यसवन्त भन्ने जसवन्त यादव पर्सा जिल्लाको लागी नयाँ नाम भने होइन । बुवा हिरालाल यादव र आमा ज्ञानती देवी यादवको कोखबाट २०४६ चैत्र १२ गते जन्मेका जशवन्त २०६२ सालमा एस.एल.सी उतिर्ण गरी राजनीतिमा होमिएका युवा राजनीतिकर्मी हुन् । बि.बि.एस. सम्मको अध्ययन पुरा गरेका उनी वीरगंजको विसीसी कलेजमा आई. कम. पढ्ने क्रममा नै अहिलेका मुख्यमन्त्री लालबाबु राउत गद्दीबाट त्यो वेला तत्कालिन मधेशी विद्यार्थी फ्रन्टको ईकाई अध्यक्ष बनाएका हुन् । २०६२ सालको मधेश आन्दोलनमा सक्रिय भूमिका निर्वाह गरेकोले २०६५ सालमा तत्कालिन मधेश विद्यार्थी फोरमको जिल्ला सचिव भई २०६८ सालमा जिल्ला अध्यक्ष समेत भएका थिए । २०७२ सालमा मधेश अधिकार प्राप्तिको लागी भएको दोस्रो ठुलो मधेश आन्दोलनमा संयुक्त विद्यार्थी मोर्चाको संयोजक बनेर मधेश आन्दोलनमा युवाको नेतृत्व समेत गर्न पुगेका थिए उनै जसवन्त यादव । विद्यार्थीकालदेखि नै राजनीतिमा लागेर झण्डै १३ वर्ष पार्टीलाई थप बलियो बनाउने कार्यमा अहम योगदान गरेको बताए । तलदेखि माथिल्लो तहसम्मका हरेक नेताले चिनेको हुँदा हुँदै पनि जिल्लाको नेतृत्वकर्तासंग बैचारिक मतभेदका कारण आर्थिक चलखेल हुँदा निर्वाचनका समयमा टिकट पाउनबाट बञ्चित भएको उनको तर्क छ । आन्दोलनमा हरेक नेताहरुलाई आफू चाहिने तर स्थानीय तहको निर्वाचनका समयमा टिकट वितरण हुँदा आफू स्वतन्त्र लडेको युवा नेता यादवले बताए । सबै टिकट आफू, आफ्नो श्रीमती, भाइभतिजा, आसेपासे र व्यपारीहरुलाई पार्टीले टिकट दिएको कारण असल नेतृत्वकर्ताको राजनीतिक हत्या भएको ठानी आफूले मधेशी अधिकारका लागि लडेको मधेशी पाटीभन्दा जे देख्यो त्यहि बोल्यो गर्ने नेपाल कम्युनिष्ट पार्टीलाई बरु केन्द्र र प्रदेशको चुनावमा सहयोग गर्दै बामपन्थी राजनीतिमा होमिएको उनले खुलासा गरे । आफ्नो गाउँपालिका भित्र रहेका गरिब, असहाय, अशक्त व्यक्तिको दुःख, सुखमा सधै हातोमालो गर्दै अगाडी बढ्दै जनतामाझ लोकप्रिय बन्दै यिनै युवा नेता यसवन्त यादवसंग मध्य नेपालको लागी गरिएको बिशेष कुराकानी :
१) यहाँको विचारमा युवा नेता र तिनको दायित्व के हो ?
राजनीतिक, समाजिक वा देशको जुनसुकै विकास र परिवर्तनमा युवाहरुको भूमिका अहम रहेको कुरा सबैलाई अवगत नै छ । युवा देशका कर्णधार हुन् भन्ने कुरा त गरिन्छ । तर त्यो चाही कुरा कुरामै सिमित रह्यो । युवाहरुलाई कुराले त धेरै अगाडी बढाइन्छ तर राजनीतिक मुलधारमा जाँदा उनीहरुलाई पछाडी धकेलिन्छ । युवा देशका कर्णधार हुन भने नेतृत्व वर्गले कार्यावन्यन पनि गरेर देखाउनु पर्छ ।
२) अहिले युवाहरु कस्ता खालका कार्यमा बढी सक्रिय रहेको देख्नुहुन्छ ?
हुन त धेरै युवाहरु राजनीतिमा पनि सक्रिय रहेको देखिन्छ । तर धेरै पहिलादेखि नै देशको जर्जर अवस्थाले धेरै युवाहरु रोजगारीको लागी विदेश पलायन तथा विदेशिने क्रममा पनि रहेका छन् । रोजगारीको अभावले धेरै युवाहरु राजनीति तर्फ आकर्षित भएका छन् । तर राजनीतिक भनेको रोजगारी दिने होइन । लामो समयको योगयान र धैर्यताले मात्र राजनीतिमा सफलता हासिल हुन्छ । त्यसकारण राजनीतिमा होमिनु एकदमै राम्रो कुरा हो । तर त्योभन्दा पहिला आफ्नो शिक्षा क्षेत्रलाई बलियो बनाई घर परिवार धाउन सक्ने कामको जिम्मेवारी बहन गरेर मात्र राजनीतिमा लाग्दा उपयुक्त हुन्छ ।
३) युवाहरु नेतृत्व तहमा आउन नसक्नुको कारण के हो ?
पर्सा जिल्ला कै कुरा गर्ने हो भने ठाकुरराम बहुमुखी क्याम्पस राजनीतिकको केन्द्र विन्दु हो । प्रायः युवाहरु वीरगंजमा पढ्नको लागी आउने गर्दछन् । तर युवा राजनीतिकर्मीको लहै लहैमा परेर राजनीतिमा नै सकृय हुन्छन् । न त पढाईमा नै । राजनीति सिद्धान्त नभएको र आर्थिक अवस्थाले पनि कमजोर भएको युवा विद्यार्थीहरु नेतृत्वमा आउनबाट बञ्चित हुन्छन् । टिकट प्राप्त गर्नदेखि एउटा सांसदको चुनाव लड्दा ५÷७ करोडसम्म खर्च गर्नुपर्ने । गाउँ÷नगरको लागी १÷२ करोडसम्म खर्च गर्नुपर्ने जुन शैलीको विकास भएको छ । त्यसले युवाहरुलाई पाखा लगाउने काम गरेको छ । युवाहरु त आफै आर्थिक रुपले कमजोर हुन्छन् । पैसाको बलमा पद हत्याउने खेल अझ चुनावमा हुेन आर्थिक चलखेलको कारण युवाहरुलाई टिकट दिनमा समेत विभेद गरिन्छ । बकाइदा कसैले पाएको पनि छ भने बाबुबाजेको जग्गा जमिन बेच्ने अवस्था सृजना हुन्छ । तसर्थः अग्रिम पंतिका नेताहरुले जहिले पनि युवाहरुलाई प्रयोग गर्ने गरेका हुन्छन् ।
४) पार्टी बदलिरहेका कारण युवाहरु नेतृत्व तहमा आउन सक्दैनन् भन्ने हल्ला छ नि ?
युवाहरुले पार्टी बदल्नुभन्दा पनि पार्टी छोड्न बाध्य बनाइन्छ । सुरुदेखि नै दिइएको योगदानको कदर पार्टीले नगर्दा पनि युवाहरुले पार्टी छोड्ने गरेको कुरा धेरैलाई थाहा नै छ । मेरै कुरा गर्ने हो भने मैले फोरम नेपालमा विद्यार्थी कालदेखि नै सक्रिय रहेर मधेश आन्दोलनमा समेत निकै सकृयता देखाएको बारापर्सावासी सामु छिपेको छैन । मधेशको अधिकार प्राप्तिको लागी विद्यार्थी राजनीतिबाट लड्दै आएको मानिसभन्दा परिवारवाद र आर्थिकलाई मात्र सानादेखि ठूला तहका नेताहरुले प्राथमिकतामा पारेपछि युवाहरुले सोच्न बाध्य हुनुपरेको यथार्थ छ । पर्साकै सन्दर्भमा हेर्ने हो भने १४ वटै स्थानीय तहमा सुरुदेखि फोरम नेपालमा लागेको कुनैले टिकट पाएनन् । टिकट लिनदिनमा समेत पैसा र स्कार्पियोको चलखेल भयो भनेर समाचारमा पनि आएकै थियो । के यत्तिकै लागि मधेश आन्दोलनमा १०८ जनाको शहादत तथा हामी जस्ता हजारौ युवाहरु घाईते भएका हौं त ? राजनीतिक सिद्धान्त र जनताको अधिकारको लागी केही योगदान नै नदिएको व्यापारी, तस्कर र गृहिणीले टिकट पाएपछि युवाको के काम ? अनि युवाले पार्टी छोड्न बाध्य हुन्छन् ।
५) युवालाई एकै ठाउँमा टिकाई राख्न के गर्दा राम्रो हुन्छ ?
युवाहरुले आफ्नो सोच्ने क्षमता बढाई राजनीति भनेको के हो भने बुझ्नु प¥यो । जबसम्म युवाहरु आफुलाई बुझ्दैनन् तबसम्म म जस्तै जिउँदै सहिद हुन्छन् । कुनै पनि पार्टीले एउटा निश्चित मापदण्ड बनाएर हरेक तहमा युवाहरुलाई नेतृत्व दिने नियम बनाउनु पर्छ । नियम बनाएर कार्यन्वय पनि गर्नुपर्छ । अहिले पनि ७०÷८० वर्षको उमेर भएका नेताले आफुलाई युवा नेता नै भन्छन् । पार्टीका अग्रजहरुले देशको कर्णधार युवावर्गलाई नेतृत्व तहमा ल्याउनु आफू पछाडी बसेर मार्ग निर्देश गर्नुपर्छ । युवाले पनि अग्रजहरुलाई सम्मान गरी उनीहरुको अनुभवलाई ग्रहण गर्दै अगाडी बढ्नु पर्छ ।
६) तपाईलाई लाग्छ, अब युवा नेताहरुको भविष्य राजनीतिमा छ ?
अहिलेको अवस्थाले युवाहरुको राजनीतिमा खासै भविष्य देखिदैन । हुन त आजका युवा नै भोलिको नेतृत्वकर्ता हुन् । युवाहरुलाई मुलधारमा आउन अलि समय लाग्छ । युवाहरु परिवर्तनको लागी वाहक हुन् । उनीहरुको अधिकार पनि बन्छ, नेतृत्वमा आउने । यसको लागि युवाहरुले एकढिक्का भएर नेतृत्वपंतिसँग संघर्ष गर्नु पर्छ ।
७) लामो समयदेखि राजनीतिमा टिकिराख्नु भएको छ ? आर्थिक व्यवस्थापन कसरी हुँदैछ ?
राजनीतिक राम्रो काम हो, नराम्रो होइन । तर नराम्रो व्यक्तिको कारण राजनीति क्षेत्र प्रभावित भएको छ । म एउटा सामान्य किसानको परिवारमा जन्मेको हुँ । विद्यार्थीकालमा पढ्दा पढ्दै राजनीतिमा होमिएर अहिले हार्डवेयरको पसल र म आफै स्वयम् पोखरी राखेर माछा पालन कार्य गर्दै जनताको विकास र सेवालाई नै पहिलो प्राथमिकतामा राखेर काम गरिरहेको छु । अरुसंग चन्दा उठाएर वा कसैले दिन्छ भन्ने अपेक्षाले म राजनीतिमा आएको होइन ।
८) युवा नेताहरु प्रायः कुनै पार्टी वा कुनै न कुनै स्कुल, क्लेजको अंगरक्षक जस्तो बनेर आर्थिक व्यवस्थापन गरेको देखिन्छ । यसरी युवा नेताहरुको भविष्य बन्छ त ?
यस्तो रवैयाले राजनीतिमा भविष्य बन्दैन । २÷४ दिनको लागी केही रवाफ होला । तर राजनीति बाहेक आफ्नो घर परिवार, बालबच्चाको भविष्यलाई पनि मध्यनजर गर्दै आफ्नो छुट्टै आर्थिक आम्दानी हुने व्यापार व्यवसाय गर्न जरुरी छ । किन भने राजनीतिले भोली कसलाई कहाँ पु¥याउँछ भने थाहा हुदैन । केही युवा नेताहरुको गलत रवैयाले सबै युवाहरु बदनाम भएका छन् । यो काम पनि होइन ।
९) महंगो यो जवानामा तपाई पछि राजनीतिमा आउने युवाहरुलाई राजनीतिमा टिकिराख्न के सुझाव दिनु हुन्छ ?
दुनियाको सबै काम गर्न सजिलो छ । तर राजनीति गर्न आर्थिक हिसाबले सजिलो छैन । आर्थिक जग बलियो बनाई पढाइलाई पूरा गरेर राजनीतिकमा लाग्दा उपयुक्त हुन्छ । किन भने राजनीतिमा सफलता कहिले हुन्छ ? भने कुराको ठेगान हुदैन । आर्थिक अवस्था ठिक छैन भने राजनीतिक नगर्नु भनेर भन्न खोजेको होईन तर घरपरिवारको मानसिक तनाव लिएर राजनीति गर्नु सम्भव हुदैन ।
१०) अबको तपाईंको लक्ष्य के ?
विद्यार्थीकालदेखि नै मधेशको अधिकार प्राप्तिको लडाइमा संघर्षरत रहेकोले राजनीति गरेर मधेशको विकास र समाज सेवा गर्ने नै मेरो लक्ष्य हो । ३० वर्षको उमेरमा आधी उमेर राजनीतिमै बितिसक्यो । म सखुवा प्रसौनी गाउँपालिकाबाट स्वतन्त्र चुनाव पनि लडेको थिए । जनताले मलाई दिएको जनादेशलाई कदर गर्दै दिनरात गाउँपालिका भित्र रहेका असहाय, गरिब, दलित समुदायको उत्थानको लागी सक्दो सहयोग र जनताको सेवामा लागेको छु । अहिलेको युवा र जनतालाई म के भन्नु चाहनु भने भोलिको दिनमा तपाई यस्तो व्यक्तिलाई नेतृत्व दिनुस् । जसले तपाईको गाउँ, ठाउँमा शिक्षा, स्वास्थ, रोजगारी लगायतका क्षेत्रमा विकास गरी सधै जनतासंग हातोमालो गर्न सकोस् । जनताको सेवा र विकासलाई नै आफ्नो काम र कर्तव्य मानेर अगाडी बढोस् । नत्र अरु समयमा व्यापार व्यवसाय गर्ने र चुनावको मुखमा पैसाको बलले टिकट लिई झुठो सपना देखाउनेलाई साथ नदिनोस् ।
११) लक्ष्य अनुसार कतिवर्षमा सफल होइएला जस्तो लाग्छ ?
मैले पहिला पनि भने कि लोकसेवा आयोग दिनु एउटा सिमित समय हुन्छ । तर राजनीतिमा कुनै सिमा हुदैन । तर म ७० वर्षमा गएर पनि युवा नेता कहलाउने सोच छैन । जनता माझ मैले गरेको परिश्रमलाई मुल्याङ्कन गरेर जनताले मलाई साथ दिए भने पक्कै पनि नयाँ सोच र जोसको साथ परिर्वनको कार्यमा अगाडी बढ्छु । आम युवा नेतृत्वले पनि गर्नुपर्ने यहि हो । सखुवा प्रसौनी गाउँपालिकावासीले साथ दिए उहाँहरुको कामको लागि म अहोरात्र खट्ने छु । लामो समय लाग्नेमा म विश्वस्त छैन ।
१२) अन्त्यमा, दिनहु रोजगारको लागी युवा विदेशीने क्रम बढिरहेको छ ? चिनीमिल र कृषि औजार कारखानाले हजारौ युवालाई रोजगारी दिएको थियो । प्रचारमा यी कारखाना चलाउन ठूलै हल्ला सुनिन्छ । यसमा तपाईको भनाइ के छ ?
यो विगतदेखि नै सस्तो लोकप्रियतामा मात्र सिमित भएको छ । आम जनता पनि यो कुराबाट अवगत नै छन् । नेताहरु फुलमाला लगाई ठुलो भाषण दिएर तालि बज्वाउने काम मात्र गरिरहेका छन् । विडम्बना के छ ? भने यो भन्दा विगतमा एउटै पार्टीका मन्त्रीले आफ्नै पार्टीका सांसदलाई माला र खाँदा ओढाई ११ बुन्दे माग पुरा हुन्छ भनेर झुठो आस्वासनमा सांसद र पार्र्टीलाई जनतामाझ लोकप्रियता बनाउने काम गरे । तर हालसम्म उनीहरुको आवश्वासन बेकार देखिएको छ । अहिले स्थित सरकार छ । वर्तमान सरकारको उद्योग मन्त्रीले समेत चिनीमिल र कृषि औजार कारखानालाई निरिक्षण गरेर जानु भएको छ । केही काम पनि गरिरहनु भएको छ । अब स्थायी सरकारमा त अलि विश्वास छ । अब ५ वर्षमा के के हुन्छ हेरौ । अहिले नै यसै भन्न सक्ने अवस्था छैन ।