किरण आखाँ अस्पतालका संचालक डा.अमर क्याल वीरगंजका लागि एक परिचित व्यक्ति हुन् । एम.वि.वि.एस. अध्ययन नेपाल मेडिकल कलेज अथरखेल जोरपाटीबाट र एम.डी. टिचिङ हस्पिटल महाराजगंजबाट गरेका उनी ५ वर्ष केडिया आखाँ हस्पिटलमा सेवा प्रदान गरेका डाक्टर पनि हुन् । शिवा आखाँ अस्पताल, लाहान आखाँ अस्पतालमा पनि उनले काम गरेको अनुभव छ । अमेरिकामा र बेलायतमा समेत ३.३ महिना तालिम, मद्रासमा पनि केही समय तालिम लिएर फर्केपछि विगत ५ वर्षदेखि आफ्नै किरण आखाँ अस्पताल संचालन गरी सेवा प्रदान गर्दैै आएका छन् । आँखाका रोग बारे उनै डा. अमर क्यालसंग गरिएको विशेष कुराकानी :
१) चिसो मौसममा कस्ता किसिमका आँखाका विरामीहरु अस्पतालमा आउने गर्छन् ?
चिसोको मौसममा प्रायः मोतिविन्दुको अप्रेशन गर्ने विरामीहरु अस्पतालमा आउने गरेका छन् । आखाँमा समस्या भएको थाहा पाउदाँ पनि विरामीहरु गर्मी समयमा अप्रेशन नगरी जाँडोको समयमा अप्रेशन गराउन कुरेर बसेका हुन्छन् । गर्मी समयमा आखाँ पाक्ने बढी सम्भावना हुने डरले जाडो मौसममा आखाँको अपरेशन गराउने धेरैको चाहना भएको पाइन्छ । मोतियाविन्दुका बिरामीहरु अप्रेशन गर्न बढी आउने यो सिजनमा एलर्जी भएका, आखाँबाट पानी आउने बिरामी, चस्मा दोष भएका, आखाँमा चोटपटक लागेका बिरामी, कम्प्युटरमा काम गर्ने मानिसहरु, बच्चाको आखाँमा समस्या भएर पनि अस्पतालमा आखाँ जाँचका लागि यो सिजनमा धेरै मानिस आइपुग्ने गरेका छन् ।
२) मोतियाविन्दु प्रायः कुन उमेर समूहका मानिसलाई लाग्ने गर्दछ ?
मोतिविन्दु प्रायः गरेर ४० वर्ष नाघेको मानिसहरुलाई हुने गर्दछ । यो समयलाई चालिसे लागेको पनि भन्ने चलन छ । अन्य कारणले पनि मोतियाविन्दु पनि देखा पर्दछ । स्वस्थ्य खानाको कमी, आखाँमा चोटपटक लागेर, नशालु पदार्थको सेवन गरेर पनि मोतियाविन्दु हुन सक्छ । मानिसको उमेर ४० वर्षबाट जति माथि बढ्दै जान्छ उत्तिकै मोतियाविन्दु हुने सम्भावना बढी हुन्छ ।
३) बच्चालाई मोतीयाविन्दु, जलविन्दु हुने सम्भावना कत्तिको हुन्छ ?
जन्मजात नै आखाँमा मोतीविन्दु, जलविन्दु दुबै भएका बच्चाहरु हुने गर्दछन् । बच्चाहरुमा जन्म पश्चात आखाँमा चोटपटक लागेर पनि मोतिविन्दु हुन सक्छ । वृद्ध मानिसको तुलनामा बच्चाहरुमा कम हुने गर्दछ । मोतियाविन्दुको खास उपचार नै अप्रेशन हो । जलविन्दुको पनि औषधीबाट समेत उपचार गर्न सकिन्छ । औषधीले नभएको खण्डमा अप्रेशनबाट उपचार गर्नु पर्ने हुन्छ । जलविन्दु पनि धेरै किसिमका हुन्छन् । विशेषज्ञले जाँच गरेर मात्र उपचार गर्ने गर्नु पर्छ ।
४) चिसो मौसममा कस्ता समस्याहरु आखाँमा बढि देखापर्छ ?
चिसो मौसममा आखाँमा एलर्जी भएका बिरामीहरु बढी मात्रामा पाइन्छ । विभिन्न कार्यलयमा लामो समय कम्प्युटरमा काम गर्ने, मोवाइल तथा अनलाइन कक्षा गर्ने, बालबालिकाहरुमा आखाँमा सुख्खापन हुने समस्या बढि हुन्छ ।
५) स्वस्थ्य मानिसले आखाँ बिरामी भएको कसरी थाहा पाउने ?
मनिसको स्वस्थ्य आखाँमा पोल्ने, बिझाउने भएमा एलर्जीको लक्षण हुन सक्छ । मोतिविन्दु भएको छ भने टाढाको, नजिकको कम देख्ने हुन्छ । जलविन्दु भएमा आखाँ दुख्ने, रातो हुने, बिस्तारै–बिस्तार्रै दृष्टि पनि कम हुन सक्छ । महिना नपुगेर जन्मेका बच्चाहरु, ५ वर्ष मुनिका बच्चाहरु, ४० वर्ष नाघेका मानिसहरुले आखाँ जाँच गराउन जरुरी हुन्छ ।
६) आखाँको कमजोरीले टाउको दुख्ने समस्या पनि हुन सक्छ ?
४० वर्ष नाघेका मानिसहरुको आखाँ प्रायः गरेर कमजोर हुँदै जाने भएकोले टाउको दुख्ने समस्या हुन्छ । कतिपय बच्चाहरु पनि मोवाइल बढी मात्रामा हेर्ने गर्दा पनि टाउको दुख्ने समस्या भएको हुन्छ । मोवाइल हेर्दा, नजिकको वस्तु लामो समय हेर्दा आखाँमा जोड पर्दछ । आखाँमा परेको प्रेशर टाउकोमा पर्ने हुन्छ । यसले आखाँ दुख्ने समस्या हुन्छ । एक पटक आखाँ जाँच गराएर चस्मा लगाएमा टाउको दुख्ने समस्या पनि समाधान हुन्छ ।
७) आखाँलाई बचाउन अपनाउने उपायहरु के के छन ?
हामीले आखाँलाई स्वस्थ्य राख्न आखाँको हेरचाह गर्नुपर्छ । नियमित रुपमा आखाँको जाँच गर्नुपर्छ । आखाँ सफा राख्नुपर्छ । समान्य गरी आखाँमा शितल पार्न लुब्रिकेटिङ्ग ड्रप्सको प्रयोग गर्नुपर्छ । यो औषधी डाक्टरको सल्लाह बिना पनि दिनका ३ वा ४ पटक आखाँमा हाल्न सकिन्छ । घरबाट बाहिर निस्कदाँ धुवाँ धुलोबाट बच्न चस्माको प्रयोग गर्ने, कमप्युटरमा काम गर्दा जिरो पावरको ब्लुकट ग्लास भएको चस्माको प्रयोग गर्नुपर्छ । आखाँमा समस्या भएमा औषधी पसलमा नदेखाई आखाँको विज्ञसंग जाँच गराएर मात्र औषधीको प्रयोग गर्नुपर्छ । आखाँको हेरचाह गरेमा आखाँमा आउने समस्याबाट बच्न सकिन्छ ।
८) किरण आखाँ अस्पतालले दिने सेवा सुविधाहरु विस्तृतमा के–के छन् ?
तीन बर्षदेखि आखाँ अस्पतालमा स्वास्थ्य बमा पनि सुचारु छ । स्वास्थ्य बीमा अन्र्तगत सबै विमाको सुविधाहरु दिइरहेका छौं । मोतियाविन्दु, जलविन्दु, बालरोगको पनि उपचार गरिरहेका छौं । विमित नभएका अस्पतालमा आउने बिरामीहरुलाई ओ पि डीको फिस दुई सय चालिस मात्र लिने गरेका छांै । चस्मा जाँच, प्रेसर जाँच, डाक्टरको फिस, आखाँ सफा गर्नु परे, आखाँमा औषधी हाल्नुपरे पनि ओपिडी फिसबाट नै गर्ने गरिन्छ । अन्य औषधी र चस्मा लिनुपरे एक हजारदेखि एक हजार पाँच सयसम्म लाग्न सक्छ । सामान्य अप्रेशन गर्नुपरे ६ हजार र मेशिनबाट अप्रेशन गर्नुपरे १२ हजारसम्म लाग्छ ।
९) सर्वसाधारणका लागि निःशुल्क आखाँ जाँच गर्ने कार्यक्रम पनि गर्नु हुन्छ कि ?
हामीले बारा, पर्साका विभिन्न स्थानमा गएर आखाँ शिविर संचालान गरी निःशुल्क आखाँ जाँच पनि गर्ने गरेका छांै । शिविरमा निःशुल्क औषधी र चस्मा जाँच पनि गर्ने गरेको छांै । शिविरमा जाँच गर्ने मध्ये मोतिविन्दु भएको बिरामी भेटिएमा २ हजार ५ सय लिएर आखाँ अप्रेशन गरिदिएका छौं । कुनै गरिब मानिस छ भने निःशुल्क पनि मोतिविन्दुको अप्रेशन गरेका छौं ।
१०) आम नागरिकलाई आखाँको स्वस्थ्य सुरक्षाका बारे थप केही सुझाव छन् ?
समय–समयमा आखाँ जाच गर्ने, आखाँमा केही परेमा तुरुन्त अस्पताल गएर डाक्टरलाई देखाउने, सधै संतुलित खाना खाने, नशालु पदार्थको सेवन नगर्ने, कम्प्युटरको काम गर्दा बीच–बीचमा विश्राम लिएर काम गर्ने, सफा पानीले आखाँ सफा गर्ने, आखाँलाई घामबाट बचाउन गर्मीको समयमा छाताको प्रयोग गर्ने, धुवाँधुलोबाट बच्न चस्माको प्रयोग गर्ने, आखाँ हेर्न अप्ठ्यारो भएमा, आखाँमा कुनै समस्या आएमा तुरुन्त आखाँ अस्पतालमा जाँच गराउने गर्नु पर्छ । औषधीको प्रयोग गर्नुपरेमा डाक्टरको सल्लाह अनुसार मात्र प्रयोग गर्ने गर्नु पर्छ ।