सामाजिक, आर्थिक र समुन्नत विकासका मुद्दा बोकेर जनतासामु हिँड्ने महिला नेतृत्वको खाँचो छ ।महिलालाई समाजका प्रतिविम्ब भनिन्छ । प्रतिविम्ब यसकारण कि महिला हरेक घरका आधा हिस्सा हुन । अझ पूर्वीय दर्शन मान्ने हो भने महिलाकै पथमा समाज हिँड्छ । हाम्रा देवीदेवता हेर्ने हो भने पार्वती, लक्ष्मी, सरस्वती, दुर्गा, कालीकै पूजा अर्चना र उनीहरूकै संरक्षणमा समाज चलेको हुन्छ । परापूर्व कालमा घरको नजिक रहेर घरकै रेखदेख गर्ने, घरको माया गर्ने भएकाले महिला भनियो । तर, समयको परिवर्तन र समाजको विकास चक्रसँगै जसरी पुरुषको सक्रियता बढ्यो, त्यो महिलामा हुन सकेन ।
तर अझै पनि नेपाली समाजले परापूर्वदेखि पितृसत्तात्मक चिन्तन बोक्दै आएको छ । एक्काइसौं शताब्दीमा पनि यसमा खासै परिवर्तन आएको देखिँदैन। अहिले पनि स्वयं महिलाहरू नै घरपरिवारमा छोरीभन्दा छोराकै पक्ष लिन्छन् ।
घरपरिवारमा छोरीको सुविधा र शिक्षाबारेमा कुराकानी गर्दा जहिले पनि अर्काका घरमा जाने जात भनेको सुनिन्छ । छोरीलाई सामान्य शिक्षा दिएर थोरै खर्चमा कलिलै उमेरमा बिहे गरी अर्काका घर पठाउन पाए आमाबाबु खुसी हुन्छन्।
पुरुषबाहुल्य राज्यसत्ताले पनि महिलालाई भेदभाव गरेको छ । महिलाले नेतृत्वदायी भूमिका पाउन लागेका छन् भने पनि उनलाई पन्छाएर पुरुषलाई नियुक्त गर्ने हाम्रो प्रचलन छ। दिइहाले पनि लैंगिक समानताका नाममा संसारलाई देखाउन वा झारा टार्नसम्म एकाध पदमा राखिने गरिन्छ । हामीमा विद्यमान पुरातन सोचका कारण नै आज पनि महिलालाई भन्सा चलाउने र सन्तान पैदा गर्ने वस्तुका रूपमै परख गरिन्छ । यसरी आज पनि पुरुष समाजबाटै मुखियाको भूमिका निर्वाह हुँदै आएकाले महिलाले पनि काम गर्न सक्छन् भन्ने विश्वास पुरुषले गर्दैनन्।
एसियाली मुलुकमा राजनीतिक क्षेत्रमा महिलाले प्रभावकारी राजनीतिज्ञ पिता, पति वा दाजुभाइ कोही भएको अवस्थामा नेतृत्व पंक्तिमा बसी काम गर्न पाएको देखिएको छ । परिवारवाद भएकै कारण भारतमा इन्दिरा गान्धी र सोनिया गान्धी, श्रीलंकामा बन्दरानायके, पाकिस्तानमा बेनजिर भुट्टो, बंगलादेशमा शेष हसिना र खालिदा जिया सत्ता राजनीतिमा आउन सफल भएका हुन्। अझ अल्पविकसित र अविकसित मुलुकहरूमा महिलालाई आफ्नो पहुँचमा सत्तामा पुग्न झन् कठिन र चुनौतीपूर्ण छ । हिजोआज युरोप र ल्याटिन अमेरिकी राष्ट्रहरूमा नेतृत्वपंक्तिमा महिलाहरू आफ्नै पहुँचमा आउन थालेका छन्।
निश्चय नै, अर्थ अभावमा मानिसको उन्नति हुँदैन। हाम्रो समाजमा महिलाले जति काम गरी आर्जन गरे पनि त्यो आर्जनको श्रेय मूली पुरुषलाई दिने गरिन्छ । महिलाले घरमा पशुपालन, खेतीपाती र आयआर्जनका काम गर्छन् । त्यसबाट आउने आम्दानी सबै घरको मूली मानिएका पुरुषको खल्तीमा पुग्ने गर्छ। अनि उनीहरू अर्थ अभावमा पिल्सिन बाध्य हुन्छन्। जबकि पैसाले स्वतन्त्रता र इच्छा अनुसार बाँच्न सिकाउँछ। तसर्थ महिलाले आत्मानिर्भर हुन अर्थआर्जन गर्नुपर्छ । भोलि पुरुषबाट धोखा भएमा र परित्यक्त भई यता न उता भएमा त्यही पैसाले आत्मनिर्भर बनाउनेछ। पैसा गलत मार्गबाट कमाउने होइन, सही सत्य पेसाबाट कमाएमा समाजमा प्रतिष्ठा कायम हुन सक्छ ।कुनै पनि क्षेत्रमा काम गर्दा निर्णय क्षमता वृद्धि हुन जरुरी छ। यसनिम्ति अभ्यासको पनि आवश्यकता हुन्छ ।
नेपाली महिला पछि पर्ने र निर्णायक पदमा बहाल नहुने कारण शिक्षा अभाव पनि हो। नेपाली महिला केही प्रतिशत साक्षर भए पनि डिग्री प्राप्त गर्नेको संख्या १० प्रतिशत पनि छैन। निर्णय गर्ने क्षमता वास्तवमा रोजगार, राजनीति र सेवामा मात्र चाहिने होइन, घरव्यवहार तथा व्यापार–व्यवसायमा पनि आवश्यक पर्छ ।महिलाको गम्भीर चुनौती भनेको स्वास्थ्य हो । स्वास्थ्य ठीक नभए काम गर्न कठिन हुन्छ ।
त्यसका लागि पनि स्वस्थ्यबारेमा चनाखो रहनैपर्छ। तसर्थ स्वस्थकर भोजन गर्ने, शारीरिक अभ्यास गर्ने गर्नुपर्छ। तर बढी चिन्ता र कामको बोझ उठाउन भने हुन्न ।
महिलामा सन्तानको लालनपालनको जिम्मेवारी रहन्छ । यो गहन जिम्मेवारीले महिलालाई अन्य काममा वाधा पु¥याएको हुन्छ। यस काममा घरपरिवार, श्रीमान् र समयले साथ दिएमा घरबाहिर निस्केर केही समय काम गर्न सरलता आउने छ। यो वातावरण बनाउन अरू महिलाले पनि सहयोग गर्न आवश्यक छ ।
महिला समाजले आफ्नो सम्मान बढाउन आफ्ना वरिपरिका महिला मित्रहरूले गरेका कामबारेमा प्रशंसा गर्नुपर्छ । त्यसबाहेक तिनको साहस र हौसला बढाउन आवश्यक छ । यसले महिलाको मनोबल बढेर आउँछ । कुनै महिलालाई अन्याय परेमा उसलाई न्याय दिलाउन संगठित रूपमा सक्रिय हुनुपर्छ। यसरी संगठनात्मक रूपमा गरेको सहयोगले पीडितमा हौसला बढाउँछ ।कोही महिला गरिब र असहाय रहेछन् भने, आवास नभएका वा असुरक्षित अवस्थामा रहेछन् भने समाजका, कुनै पनि दलका, अन्य क्षेत्रका आम महिलाले हैसियतअनुसार धेरथोर धनराशि जम्मा गरेर भए पनि सहयोग पुयाउने संस्कार बसाउनुपर्छ ।
यसरी नै महिलाको कष्ट महिलाले बुझ्न सम्भव हुन्छ ।महिलाविरुद्ध हुने लैंगिक हिंसा, हत्या, पीडा र उत्पीडितविरुद्ध भेदभाव नगरी सामूहिक रूपमा लड्नुपर्छ। महिला हिंसा बढ्नुमा उनीहरूबीच एकता अभाव नै हो। प्रहरीले राम्रो अनुसन्धान गर्दैन।
राज्यले ध्यान दिँदैन र जहिले पनि गरिब, विपन्न र असहाय महिलाविरुद्ध अपराध हुने गर्छ । यस्ता अपराध गर्ने व्यक्ति सम्पन्न पुरुष छ भने समाज उसैका पक्षमा लागेर दबाब–प्रभावका आधारमा महिलालाई अन्याय र पीडा भोग्न बाध्य गराएको देखिन्छ। यस्तो मामलामा समाजका महिला एक हुनैपर्छ ।आफूवरिपरिका मित्रहरूलाई साहस दिलाउने कोही छोरी छन् भने उनीहरूलाई खेलकुद, अध्ययन, संगीत वा कुनै चाहना भएको क्षेत्रमा जान हौसला दिने गर्नुपर्छ। महिलानिम्ति सहयोगी हुनुपर्छ। अन्यायविरुद्ध सबै मिलेर लड्न र कामको प्रशंसा गर्न जरुरी छ महिलालाई माथि उठाउने हो भने ।
समाजलाई समाजकै सिद्धान्तमा चल्न दिऊँ, महिला र पुरुष एक रथका दुई पांग्रा हुन् । कुन रथको कुन पांग्रा बलियो र कुन कमजोर छ भन्ने भन्दा पनि सबै रथका सबै पांग्रा बलिया बनाउन लागौँ । नेपाली राजनीतिमा जति पुरुषको खाँचो छ, त्यति नै महिला र युवाको पनि खाँचो छ । एउटा ज्ञानीलाई केही मानिसको जीवन सपार्न पूरा जीवनकाल लाग्छ भने एउटा मूर्खलाई लाखौँको जीवन तहसनहस गर्न केही समय मात्र लाग्छ भन्ने यथार्थबाट हामी सचेत हुनुपर्छ । राजनीतिमा महिला होस् या पुरुष सबैको समान पहुँच र समान अवसर आजको आवश्यकता हो ।