुध राम्रोसंग पाउँछ । मानसिक सपोट एकदमै जरुरी छ ।
७) नेपाल सरकारको तथ्याङ्क केलाउँदा जति नै जनचेतना बढे पनि आङ्ग खस्ने समस्यामा वृद्धि भएको छ ? यसको कारण के हो ?
आङ्ग खस्नु भनेको कम उमेर भन्दा पनि अलिकति उमेर बढेपछि हुने हो । वर्ष वर्ष दिनमा कसैको बच्चा भइरहेको छ भने त्यो रिकभर हुन सक्दैन । मासु बसेको हुदैन । सुत्केरीको बेला या पछि विरामीको खानपिन मिलेन या डेलिवरी हुने वितिकै उसले आराम लिन सक्दैन । बर्षेनी बच्चा भयो या घरमा विना कुनै डाक्टर नर्सले नहेरेर त्यतिकै डेलिवरी हुँदा जुन प्रोसेसमा बच्चा जन्मिन्छ त्यो प्रोसेसमा गा¥हो भई ज्यान समेत गएको सुनिन्छ । हामीले फ्याम्ली प्लानिङ्ग गरेर दुइ–तीन बर्षको अन्तरालमा बच्चा जन्मिदा आमा र बच्चा स्वस्थ्य रहन्छ ।
८) अहिले पनि छोरा जन्माउने आशमा वर्षेनी बच्चा जन्माइ नै रहन्छन् । महिलालाई स्वास्थ्यको हिसाबले कतिको असर पर्दछ ?
यो एकदमै नराम्रो कुरा हो । किनभने क्रोमोजोमबाट छोरा र छोरी छुट्याउछौ । त्यो महिलाको हातमा हुदैन । त्यो पुरुषको हातमा हुन्छ । हाम्रो नियन्त्रणमा नभएको कुरा हो । त्यस माथि वर्षेनी बच्चा पाउँदा क्याल्सियम र आइरनको कमी हुने तथा धेरै चीजको कमी हुन जान्छ । महिलाको पाठेघरमा पनि समस्या हुन जान्छ । मासुहरु कमजोर भइरहेको हुन्छ । पेट जुन बढेको हुन्छ त्यसमा फर्काउदा पनि मासु कडा हुनुपर्छ । केही समय लाग्छ । अब त्यो नहुँदा अर्को वर्ष फेरी बच्चा जन्माउँदा एकदमै कमजोर हुन्छ । प्रसुती हुने बेला रगत प्रसव बढी हुन्छ । कति जनाले ज्यान समेत गुमाएको देखेका छौ ।